बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

नेशनल ल कलेजमा नियम मिचेर विद्यार्थी भर्ना, आर्थिक चलखेल

दैनिक नेपाल २०७५ चैत १ गते १४:५६

काठमाडौं, १ चैत । सानेपास्थित नेशनल ल कलेजले नियम मिचेर विद्यार्थी भर्ना गरेको छ ।

कानुन संकायमा बीए एलएलबीको प्रवेश परिक्षामा उत्तिर्ण भएका एक सय ५ जना नेपाल ल क्याम्पसमा भर्ना हुन्छन् । त्यसबाहेक कोटामा रहेका एक सय ५ जनालाई मेरिटका आधारमा भर्ना लिनुपर्ने भए पनि नेशनल ल कलेजले योग्यता र क्षमताका आधारमा अगाडी नाम निस्किएकालाई थाहै नदिई भनसुनका आधारमा मेरिटको पुछारमा रहेकालाई भर्ना गरेको हो ।

स्रोतका अनुसार हालै त्रिभुवन विश्वविद्यालयले लिएको ५ बर्षे बीए एलएलबी प्रवेश परिक्षामा पास भएकाले उपत्यकामा एक सय ५ जनालाई नेपाल ल क्याम्पस र त्यसबाहेकका उत्तिर्णको भर्ना निजी क्षेत्रमा नेशनल ल क्याम्पसले लिँदै आएको छ ।

मेरिटका आधारमा प्रवेश परिक्षामा उत्तिर्ण भएका र नेपाल ल क्याम्पसले भर्ना लिइसकेपछि २४८ नम्बरसम्मका विद्यार्थीका लागि नेशनल ल कलेजले भर्ना गर्ने सूचना जारी गरेको थियो ।

त्यसपछिका उत्तिर्ण विद्यार्थीलाई भने कोटा नभएका कारण भर्ना लिन नसक्ने सूचना जारी गरेको केही दिन पनि नबिती गुपचुप ढंगले ३१५ नम्बरमा उत्तिर्ण भएकी एक विद्यार्थीलाई प्रभावका आधारमा भर्ना लिइएको हो ।

प्रवेश परिक्षामा पास हुने विद्यार्थीको रोलक्रम उसले ल्याएको अंकका आधारमा राखिएको हुन्छ । कुनै विद्यार्थीले भर्ना हुँदा निजी कलेजलाई एकमुष्ट रकम तिरेको हुन्छ । खाली भएकै खण्डमा पनि अर्कालाई ल्याएर रकम असुल गर्न पाइँदैन ।

नेशनल ल कलेजले उक्त विषय पढाउनका लागि एक विद्यार्थीबाट ६ लाख त शिक्षा शुल्क मात्रै लिँदै आएको छ । ‘मेरिटका आधारमा नै भर्ना लिने प्रक्रिया हुनुपर्छ । त्यसलाई मिच्न पाइँदैन । र, भनसुनका आधारमा पनि भर्ना गर्न हुँदैन’, त्रिवि कानुन संकायमा कार्यरत एक अधिकारी भन्छन्,‘त्यसो भएको खण्डमा सम्बन्धित कलेजसँग स्पष्टीकरण सोध्न सकिन्छ ।’

नेशनल कलेजमा यसअघिका बर्षमा पनि यसरी नियम मिचेर भर्ना लिने काम भएको स्रोतको दाबी छ । यसरी नियमविपरित प्रभावमा राखी भर्ना गरिएका विद्यार्थीको विवरण पनि दैनिक नेपालसँग उपलव्ध छ ।

यता, नेशनल ल कलेजका प्रमूख रामकृष्ण तिमल्सिनाले भने नियम मिचेर काम नभएको दाबी गरे । मेरिट मिचेर एक जना विद्यार्थी भर्ना भएको स्वीकारेका उनले दैनिक नेपालसँग भने,‘भर्ना भइसकेपछि हामीकहाँ छाडेका विद्यार्थीको ठाउँमा नाम निस्किएका मध्येबाट हामीले भर्ना लिन पाउँछौं । त्यसका लागि सूचना जारी गर्नु पर्दैन ।’ उनले हालै भर्ना भएका डोटीका एक जना विद्यार्थीले छाडेपछि अर्कालाई लिइएको बताए ।

यसअघिका भर्नामा पनि उक्त कलेजमा विवाद नभएका होइनन् । विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले विवाद निकालेर कलेज प्रशासनविरुद्ध बोल्दा तिनका नेतालाई बोलाएर आर्थिक सहयोग गरिँदै आएको छ ।

जसका कारण कलेजले नियमविपरितका काम गरे पनि विद्यार्थी संगठनहरूले आवाज उठाउने गरेका छैनन् । नेपालमा बर्षमा ६ सय भन्दा बढी विद्यार्थी कानुन अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयको मुख ताक्छन् । तर, त्यहाँबाट सम्बन्धन लिएका निजीले भने शिक्षालाई व्यापारीकरण गर्दै विद्यार्थीलाई बार्गेनिङसमेत गर्दै आएका छन् ।

(मेरिट मिचेर भर्ना लिइएका विद्यार्थीको शैक्षिक भविष्यलाई ख्याल गर्दै नाम गोप्य राखिएको– सम्पादक)

प्रतिक्रिया
सम्बन्धित