बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

ओलीलाई कमल थापाको सुझाव : विप्लवलाई होइन, बालुवाटार वरिपरी घुम्नेलाई प्रतिबन्ध गर्नुस्

‘भोट हालेर देशको सिमाना घटाउन सकिदैन’

रामकुमार शाही २०७५ चैत १ गते १७:१८

-रामकुमार शाही/दैनिक नेपाल

काठमाडौँ, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई सरकारले प्रतिबन्ध लगाएकोबारे मुख खोलेका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित मेचीमहालकाली स्वाभिमान यात्राको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विप्लव समूहलाई प्रतिबन्ध लगाउनुको साटो बालुवाटार र सिंहदरबार वरिपरी घुम्नेहरुलाई प्रतिबन्ध लाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाएका छन् ।

एनसेलको कर छल्नेहरु, वाइडवडीमा भ्रष्टाचार गर्नेहरु र ३८ क्वीन्टल सुन तस्करीमा संलग्नहरु बालुवाटर र सिंहदरबारको वरिपरी नै घुमिरहेको भन्दै उनीहरुलाई समाएर कारवाही गर्नुपर्ने, प्रतिबन्ध लगाउनुपर्ने थापाले बताए ।

केहीदिन अघि प्रधानमन्त्री ओलीले विप्लव समूहलाई लुटेरा समूह भनेको तथा सरकारले हालै उसलाई प्रतिबन्ध लगाएको प्रसंग कोट्याउँदै थापाले भने, ‘विप्लव लुटेरा हुन् होइनन् तपाई सरकारमा हुनुहुन्छ, सूचना तपाईँलाई होला यसमा म टिकाटिप्पणी गर्न चाहान्न तर, वास्तविक लुटेरा बालुवाटार र सिंहदरबार वरिपरी घुमिरहेका छन् सक्नुहुन्छ भने यिनिहरुलाई प्रतबिन्ध लगाउनुहोस् ।’

एनसेलको ४० अर्ब कर छली प्रकरण, नेपाल वायु सेवा निगमको वाइडवडी जहाज खरिद काण्ड र ३८ क्वीन्टल सुन तस्करी काण्ड ठूला पार्टीका ठूला नेताहरुको संरक्षणमा भएकैले अपराधी पत्ता लाग्न नसकेको थापाको टिप्पणी छ । उनले लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र चलिरहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले आफू भ्रष्टार गर्दिनँ, भ्रष्टार गर्न पनि दिन्नँ भन्ने गरेको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले यसमा ओली इमान्दार देखिनुपर्ने बताए । ‘यहाँ उपस्थित हजारौँ जनतालाई साक्षी राखेर प्रधानमन्त्री ज्यूलाई भन्न चाहान्छु यदि, तपाई भ्रष्टार गर्दिनँ, भ्रष्टार गर्न पनि दिन्नँ भनेर इमान्दितापूर्वक भन्नुहुन्छ भने एनसेल काण्ड, वाइडवडी काण्ड र सुन काण्डका अपराधीलाई पक्राएर सजायँ दिनुहोस्’, थापाले भने, ‘त्यसो गर्नुभयो भने सारा नेपाली जनताले तपाईँको जयजयकार गर्नेछन् ।’

थापाले स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतसँग सरकारले गरेको सम्झौता धोकाको पुलिन्दा भएको समेत टिप्पणी गरे । २५० वर्षको इतिहासमा पहिलोपटक देश टुक्राउने शक्ति सतहमा देखिएको थापाको भनाई छ ।

‘जनताले अधिकारको लडाइँ लडे, प्रजातन्त्रको लागि संघर्ष गरे’ थापाले भने, ‘तर, २५० वर्षको इतिहासमा देश टुक्राउने आवाज उठेको थिएन ।’ पछिल्लो १२ वर्षको गलत राजनीतिक व्यवस्थाले नेपालमा विखण्डनकारीको जन्म भएको उनले बताए ।

राउतसँग गरेको सम्झौताको विषयमा आफूले सुरुमा सरकारलाई बधाई दिएको स्मरण गर्दै थापाले सम्झौता हेरेपछि राष्ट्रहित विरुद्धको विवादास्पद र रहस्यम सम्झौताको पुलिन्दा रहेछ भन्ने आफूलाई महसुस भएको बताए । सम्झौतामा सीकेले कतैपनि विखण्डनको मुद्धा छोडेको उल्लेख नगरेको भन्दै उनले सम्झौता धोकाको पुलिन्दा रहेको टिप्पणी गरेका हुन् ।

‘भोट हालेर सरकार फेरबदल गर्न सकिन्छ तर, भोट हालेर देशको सीमा घटाउन सकिदैन’, थापाले भने ।

हिन्दुराष्ट्र र राजसंस्थाको नारा छोड्ने छैनाैँ

थापाले आफूहरुले हिन्दुराष्ट्र र राजसंस्थाको नारा नछोड्ने बताएका छन् । हिजो बाटो बिराएर राजसंस्थाको नारा छोडेको भन्दै थापाले क्षमायाचना गरे ।

उनले थापाले आउँदा दिनमा जनतालाई कहिल्यै धोका नदिने प्रतिवद्धता व्यक्त गरे । ‘राप्रपा अब कहिल्यै सत्ता राजनीति गर्ने छैन, हिन्दुराष्ट्र र राजसंस्थाको नारा छोड्ने छैन’, थापाले भने, ‘विगतमा हामीबाट भएका गल्तीबाट दुःख व्यक्त गर्दै क्षमा माग्न चाहान्छौँ ।’

थापाले मेचीमहाकाली यात्रा रमाईलोका लागि, घुमफिरका लागि नगरेको दाबी गरे । उनले देशमा परेको संकटका विषयमा हरेक स्वाभिमानी नेपालीको मन, मष्तिष्कमा सन्देश पुर्याउन यात्रा गरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित