
काठमाडौँ, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले आह्वान गरेको बन्दको प्रभाव देशका विभिन्न क्षेत्रमा परिरहेको छ । केन्द्रीय राजधानी काठमाडौँमा बन्दको प्रभाव नपरेपनि देशका अन्य भागमा भने केही मात्रामा बन्दको प्रभाव परेको छ ।
बन्दकर्ताहरुले बम राख्ने, सवारी साधनमा आगजनी तथा तोडफोड गर्ने हर्कत गरिरहेका छन् । अवज्ञा गरेको भन्दै कैलालीमा एउटा भाडाको सवारीसाधनमा आगजनी भएको छ ।
प्रहरीका अनुसार बिहेको जन्ती बसमा आगजनी भएको हो । प्रहरीले आगजनीमा संलग्नताको आंशकामा शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएको छ । आगजनीमा बस पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
यसैबीच, मकवानपुर र नवलपरासीमा दुईवटा मागबाहक ट्रकमा तोडफोड भएको छ । विप्लव समूहका कार्यकर्ताले गुडिरहेको ट्रकमा ढुंगा प्रहार गरेका हुन् ।
यस्तै, मकवानपुरकै थाहा नगरपालिकास्थित शिखरकोट बजारदेखि ४ किलोमिटर उत्तरतर्फ त्रिभुवन राजपथमा बुधबार राति ट्रकमा आगजनी भएको छ ।
खुकुरी र बञ्चरोसहित कम्ब्याट पोशाकमा आएका ४–५ जनाले ना ५ ख ७४११ नम्बर ट्रकमा आगजनी गरेको ट्रकका चालकले बताएका छन् । मध्यरातीतिर हेटौंडातर्फ जाँदै गर्दा ४–५ जनाले गाडी रोकेर पेट्रोल छर्केर आगो लगाएका चाललको बताएका छन् । अगजनीबाट ट्रकको इन्जिन र अगाडिको भागमा क्षति पुगेको छ ।
बन्दकैक्रममा विप्लव समूहले सर्वसाधारण आवतजावत गर्ने मूल बाटोमा बम राखेका छन् । पोखरा, रुपन्देही, रौतहट, दाङ, गोरखा र नवलपरासी लगायतका स्थानमा बम फेला परेको प्रहरीले जनाएको छ ।
शंकास्पद वस्तु फेला पर्नासाथै प्रहरीले घटनास्थलको घेराबन्दी गर्दै सेनाको बम डिस्पोजल टोली खटिएको छ । पोखरा र गोरखामा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरिसकेको छ । सरकारले प्रतिबन्ध गरेपछि विप्लव समूहले आज नेपाल बन्दको आह्वान गरेको छ ।












प्रतिक्रिया