सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

भक्तपुरमा यौन पर्वका रुपमा होली, भीमसेनको लिङ्ग दर्शन गर्दै यसरी मनाइयो

दैनिक नेपाल २०७५ चैत ६ गते १८:०१

काठमाडौं, ६ चैत । भक्तपुरको भिमसेन मन्दिरको पाटीमा भीमसेनको लिङ्ग दर्शन गर्नेको भिड लागेको छ । विगत एक हप्तादेखि होली पूर्णिमा अर्थात बुधबारसम्म हरेक दिन बिहान भिमसेन मन्दिरमा भीमसेनको लिङ्ग दर्शन गर्नेहरु पुगेका छन् ।

होली पर्वको अवसरमा भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा बसेर भीमसेन गुठीका गायजुहरुले होलीको दिनसम्म यही गीत गाएर होलीको आगमनसँगै बिदाई गर्दछन् ।सातदिनसम्म भक्तपुरमा चल्ने फागु अर्थात होली पर्व हेर्न र संगीतमा रमाउन स्थानीय सधैँ जम्मा भएर यसरी नै होलीको परम्परालाई धान्दै आएका छन् ।

फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इञ्च मोटो काठबाट बनेको लिङ्गलाई दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा घुमाउने परम्परा छ । यसरी टोलटोलमा ल्याएपछि भिमसेनको लिङ्गका रुपमा दर्शन गर्ने परम्परा छ ।

काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनि आकारको प्वाललाई द्रौपदीको योनिका रुपमा लिने गरिएको छ । भीमसेन र द्रौपदीको यौन सम्बन्धको रुपमा राखिएको लिङ्ग र योनिको प्रतिकलाई स्थानीय बासिन्दाले विकृतिको रुपमा नभई साँस्कृतिक महत्वको रुपमा संरक्षण गर्दै आएका छन् ।

भक्तपुरकै अन्य स्थानहरुमा विभिन्न रंग खेलेर होली मनाइएको भएपनि दत्तात्रय मन्दिर क्षेत्रमा भने भिमसेनको लिङ्ग दर्शन गर्दै होली मनाइएको हो ।

बजार घुमाएपछि भिमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनि आकारको प्वाल भएको रातो कपडासमेत भीमसेन पाटीमा झुण्ड्याउने परम्परा छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनि आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई भीमसेन र द्रौपदीको यौन समागमको रुपमा लिइने संस्कृतिकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित