मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

सीके राउतले स्वीकारेको सय थुँगा फूल र डुहुरे मुसो

-विनोद ढकाल २०७५ फागुन २६ गते १४:०४

-विनोद ढकाल

मत–अभिमत, तर्क–वितर्कको मन्थनले एउटा निकास त पक्कै निकाल्छ । तर कुतर्कको ओखती हुँदैन । पहाडको टुप्पोमा उभिने, काठमाडौंको खाल्डोमा अवसरका खेतीपाती भर्भराउँदा पारेर मधेसको संवेदनामाथि टिप्पणी गर्नेहरूको कुतर्क देखेरचाहिँ बोल्न मन लाग्छ ।

कुनै व्यक्ति विशेषको विरोध होइन, मन्थनका क्रममा उठेका उत्तेजक सवाल–जवाफको परिधि नाप्ने प्रयत्न हो ।

दुईथरी तर्क बजारमा हावी छन् ।

पहिलो, सीके राउतसँग भएको सम्झौता राष्ट्रघाती हो । अर्को, सहमति राष्ट्रवादी हो । यी दुवैका सकारात्मक असर के हुन सक्लान् भन्ने आँकलन र विचारको मन्थन छैन । एउटा भिम रावलको पछाडी दौडने जमात् छ ।

अर्को, प्रधानमन्त्री केपी ओलीको पक्षमा उधुम मच्चाउने झुन्ड । दुवैसँग विमति छ । भएको चिजका असरसँग सहमति–असहमति दुवै छन् । परिदृश्य र त्यसबेलाको भावसँग लगाव छ । व्यक्तिवादी निर्णयमा मात्रै हिँड्ने प्रवित्तिसँग रोष छ ।

यद्यपि, समग्रमा राउतसँग भएको सहमतिका बक्र तर्क नगर्ने हो भने मधेसका लागि उपयुक्त निर्णय हुनसक्छ । यसले कतिका हिसाबकिताब बिगारेको होला, कतिका मथिङ्गलका नशाहरू चुुँडीन सक्लान् । तर परिस्थितिमा ठूलो बदलाव त छँदै छ ।

सहमतिले स्पष्ट भन्छ– राजनीतिक गतिविधि गर्न पाइन्छ, देश टुक्राउने कुरा गर्न पाइँदैन । अब, भाषणमा सीकेले के भने भन्ने कुरा अर्थपूर्ण छैन । प्रधानमन्त्रीकै धेरै उखानटुक्का हामीले सुनिसकेका छौं ।

आफ्ना आँखाले देखेको त्यो परिदृश्य, सुनेको त्यो प्रचारबाजी, सल्किएको त्यो भावनात्मक ज्वारभाटा निभाउने काम उनै राउतले यी देशका पूर्वप्रधानमन्त्रीदेखि प्रधानमन्त्रीलाई दिएको नम्र धन्यवादले मात्र निभाएन, त्यसअघि मौनतामा उभिएको र राष्ट्रगीतप्रतिको समर्पणले पनि देखायो

एउटा परिदृश्य
बिखण्डनकारी भनिएकासँग सम्झौता हुनुपूर्व बजेको राष्ट्रिय धुनलाई छातीमा हात राखेर नहल्ली मनन् गरेर उभिएको विषयलाई गौण बनाइयो । सीके राउतको स्वतन्त्र मधेस गठबन्धनको अभियान नेपालबाट तराई वा मधेस अलग हुने भन्ने नै थियो ।

उसको अलग राष्ट्रियताको विषयमा बहसमात्र चलेको थिएन, त्यसको व्यापक प्रचारबाजी पनि गरिएको थियो ।

मधेसका दशहरादेखि सार्वजनिक कार्यक्रममा राष्ट्रिय धुन बज्दैन थियो, बज्थ्यो त सीके राउतको अभियानको प्रचार । आफ्ना आँखाले देखेको त्यो परिदृश्य, सुनेको त्यो प्रचारबाजी, सल्किएको त्यो भावनात्मक ज्वारभाटा निभाउने काम उनै राउतले यी देशका पूर्वप्रधानमन्त्रीदेखि प्रधानमन्त्रीलाई दिएको नम्र धन्यवादले मात्र निभाएन, त्यसअघि मौनतामा उभिएको र राष्ट्रगीतप्रतिको समर्पणले पनि देखायो ।

प्रश्न र तर्कहरू
सामाजिक सञ्जालमा उठेका कतिपय प्रश्नहरू जायज छन् । तर्कहरू जायज छैनन् । प्रश्न, सीके राउतसँग सम्झौता गर्दा रेशम चौधरीलाई किन थुनियो ? यो जायज हो । यो असल प्रश्न हो । यसमा सरकारले जवाफ दिनुपर्छ ।

यसबाट सरकार ‘अदालत’को काम भनेर उन्मुक्ति पाउन सक्तैन । जसरी सीके राउतबारे रातारात फैसलाका लागि अदालत प्रभावित बनाइयो, त्यसरी नै प्रभावित पारेरै भए पनि चौधरीको जनमतको कदर हुनुपर्छ । तर, सीकेसँग किन सम्झौता गरियो ? के ओलीको आफन्त हो भन्ने जस्ता तर्कको काम छैन ।

मधेस स्वतन्त्र थिएन, किन स्वतन्त्र भनेर हस्ताक्षर गरियो भन्ने तर्कमा पनि दम छैन । कुनै संगठनको नामका अगाडी स्वतन्त्र हुनासाथ त्यसको अपव्याख्या र कुतर्क गर्न मिल्दैन । जुन, भीम रावलले गरिरहेका छन् । उनको तर्कको प्रत्युत्तरमा एउटा प्रश्न मेरो छ– तपाईका बरिष्ठ नेताको थर नेपाल छ । माधवकुमार नेपाल । अब, नेपाल मुलुक उनको पेवा, निजी सम्पत्ति हो र ?

हो, रावलसँग यी बाहेकका कन्टेन्टमा बहस गर्न सकिन्छ । कन्टेन्टमा तर्क गर्ने ठाउँ छन् । हामीले देखेको राउतको अभियान, भोगेको राउत पक्षधरताको भावनात्मक अभियान र चोट रावलले बुझेका छैनन् ।

जसरी अखण्ड सुदूरपश्चिमको आन्दोलनमा आफूलाई जोगाउनका लागि उनी उर्लिए, बिरोध गरेनन् वा ठूलो जमातको समर्थनमा रहे । त्यसमा अरुले विमति गरेका थिए त ? उनको त्यो समर्थनले थारु समुदायको अधिकारलाई कुण्ठित हुँदा, परिणामका आधारमा देखिएको टिकापुर घटना भएको हो की होइन ? के अर्को टिकापुर बनाउने बाहना चाहिएको हो ?

मुलुकको माया
यो मुलुकको माया हरेक नेपालीलाई छ । त्यो, केपी ओलीलाई पनि होला, पूर्वराजालाई पनि होला । एउटा राउतसँग भएको सहमतिका आधारमा मुलुक सर्लक्क टुक्रिने हुँदैन । त्यसका निम्ति कागजको खोस्टोमा उधिनिएका विरोधाभाष शव्द काफी हुँदैनन् ।

त्यसअघि यो देशमा रहेको छायाँ सरकार मानिने सेना पनि छ । हर नागरिक छन् । पहिलो प्रश्न त यो हो की मिचिँदै गएको सीमाबारे बहस किन गरिएन ? अलि अलि गर्दै लुटिएको भूमीका विषयमा किन बोलिँदैन ? जनमत संग्रह गर्ने कि नगर्ने भन्ने निर्णय लिने सार्वभौम संसद पनि छ । अहिले त्यति परसम्म नपुगौं ।

अब, सहमति किन भयो ? के अर्थ छ ? अनि किन विरोध भयो ? सहमति भयो भने राष्ट्रका लागि भंग पनि गर्न सकिन्छ । यो डुहुरे तालले अवस्थालाई प्वाल पार्न छाड्ने कि ।

हो, सीके राउतसँगको सहमति आलो हुँदा नै यसलाई प्वाल पार्न, भ्वाङ पार्न कुन कुन चेतमा डुहुुरेहरूको खेल भइरहेको छ ? अर्थको अनर्थ लगाउने र चट्टानमा खप्पर ठोक्नुपर्ने कारण के हो ? जसले आजसम्म यो देशको राष्ट्रिय गीतमा टाउको झुकाउन जानेको छैन, त्यसले सीके राउतको ‘युटर्न’ राजनीतिमाथि औंला उठाउने हिम्मत गर्न भएन

मुसा प्रवित्ति
आजभोली कति मुसा भेटिन्छन् थाहा छैन । मुसाका पनि विभिन्न जात हुन्छन् । एउटा छुचुन्द्रो हुन्छ अति नै बद्मास र गन्हाउने । अर्को, धान चोर्ने मुसो । र, अर्को कपडा टुक्राउने मुसो । भ्वाङ पार्ने मुसो । त्यसको नाम हो, डुहुरे, मम्मीले भन्नु भएको ।

हो, सीके राउतसँगको सहमति आलो हुँदा नै यसलाई प्वाल पार्न, भ्वाङ पार्न कुन-कुन चेतमा डुहुुरेहरूको खेल भइरहेको छ ? अर्थको अनर्थ लगाउने र चट्टानमा खप्पर ठोक्नुपर्ने कारण के हो ? जसले आजसम्म यो देशको राष्ट्रिय गीतमा टाउको झुकाउन जानेको छैन, त्यसले सीके राउतको ‘युटर्न’ राजनीतिमाथि औंला उठाउने हिम्मत गर्न भएन ।

सीकेको लक्ष्य
सीके राउतको एउटा अभियान थियो– राजनीति मूलधारसँग सम्बन्ध र सम्पर्क गाँस्ने ।

हिजोका दिनमा मुक्तिका नाममा बन्दुक उचालेर उधुम मच्चाएको समूह मूलधारको राजनीतिमा उभिन सक्छ भने मुलुकको माग गरेर राज्यसँग फास्टट्रयाकमा सम्बन्ध बनाएको सीके किन उभिन सक्तैनन् ? के सीके विदेशी नागरिक हुन् ?

सीके विस्तारै मूलधारको राजनीतिमा उभिनेछन्, उनका उदण्ड स्कुलिङको सहज अवतरण गर्नेछन् । सहमतिको बाह्य प्रचार जे भए पनि भित्री स्कुलिङ गर्नेछन् । र, शव्दजालमा अलमलिएका महारथीहरूलाई सुझाव छ, जनअभिमत भनेको जनमत संग्रह होइन ।

जन अभिमत भनेको विचार हो, त्यस विचारलाई लोकतान्त्रिक पद्दतीबाट अनुमोदन गर्ने भनेको निर्वाचनमा जाने भनेकै हो । यद्यपि, यसको अस्पष्टतालाई स्पष्ट पार्नका लागि सरकार संसदमा उभिनेछ । त्यसका लागि रुलिङ भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित