शनिबार, ९ चैत २०७५
DainikNepal.com
शनिबार, ९ चैत २०७५

४४ दिनदेखि ग्राउन्डेड वाई–१२ जहाजको उडान सुरु

दैनिक नेपाल २०७५ चैत १ गते १३:३४

काठमाडौँ, १ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको चिनियाँ वाई–१२ विमानले ४४ दिनपछि उडान सुरु गरेको छ।

निगमसँग रहेको ४ वटा वाई–१२ जहाज ३१ जनवरीबाट ग्राउन्डेड भएको थियो। पाइलट अभावका कारण ग्राउन्डेड भएको उक्त विमानले शुक्रबार बिहान काठमाडौं–दाङ र दाङ–काठमाडौं उडान भरेको निगम स्रोतले जनाएको छ।

लामो समय बिरामी बिदामा बसेका पाइलट निपेन्द्र भट्टराई पुनः काममा फर्किएपछि  विमानले उडान भर्न सुरु गरेको हो। ४ वटा वाई–१२ जहाज मध्ये तीनवटा जहाज उडान योग्य भए पनि उडानका लागि पाइलट भने एक जना मात्रै रहेका छन्।

वाई–१२ जहाज उडानमा ४ जना पाइलट भए पनि सिनियर पाइलट सन्जय बादे विरामी बीदामा छन भने आङनुरी शेर्पाको पिपिसी नवीकरण हुन सकेको छैन। एकएक पाइलट उद्धव घिमिरे भने केही समय अगाडी मात्रै ए ३२०को को–पाइलटमा बढुवा भइसकेका छन्।

निगमको आन्तरिक विवादका कारण लामो समयदेखि बिरामी बिदामा बसेका दुई पाइलट निपेन्द्र भट्टराई र सञ्जय बादे फागुन १३ र १६ गते नै काममा फर्किएका थिए।

उनीहरु २० दिनभन्दा बढी बिदामा बसेकाले विमान उडाउनुभन्दा पहिलो पुनः मेडिकल जाँच गर्नुपर्ने भएकाले उडान भर्न पाएका थिएनन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग समन्वय गरी पाइलट भटट्राई मेडिकल जाँच गरी पुनः काममा फर्किएका हुन।

अर्का पाइलट सञ्जय बादेकोे सीप परीक्षण प्रमाणपत्र (पीपीसी) को म्याद सकिँदा उडान भर्न पाएनन् ।

यसअघि नै पीपीसीको म्याद सकिएका वाई–१२ का पाइलट आङनुरी शेर्पाको पीपीसी नवीकरण भएको छैन। शेर्पाको नवीकरण भएपछि मात्र बादे पीपीसी नवीकरणका लागि चीन जानुपर्छ। दुबैको पीपीसी नवीकरणका लागि केही समय लाग्ने निगम स्रोतले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित