मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

विप्लवले भने– चन्दा उठाउनु अधिकार, सरकारको निर्देशन–गोली ठोक्नू

दैनिक नेपाल २०७५ फागुन ३० गते १०:०१

काठमाडौं, ३० फागुन । सरकारले प्रतिबन्ध लगाएको नेकपा नेत्रविक्रम चन्द विप्लव समूहले पार्टीको गतिविधि र क्रान्तिका लागि चन्दा उठाउनु पार्टीको अधिकार भएको दाबी गरेको छ ।

पार्टीका महासचिव विप्लवले २८ फागुनमा जारी गरेको विज्ञप्तिमा सरकारले प्रतिबन्ध लगाउनु हास्यास्पद भएको भन्दै ‘ओली–बादल’ सत्तासँग नझुक्ने जनाएका छन् ।

उनको विज्ञप्तिमा भनिएको छ,‘हामीमाथिको कारबाहीको कारण प्रधानमन्त्री केपी ओलीले चन्दामा जोड्नु भनेको भ्रष्ट अनुहारलाई चोप्ने तुच्छ र उदाङ्गो खेल हो । हामी कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं ।’

सरकारसँग एकरती पनि नझुक्ने उल्लेख गरिएको विज्ञप्तिमा भनिएको छ,‘केपी ओली प्रचण्डलगायतको गद्दारीले क्रान्तिमा लाग्नैपर्ने बाध्यता आइलाग्यो । दमन भए त्यसको कडा प्रतिवाद गरिन्छ ।’

यता, गृह मन्त्रालयले भने सो समूहका नेता कार्यकर्तासँग हतियार भेटिए या आतंक मच्चाएको जानकारीमा आए सिधै गोली ठोक्न निर्देशन दिएको छ ।

सामान्य कार्यकर्ता समेतलाई नछाड्न भन्दै सरकारले हतियार भेटिएको खण्डमा घुँडामुनी गोली हान्ने अधिकारसहितको सर्कुलर सबै जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको बताइएको छ ।

प्रहरीलाई भने एक या दुई जना नहिँडी समूहमा हिँड्नका लागि निर्देशन दिँदै गृहले गोलि चलाउँदा आफू जोगिनका लागि पनि निर्देशन दिइएको विवरणहरूमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित