बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

क्यालिफोर्नियामा १०९ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

दैनिक नेपाल २०७५ फागुन २८ गते १४:२१


क्यालिफोर्निया, २८ फागुन । अमेरिकाको क्यालिफोर्निया राज्यमा नेपाली महिला विश्व संजाल क्यालिफोर्निया शाखाको आयोजनामा ‘लैंगिक समानताको लागि समान सोच र व्यवहार : सम्वृदिको आधार’ भन्ने नाराको साथ १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।

संस्थाकी अध्यक्ष गीता डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अतिथि डा. शोभा हमाल गुरुङ थिइन् । तारा चालिसेको संयोजकत्वमा भएको नारी दिवसमा बे–एरिका विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि लगायतको सहभागिता थियो ।

कार्यक्रमको शुरुवातमा संस्थाको आगामी नेतृत्वको लागि हौसला र जिम्मेवारी स्वरुप निवर्तमान् अध्यक्ष सुस्मिता सिजापतीले आफ्नो शिरको ताज नव नियुक्त अध्यक्ष गीता डंगोललाई पहिराएकी थिइन् । त्यसपछि, लगत्तै नेपाल र अमेरिका दुवै राष्ट्रको राष्ट्रिय गान साथै, संस्थाको कार्यक्रम उद्घाटन गीत ‘ब्युझौ अब दिदीबैनी हाम्रो इतिहास कोर्न’ लक्ष्मी खरेल र सम्पूर्ण संस्थाको टिमद्वारा स्टेजमा प्रस्तुत गरियो ।

दिवसमा संस्थापक अध्यक्ष बिष्णु गुरुङ ‘एकता’, पूर्वअध्यक्ष गीता श्रेष्ठ एवं सुस्मिता सिजापतीको सन्देश पछि मुख्य अथिति तथा विभिन्न वक्ताहरुले नारीको विकास र अधिकारको बारेमा आ–आफ्नो बिचार व्यक्त गरे । दोस्रोचरणमा साँस्कृतिक कार्यक्रमले दर्शकहरुलाई मनोरञ्जन दिने क्रममा चर्चित गायिका नलिना चित्रकारको प्रस्तुतिले कार्यक्रमलाई अझ रोचक बनायो ।

अन्तिममा संस्थाकी अध्यक्षबाट कार्यक्रम सफल पार्ने सम्पूर्ण महानुभावहरुप्रति धन्यवाद ज्ञापन गर्दै एनडब्लुजिएन क्यालिफोर्निया शाखाले नारी सशक्तिकरणबाट जनचेतनाको बिकास गरेर धेरै महिला लिडरहरु जन्माउने छन् र देश र समाजको बिकासमा देवा पुग्नेछ भन्ने विश्वास व्यक्त गरिन् ।

दिवसमा संस्थाकी महासचिव लक्ष्मी खरेल र सुनिता सापकोटाले उद्घोषकको भूमिका निभाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित