शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

विप्लवलाई प्रतिबन्ध लगाएपछि प्रचण्डले ओलीलाई भेटे

प्रधानमन्त्रीले असन्तुष्ट नेतालाई बिहीबार भेट्ने

दैनिक नेपाल २०७५ फागुन २९ गते १७:४८

काठमाडौँ, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्टै प्रचण्डले ओलीलाई भेटेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । विप्लव समूहलाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बुझिएको छ । यस विषयमा नेकपाका दोस्रो तहका नेताहरुले समेत असन्तुष्टि जनाइसकेका छन् ।

सरकार विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णयमा किन पुग्यो र यस विषयामा पार्टीभित्र देखिएको असन्तुुष्टि कसरी समाधान गर्ने भन्ने विषयमा प्रचण्डले ओलीको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बिहान मात्रै नेकपाका शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई भेटेर यस विषयमा कुरा राखेका थिए ।

उनीहरुले विप्लव पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयबारे पार्टीमा कुनै छलफल नभएको र पार्टीलाई भद्रगोल अवस्थामा पुर्याएको, सांगठनिक एकीकरणका बाँकी काम अलमलाएको भन्दै नीतिगत निर्णय गर्न तत्काल सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई दबाब दिन प्रचण्डलाई आग्रह गरेका थिए ।

उनीहरुसँगको भेटपछि प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेटन् बालुवाटार पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रचण्डको आग्रह अनुसार प्रधानमन्त्री ओलीले बिहिबार असन्तुष्ट चार शिर्ष नेतालाई भेट्ने कार्यक्रम तय गरेका छन् ।

बिहिबार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डसहित असन्तुष्ट चार नेताहरुको छलफलपछि मात्रै नेकपाले विप्लवमाथि लगाएको प्रतिवन्धबारे आधिकारीक धारणा सार्वजनिक गर्नेछ । साथै, एकीकरणका बाँकी काम छिटो टुंगाउन गृहकार्य पनि सुरु हुने बताइएको छ ।

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएपछि सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिएको छ । शीर्ष नेताहरुले समेत निर्णयको विरुद्ध सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित