आइतबार, १ असार २०७६
DainikNepal.com
आइतबार, १ असार २०७६

प्रचण्ड : हिङ न चील

विनोद ढकाल २०७५ चैत ५ गते १२:१७

-विनोद ढकाल
नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विचरण, आचरण मापन गर्दा र परिस्थितिको वैशाखीको सहारामा संश्लेषण गर्दा एउटा निर्णयमा पुगेको छु– प्रचण्ड, न रहे हिङ, न उडे चील ।

यो निर्णयको आन्तरबस्तु र तथ्य आलेखमा पुष्टि हुने गरी आउने नै छ । त्यसअघि मैले देखेको प्रचण्ड, उनीमाथि गरेको विश्लेषण र सतहमा देखिन थालेका प्रचण्डमाथि बहस गरौं ।

०६३ को ५ मंसिर अघि सार्वजनिक भएका प्रचण्डको अनुहार, उनको राजनीतिक ताकतको बिम्ब अनुहारमा कतै देखिएला कि भन्ने कौतुहलता कसलाई थिएन होला र ? त्यसबेला प्रचण्डको परिभाषा कहिलेकाहीँ स्वस्थानी ब्रतकथामा हुने महादेवको भन्दा चर्को थियो, आमसाधारणमा ।

पहिलो घेरा जनमुक्ति सेनाको, दोस्रो नेपाली सेनाको । यस्तो अभूतपूर्व ताकतवर नेता नेपालको इतिहासमा को थियो र ? परिवर्तन अनिवार्य होला भन्ने स्वभाविक चिन्तन सबैमा थियो, मभित्र पनि त्यसको मन्थन भइ नै रहन्थ्यो

पत्रकारिताका अनेक साल वितिसकेका थिएनन्, लगभग ५ बर्ष भएको थियो होला । तर, राजनीतिक रिपोर्टिङमा अलौकिक रहर थियो ।यसकारण प्रचण्डको शान्तिपूर्ण राजनीतिक अवतरणमा छचल्किएका छालले कहाँ कसरी हान्ने हो भन्ने अड्कल काट्न मुस्किल थियो ।

उनको पहिलो आम सभाको भाषणको महत्वपूर्ण हेडलाईन अहिले पनि स्मरण छ । खुलामञ्चमा ०६४ को पहिलो संविधानसभाको चुनावअघि उनले भनेका थिए– यो देशमा कि बुद्धको खाँचो छ कि जंगबहादुरको । अर्थात्, कि शान्तिको आवश्यक छ कि शासकको । उनको यो भनाईमा दुईवटा झझल्को थियो– संसदीय व्यवस्थाबाट शान्तिपूर्ण राजनीति वा संसदीय व्यवस्थाविरुद्ध कम्युनिस्ट एकात्मक शासन ।

उनको अर्को भाषणले पनि मेरो ध्यान आकृष्ट गरेको थियो । उनले सुनसरीको इटहरी सभामा भनिदिए– एमाले भनेको कम्युनिस्टका नाममा हिङ बाँधेको टालो थियो, अब पुरै हिङ नै आएपछि टालो किन चाहियो ? फ्याँकिदिनुहोस् । प्रचण्डका एकपछि अर्को अभिव्यक्ति निकै आक्रामक र संश्लेषणयुक्त हुन्थे । एकातिर सेना राखेको छ, अर्कातिर शान्तिपूर्ण राजनीति पनि गरिरहेको छ । पहिलो घेरा जनमुक्ति सेनाको, दोस्रो नेपाली सेनाको । यस्तो अभूतपूर्व ताकतवर नेता नेपालको इतिहासमा को थियो र ? परिवर्तन अनिवार्य होला भन्ने स्वभाविक चिन्तन सबैमा थियो, मभित्र पनि त्यसको मन्थन भइ नै रहन्थ्यो ।

त्यसपछिका चुनाव, राजनीतिक उतारचढाव, संविधान र अहिलेको सरकारसम्मका राजनीतिक यात्रामा प्रचण्ड कुन–कुन समीकरणमा जोडिए, कस–कसमा हावी भए, कस–कसले टुटफुटको खेला गरे भन्ने छर्लङ्ग छ । यहाँसम्मकी यीनै प्रचण्डको अभिमानी र अहंकारी राजनीतिलाई परास्त गर्न तत्कालिन महासचिव रामबहादुर थापादेखि तीन उपाध्यक्षहरू मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको धोवीघाट गठजोड नभएको होइन ।

यी राजनीतिक लयले केही बुझ्ने अवसर पक्कै दिएको थियो । सतहमा प्रष्ट भएको पनि थियो । अहिलेसम्मको राजनीतिक अवस्थामा प्रचण्डका अनेक प्रपञ्च र विवेकका प्रयोग सबैले जानकारीमा राखेकै छन् । उनका व्यक्तिगत जीवनमा केही कठिनाई आइपरेका छन्, केही बाँकी होलान् । ति राजनीति भन्दा अलिक भिन्न छन् ।

आजको चर्चा गरौं
पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका छन्, प्रचण्ड । यो उनको नितान्त निजी काम हो । उनले पत्रकारसँग विमानस्थलमा पनि भनेका थिए,‘अमेरिका गए उपचार हुन्छ की भन्ने पत्नी सीताको इच्छा पुरा गर्नका लागि हिँडेको हुँ । नितान्त व्यक्तिगत भ्रमण हो ।’ उनको यो नितान्त व्यक्तिगत भ्रमणको शीलशीलालाई अधिक महत्व दिएर उनका कार्यकर्ताले विमानस्थल नै जाम हुनेगरी लाम लगाए । यो उनको राजनीतिक जीवनको दर्शनको प्रतिबिम्ब थिएन, राजनीतिक जीवनमा कमाएको हनुमानवादको चित्र थियो ।

नेपाली पश्चगामी चिन्तन उनमा हावी भयो र राजनीतिका उत्तराधिकारी खोज्न थाले । अथवा भनौं, आफूले कमाएको विरासतमा आफ्ना निजी स्वार्थमा सन्तानको भविष्य देख्न थाले । मुलुकको भविष्यभन्दा उनलाई विग्रहमा रहेका सन्तान र आफन्तको चिन्ताले ग्रसित बनायो

एकाध पूर्वएमालेका अवसरवादी नेतालाई साथमा लिएर उनी हिँडे पनि व्यवाहारिक र हृदयदेखिको समिकरण र एकीकरण भइसकेको छैन । त्यसका दृष्टान्त जनयुद्ध भनिएको दिवसका फगत कार्यक्रमहरूमा देखिएकै थिए । र, उनका पनि राजनीतिक चरित्रको अवसान हुँदै गैरराजनीतिक र अहंकारवाद, कृपावादले साम्राज्य गर्दै विचारमा पनि विस्तारित प्रारूप दिन थाल्यो । नेपाली पश्चगामी चिन्तन उनमा हावी भयो र राजनीतिका उत्तराधिकारी खोज्न थाले । अथवा भनौं, आफूले कमाएको विरासतमा आफ्ना निजी स्वार्थमा सन्तानको भविष्य देख्न थाले । मुलुकको भविष्यभन्दा उनलाई विग्रहमा रहेका सन्तान र आफन्तको चिन्ताले ग्रसित बनायो । परिवारवादी चिन्तन, परम्पारावादी व्यवाहार र आधुनिक सुखको मातले प्रचण्डभित्रको क्रान्तिकारीता, परिवर्तनको लक्ष्य र राजनीतिक धर्मलाई यसरी निल्यो कि उनले वरपर छोरी, बुहारी, ज्वाँई, चेला, नजिकका आफन्त, काला धनका व्यापारी, प्रहरी अधिकारी, ब्रिफकेश र लम्पसारवादी भन्दा कोही देखेनन् । उनले बारम्बार भन्ने गर्छन् प्रतिगामी पुराना शक्ति प्रतिक्रान्तिको खतरा बनिरहेका छन् । तर त्यस्तो घेरामा प्रचण्ड आफैं छन् । खुमलटार दरबारको परिक्रमा गर्नेभन्दा बाहिरको संसार उनले बिर्सिसकेका छन् ।

भनिन्छ, समयअनुसार राजनीतिको चक्रमा नेता पनि घुम्नुपर्छ । हो, सामाजिक आकार, मुलुकको राजनीतिक परिघटनाले त्यसो पनि गर्नुपर्ला । तर नेता यतिसम्म घुम्न हुँदैन की जहाँ विचारको हत्या भई, व्यक्तिवादी चरित्र उदाङ्गो होस् । अनि डमरु बजाउने, त्रिशुल बोक्ने, फुस्रा व्याख्या गर्ने, नचाहिँदो र नभएका विषयलाई ठूला उपलव्धी ठानेर सुनाउने घेराभित्र आत्मरतीमा रमाउन विचार र लक्ष्यकै हत्या गर्न परोस् ।

कुनै बेला उनको ठेट्ना संगठनले तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई कालो झन्डा देखाउँदा प्रहरीले पक्राउ गर्दथ्यो । कोइराला भन्थे,‘लोकतन्त्रका लागि मैले जुत्ता पनि खाएको छु । कालो झन्डा देखाउन देऊ, पक्राउ नगर ।’ प्रचण्डमा त्यो शैली र विवेकको विकास भएको रहेनछ । जसरी उनले त्रसित मानसिकतामा एकाएक कसैको राजनीतिक जीवनलाई नै प्रतिबन्ध गरे । अर्थात्, शासकविरुद्धको युद्धको जेहाद् छेडेर हजारौंको घरबार विगार्दैगर्दा आफू शासक बनेर मुलुकलाई उही विन्दुमा उभ्याउने निर्णयमा ल्याप्चे हानिदिए ।

‘प्रचण्ड’ रछ्यानमा पुग्दा
साइकल चढेर १५/२० किलोमिटर दूरीमा ग्रामिण बस्तीको समाचार संकलनका लागि जाँदा प्रचण्डपथ लेखिएका तुल र तिनका स–साना समूहमा रहेका नेता देखिन्थे । प्रचण्डपथ एउटा विचार बनिसकेको थियो । लेखिन्थ्यो– माक्र्सवाद, लेलिनवाद, माओवाद र प्रचण्डपथ ।

आजका दिनमा यो विचारको स्खलन यतिविध्न भयो कि प्रचण्डपथ भनेको अवसरवाद मात्रै हो भन्ने संचार उनकै सहकर्मीले चलाउन थालेका छन् । विप्लवहरूको भनाईलाई मान्ने हो भने यतिबेला प्रचण्डपथ भनेको ‘सामाजिक फाँसीवाद’ हो ।

प्रचण्ड, राजमार्गमा भ्रामक बनेर देखिने गरेको छालजस्तो बनिसकेका छन् । पानी जस्तो देखिन्छ असलमा त्यहाँ पुग्दा केही हुन्न । निठ्ठा, महत्वहिन । एउटा भ्रममात्र हुन्छ । असलमा उनका पछि लागेर अब मुलुक बनाउन सकिन्छ भन्नु सर्वथा गलत हुनसक्छ । तर, त्यो भ्रममा बाँच्नेहरूका लागिचाहिँ कसैले रोक्नेवाला छैन ।

उनी उदाउँदा ताका भन्ने गर्थे, कम्युनिस्टको पुरै हिङ हामी हो, टालोको काम छैन । आफू चील र अरु चल्ला भन्थे । परिस्थिति यस्तो बनिदियो त्यहि टालोमा लुटुपुटु गर्नुपर्ने र पँखेटा काटिएको चील जस्तो बन्न परेको छ

प्रचण्डको राजनीति खरानी बनी उड्ने भएपछि, शक्ति केन्द्रमा उदाउनका लागि उनले एमालेमा विलय गराए । उनी उदाउँदा ताका भन्ने गर्थे, कम्युनिस्टको पुरै हिङ हामी हो, टालोको काम छैन । आफू चील र अरु चल्ला भन्थे । परिस्थिति यस्तो बनिदियो त्यहि टालोमा लुटुपुटु गर्नुपर्ने र पँखेटा काटिएको चील जस्तो बन्न परेको छ । ओलीवादले उनको हेउ पनि छाम्यो, पँखेटाको गति पनि मापन गरेरै अहिले कँज्याएर राखेको छ । उनीहरूका आँखा प्रचण्डको राजनीतिक सन्यास घोषणा हुनासाथ  अवश्य खुल्नेछ ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधि र प्रदेश सभा चुनावताका भनेका थिए,‘प्रचण्ड हराउनुपर्छ र पुष्पकमल दाहाल बाँच्नुपर्छ ।’ कुनै आमुख दर्शनका आधारमा थापाले भनेको नियत र गतिमा प्रचण्डको राजनीतिक कोण बनेको भए मान्न सकिन्थ्यो होला । तर, विचार बनिसकेको प्रचण्ड राजनीतिको रछ्यानमा हराउँदा पुष्पकमल दाहाललाई कति हानि गरिरहेको होला ? त्यसको परिणाम आजका अन्य माओवादी वा त्यसका अवशेषको राजनीतिक कर्मले पुष्टि गर्दैन र ?

एकातिर पारिवारिक पीडा कम गर्न पूर्वाद्धमा विरोध गरेको मुलुक छिर्नु छ, त्यसैले पक्रेला कि भन्ने भय पनि होला, अर्कातिर आफैंले १० बर्षसम्म बङ्कर खन्न र टाउको काट्न सिकाएको ताकत बैरी बनेर लागेको छ । सुरक्षा थप्न परेको छ । यो परिस्थितिमा प्रचण्डले केही थान ‘गुलाम’हरू त पाए होला तर मुटुमाथि ढुंगा राखी हाँस्न परेको कसैबाट लुकेको छैन । यो परिस्थितिको समाधान उनले गर्न सक्लान् ? उनले यसलाई फेस गरी अवतरणको नयाँ शैली अपनाउन सक्लान् ? या के गर्लान् ? योचाहिँ हेर्न बाँकी छ ।

‘प्रचण्ड’ उदयको सम्भावना
एउटा अन्तरवार्तामा प्रचण्डले भनेका थिए– कुनै कुनै बेला प्रचण्ड र कुनै कुनै बखत पुष्पकमल दाहाल दुवैको भुमिका अनुपातका आधारमा हुने गर्दछ । त्यो उनको राजनीतिक उचाईका बेला बिजयकुमार पाण्डेसँगको अन्तरवार्ताका क्रममा बोलेका थिए ।

पक्कै पनि शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण सैद्धान्तिक पक्ष भएकाले प्रचण्डको यो १० बर्षमा उदय हुन सक्छ । त्यो विचारको विजारोपण हुन सक्छ । त्यसका लागि उनले लोभीपापी, परिवारवाद, नातावाद, कृपावाद र लम्पसारवादबाट मुक्त हुनपर्छ

कुनै बेला चीलजस्तो भनी व्याख्या गरिएको पार्टी जब दोस्रो संविधानसभाको समयमा खुम्चियो, त्यसपछि उनको विचारको दायरा पनि भत्कियो । मोहन वैद्यहरूले छाडिसकेका बेला त्यसको केही समयपछि डा. बाबुराम भट्टराईले पनि उनको विचारले आगामी विश्वमा परिवर्तन आउन नसक्ने भनी नयाँ शक्ति नेपालको स्थापना गरे ।

प्रचण्डले भन्ने गरेका छन्– अबको १० बर्षसम्म सक्रिय राजनीति गर्ने रहर छ । त्यो जिम्मा छ । पक्कै पनि शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण सैद्धान्तिक पक्ष भएकाले प्रचण्डको यो १० बर्षमा उदय हुन सक्छ । त्यो विचारको विजारोपण हुन सक्छ । त्यसका लागि उनले लोभीपापी, परिवारवाद, नातावाद, कृपावाद र लम्पसारवादबाट मुक्त हुनपर्छ ।

उनका नाम जोडेर राज्य लुट्ने कर छली गर्ने कथित व्यापारीहरूको घेराबन्दीभन्दा माथि, भ्रष्टाचारमुक्त राजनीतिक अभियानमा उनको सक्रियता हुनुपर्छ । यो, उनीबाट मात्रै सम्भव जस्तो पनि देखिन्छ । यसर्थ, सत्ता मात्र होइन सतकर्मको खाँचो अनिवार्य भयो भने प्रचण्ड विचारका आधारमा १० बर्षमा उदाउने सम्भावना पनि छ ।

प्रतिक्रिया
सम्बन्धित