१ कार्तिक २०८३, शनिबार

धुर्मुस-सुन्तलीलाई मलेसियाबाट २ लाख ३३ हजार सहयोग

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसिया, ३ चैत । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को लागि मलेसियाको जेसिवाइ कम्पनिमा कार्यरत श्रमिकहरुले आर्थिक सहयोग गरेका छन् ।

जेसिवाइ कम्पनिमा कार्यरत ६ सय २१ जना श्रमिकहरुले आइतवार धुर्मुस सुन्तली फाउण्डेशनलाई ८ हजार ७ सय ४७ मलेसियन रिंगेट अर्थात २ लाख ३३ हजार ९ सय ८२ रुपैँया नेपाली सहयोग पठाएका हुन् ।

सहयोग रकम पठाउँदै उनीहरुले सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुने विश्वास व्यक्त गरे । प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभूत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै जेसिवाइ कम्पनिमा कार्यरत श्रमिकहरुले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आह्वानसमेत गरेका छन् ।

यो कम्पनीमा कार्यरत श्रमिकहरुले यसअघि पनि थुप्रैपटक सामाजिक कार्यका लागि सहयोग संकलन गरेर पठाएका थिए । धुर्मुस सुन्तलीले मलेसियाको कम्पनीमा रहेर काम गर्दा पनि देशका विकास चाहने सबै नेपालीहरुलाई धन्यवाद दिए ।

‘उहाँहरुले जस्तै सबैले आफ्नो देशको विकासका लागि थोरै थोरै सहयोग गरे पक्कै देश बिकास हुन धेरै समय लाग्दैन’ धुर्मुसले भने ‘सहयोग आर्थिक मात्र होइन हरेक किसिमको हुन सक्छ ।’

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि देशविदेशबाट सहयोग उठ्ने क्रम जारी छ । अहिले धुर्मुस सुन्तलीसँगै अभियानमा थुप्रै कलाकारहरु समेत जोडिएका छन् ।