काठमाडौं, १ चैत । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक यातना तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा लागेका पूर्वडिएसपी ज्ञानबहादुर सेठीसहित ६ प्रहरी धरौटीमा रिहा भएका छन् ।
डिएसपी सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सइद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउद रिहा भएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
बिहीबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले धरौटीमा छाड्न आदेश दिएको डेढ घन्टामै उनीहरूले तोकेको रकम बुझाएका हुन् । सबैको थुनछेक बहस बुधबार नै सकिएको थियो । ‘सबै प्रहरीले धरौटी जम्मा गरेर आजै रिहा भए,’ स्रेस्तेदार हरिकृष्ण अवस्थीले भने ।
अदालतले डिएसपी सेठी र इन्स्पेक्टर एकेन्द्र खड्कालाई सार्वजनिक यातनाविरुद्धको कसुरमा पाँच–पाँच लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा चार–चार लाख गरी जनही नौ लाख धरौटी असुल्न आदेश दिएको थियो ।
यस्तै, सार्वजनिक न्यायविरुद्धको कसुरमा इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई चार लाख, सइ हरिसिंह धामीलाई तीन लाख ५० हजार, सइ रामसिंह धामीलाई तीन लाख र जवान चाँदनी साउदलाई दुई लाख ५० हजार धरौटी तोकेको थियो ।
सार्वजनिक यातनाविरुद्धको कसुरमा मुद्दा लागेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र अनुसन्धानका डिएसपी अंगुर जिसी भने फरार छन् । उनीहरूलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन अदालतले केही दिनअघि पत्र काटिसकेको छ ।
निर्मलाकी आमा दुर्गादेवीले छोरीको हत्यापछि प्रमाण नष्ट गरेको भन्दै ३ पुसमा एसपी विष्टसहित आठैजनाविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा दायर गरेकी थिइन् ।
यस्तै, सो घटनामा अभियुक्त भन्दै प्रहरीले ४ भदौमा सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाइ खडक विष्टले एसपी विष्ट, डिएसपीद्वय सेटी र जिसी तथा इन्स्पेक्टर खड्काविरुद्ध सार्वजनिक यातनाविरुद्धको कसुरमा मुद्दा दायर गरेका थिए ।
जिल्ला अदालतले आदेश दिएको डेढ घन्टामै बुझाए ३१ लाख धरौटी
कसलाई कति धरौटी ?
-डिएसपी ज्ञानबहादुर सेठी– नौ लाख
-इन्स्पेक्टर एकेन्द्र खड्का– नौ लाख
-इन्स्पेक्टर जगदीशप्रसाद भट्ट– चार लाख
-सइ हरिसिंह धामी– तीन लाख ५० हजार
-सइ रामसिंह धामी– तीन लाख
-जवान चाँदनी साउद– दुई लाख ५० हजार















प्रतिक्रिया