शनिबार, ९ चैत २०७५
DainikNepal.com
शनिबार, ९ चैत २०७५

महिला नेत्रीमाथि राजनीतिक आक्रमण–प्रत्याक्रमण !

मिना श्रेष्ठ २०७५ फागुन २६ गते १३:१५

-मिना श्रेष्ठ

कहिलेकाहीँ दिवस मनाउनुको तरङ्गले मथिङ्गल हल्लाउँछ र प्रतिप्रश्न गर्छ– ८ मार्च किन ? अर्थात् नारी दिवस किन ? सान्दर्भिकता छ तर नेपाली राजनीतिमा कति व्यवाहारिक बनिरहेको छ ? राजनीतिको पेरीफेरिमा लामो समय हिँड्दा यदाकदा यो प्रश्नले चिमोट्छ ।

महिलालाई ३३ प्रतिशतमा टेकेर ५० प्रतिशतको कुरा उठाइन्छ अर्थात् महिला समान सहभागिताको कुराहरू उठाइन्छ । महिला अधिकारका आवाजहरू चर्का–चर्का स्वरमा, भाषणहरूमा हुने गर्छन् तर कतै भने महिला अधिकार मानव अधिकार हो भन्ने अनुभुति पनि गर्न पाएका छैनन् । जर्मनी महिला नेत्री क्लारा जेट्किनले ८ मार्च, १८५७ मा श्रमिक महिलाहरूको हक अधिकारको आवाज बुलन्द गरेको दिन हो । अस्ति, एक सय ९ बर्ष बितेछ ।

महिला भएकै कारण कतै झुमा, देउकी, कुमारी प्रथाबाट शोषित भइरहेका छन् । कतै दाइजो/तिलक प्रथाबाट महिलाहरू जिउदै जल्नु परिरहेको छ । कतै बोक्सीको आरोपमा मलमुत्र ख्वाइरहेको छ

महिला भएकै कारण महिलाले भोग्नुपर्ने विभिन्न खाले विभेदको अन्त्तको लागि १९१० देखि मनाउँदै आइरहेको यो दिवस फेरि पनि विभिन्न महिलावादी संघसस्था र राजनितिक दलहरूबाट भव्यताका साथ सम्पन्न भयो । आफूलाई नेतृत्वदायी भुमिका ठान्नेहरू जहाँ जुन ठाउमा भए पनि नेतृत्व गर्नै पर्ने व्याक्तिहरू पनि चर्का चर्का स्वरमा आफू महिला अधिकारका निम्ति सँधै लडिरहने प्रतिबद्धता व्यक्त गर्छन् । तर हामीकहाँ यस्ता अधिकारका चेतनामुलक कार्यक्रमहरू अझै पनि शहरकेन्द्रित मात्र छन् ।

महिला भएकै कारण कतै झुमा, देउकी, कुमारी प्रथाबाट शोषित भइरहेका छन् । कतै दाइजो/तिलक प्रथाबाट महिलाहरू जिउदै जल्नु परिरहेको छ । कतै बोक्सीको आरोपमा मलमुत्र ख्वाइरहेको छ । कतै बलात्कृत भएर न्याय नपाई न्यायको भिख माग्दै हिडिरहनु परेको छ । कतै विधवा/एकल महिलाहरू भएका कारण निरस र यातनापूर्ण जीवन बिताइरहेका छन् । विधवा/एकल महिलाको विवाहलाइ सरकारले प्रोत्साहन दिन खोज्यो तर यो कार्यक्रमलाई पैसासँग जीवन दाज्न खोजियो भनेर चौतर्फी विरोधका लेख रचना टिप्पणीहरू प्रशस्त निस्कीए । एकल महिलाको विवाहलाई हामी अझै पनि खराव दृष्टिकोणबाट व्याख्या गर्छौं । ‘लैंगिक समनताका लागी समान सोच र व्यवहार, समृद्धिको आधार’ भन्ने नारा घन्किन्छ ।

सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक सबैखाले हिंसा हुने गरेको पाइन्छ । घरदेखि बाहिरसम्म सबै खाले हिंसा भैरहेको पाइन्छ । हिंसा भनेर बिभिन्न खाले हिंसाको कुरा गर्दा अधिकार र मुक्तिको कुरा गरिने क्षेत्र भित्र हुने गरेका हिंसाहरू बाहिर आउने गरेको पाइन्न ।
बोलेर नै राजनीति गरिन्छ तर राजनीति भित्र हुने गरेका हिंसाको बारेमा बोल्न सकिन्न । हिंसाको बारेमा आवाज उठाए अनुशासनको कारबाहीको बिषय बनाइन्छ । मुलुक लोकतान्त्रिक गणतान्त्रमय भैसक्दा पनि राजनीति क्षेत्रमा महिलालाई समानता होइन मातहथले प्रसय पाइरहेको छ । पुरुष मातहथ रहेर काम गर्दा राम्रो हुने तर त्यही पुरुष सरह समान भैसके पछि महिलाका तिल जत्रो गल्तीलाई पहाड बनाएर आलोचनाको शिकार बनाएर चरित्र हत्या समेत भइरहेका छन् । आफ्ना व्यक्तिगत समस्यासँगको संघर्षलाई थाँती राख्दै राजनैतिक क्षेत्रमा जति नै योग्य भए पनि योग्ताको कदर गरिन्न, उसको कार्यकाल पुरा नहुन्जेल शंकाको दृष्टिले हेरिन्छ । मुलुकले धेरै फड्को मारीसकदा पनि हाम्रो चिन्तन अझै पनि पितृसतात्मक नै छ । जहाँ अधिकारका ठूला नाराको विगुल फुकिन्छ त्यहाँ नै प्रवित्तिको जडले जरा गाडेको अनुभूत हुन्छ ।

महिला नेतृत्वमा पनि पुरुष चिन्तनले ओतप्रोत भरिएको पाइन्छ । आफुसरहको महिलाले आफु भन्दा सक्षम देखेपछि स्वस्थ्य प्रतिस्पर्धा गर्न नसके महिलाको अधिकार महिलाले नै पनि हनन् गर्ने गरेको पाइन्छ । उल्लेखनीय काम गर्दा पनि ओठ लोप्राउने, अनावश्यक चियो चर्चो गर्ने ,बेतुकका टिकाटिप्पणी गर्ने गरिन्छ । कोसँग कति बेर बोलेको भन्नदेदेखि कँहा गइसम्मको कान फुक्ने प्रवित्तिले पनि प्रताडित बनाएकै छ ।

अर्को, महिलाहरूलाई पुरुष सहारा चाहिन्छ भन्ने मानसिकताले महिलाहरू हिंसा सहिरहन्छन् । साच्ची कै पुरुष सहारा भएका महिलाहरू नै लामो समयसम्म टिकीरहेको र शक्तिशाली भएर रहेको पाइन्छ । पति, पिता, काका, दाइभाइ सम्बन्धले आर्शिवाद पाएका महिलालाई भन्दा पुरुषको आस्रय नभएको महिलालाई ओझेल मै पारिन्छन् । त्यस्ता महिलाको ईमान्दारीता हिजोको इतिहास, हिजोको पृष्ठभूमि सबै धमिलो बनाइन्छ, मानौं कि उसले आफ्नो राजनीति जीवनमा केही गरेको नै थिइन ।

क्रियाशील र शक्तिशाली महिलाको काम मुल्यांकन गर्न भन्दा उसका सानातिना गल्तीहरू खोजेर तिलको पहाड बनाउँदै आक्रमण गर्ने प्रवित्ति हावी बनेको छ । पद र शक्तिको भक्ती गरीने हामी कहाँ पदमा रहेकोहरूलाइ पुजा नै गरीन्छ । महिलाहरूले हिजो पञ्चायती ब्यवस्थाको भुमिगत कालिन अवस्थामा कठोर संघर्ष गरेका, बहुदलीय ब्यवस्था पछी पनि प्रतिगमनविरुद्धको २२ दिने आन्दोलन गरे । जन आन्दोलन २०६२–६३ को आन्दोलनमा आफ्नो दुधे बच्चा, घर परीवार छोडेर देश र जनताको लागि लडेका महिला भन्दा पार्टी काममा कुनै पृष्ठभूमि नभए पनि आफन्त नाता गोता हुने महिलाहरू सिधै शक्तिशाली पदमा आसिन हुने परीस्थिति देखिए ।

२००७ साल देखि २०७५ सम्म आइपुग्दा ६८ बर्ष मा १५०० पुरुष मन्त्री हुँदा महिला मंत्रीको संख्या ७२ मात्र छ । आजको मितिसम्म ७२ जना महिलाले नेपाल सरकारको मन्त्री पद सम्हालेका पाइन्छ

हिजोसम्म हुने गरेका हरेक आन्दोलनका अग्रपंक्तिमा महिला देखिए पनि पार्टी नेतृत्वमा दलको नेतृत्व भनेर सम्बोधन गर्दा पुरुष नेताको नामलाई मात्र सुन्न देख्न र अध्यन गर्न पाइन्छ । पितृसत्तात्मक सोचका कारण पनि हुन सक्छ, महिला नेत्रीहरूलाई पनि यो बिषयमा चसक्क घोच्दैन ।

गणतन्त्र स्थापना पश्चात् हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत हुने भन्ने बहस चल्यो र संबिधानले ३३ प्रतिशत महिलालाई सुनिश्चित भनिए पनि सबै क्षेत्रमा कार्यान्वयन हुन सकेको छैन । हरेक क्षेत्रमा एक तिहाइ महिला भनिएता पनि कुनै पार्टीमा कार्यान्वयन भएको छैन । कुनै पार्टीको केन्द्रीय कमिटीमा महिलाहरू नभएको उदाहरण बिधमान छ ।

पार्टीको तल्लो तह मै ३३ प्रतिशत पुर्याए मात्र, गाउँ, नगर, क्षेत्र, जिल्ला हुदै ३३ प्रतिशत महिला सहभागिता हुन सक्छ ।

२००७ साल देखि २०७५ सम्म आइपुग्दा ६८ बर्ष मा १५०० पुरुष मन्त्री हुँदा महिला मंत्रीको संख्या ७२ मात्र छ । आजको मितिसम्म ७२ जना महिलाले नेपाल सरकारको मन्त्री पद सम्हालेका पाइन्छ । नेपाली राजनीतिमा २०१६ सालमा पहिलो महिला मन्त्री द्वारीकादेवी ठकुरानी हुनुन्थ्यो भने पहिलो महिला राष्ट्रपति विद्यादेवी भन्डारी हुनुहुन्छ ।

वर्तमान सरकारमा मन्त्रीपरीषदको कुल संख्यामा १७ प्रतिशत मात्र महिलाको सदस्य अर्थात् चार जना महिला नेत्रीको सहभागिता छ । स्थानीय सरकारमा ४० प्रतिशत महिलाको सहभागीता छ भने प्रदेश सरकारमा ३१ देखि २७ प्रतिशत सहभागीता रहेको पाइन्छ ।

अहिले अमेरिका र भारत भन्दा नेपाली संसदमा महिला प्रतिनिधित्व बढी छ । तर संख्या बढी भएर मात्र हुन्न । अवसरलाई चुनौतिको रुपमा सदुपयोग गर्नुपर्छ । हामीकहाँ कुरा गर्दा साथी भेटिनछ तर काम गर्दा एक्लो हुन्छ, ऐन मौकामा सबैले साथ छाडि दिन्छन् । दलभित्र गुटगत हिंसा पनि मौलाएको छ । एक गुटले अर्को गुटको महिलालाई खेदो गर्ने गरेको पाइन्छ । प्रभावशालीको समर्थनमा समूह तयार भए गुटबन्दि गरेको आरोपमा तीलको पहाड बनाएर सानातिना त्रुटिलाइ आलोचना गर्दै कारबाही गरेर चरित्र हत्या समेत गर्दै पाखा लगाउन खोजिन्छ ।

एउटै गल्ती महिला र पुरुषले गरेको छ भने पुरुषलाई सफाइ तर महिलालाई दोषि बनाइन्छ । चुनावको बेलामा उम्मेदवार छनौट टिकट बितरण सबैमा महिलाले आफू योग्य भएको योग्यता प्रस्तुत गर्न पाएका हुदैनन् । कतिपय स्थानमा महिलाले म आफू उम्मेदवारीको निम्ति योग्य छु ,चुनाव नजिते पार्टीले कारबाही गरेको भोग्न तयार छु भनेर टिकटको उम्मेदवारी को दावी गर्दा आफ्नो प्रतिबद्धता जनाउदा पनि टिकट नदिएको अवस्था छ । जति नै जनताको बीचमा भिजे पनि आफ्नो कार्यक्षेत्रमा परिभाषित जिम्मेवारी ग्रहण गरीरहेको भए पनि महिलाको कामको उचित मुल्यांकन गरीन्न यो पनि राजनीति भित्रको महिला हिंसा नै हो ।

हिजो भुमिगत कालिन अवस्था देखि सक्रिय महिला अहिलेसम्म पनि वडा कमिटीको इन्चार्ज भन्दा माथि जान नदिएको अवस्था छ । हिजो पार्टी अप्ठ्यारोमा परेको बेला म एउटा महिला हँु, म घर परीवार छ, बच्चा छ भन्ने सोच भन्दा माथि उठेर आफ्ना निजि स्वार्थभन्दा माथि उठेर देश जनता र पार्टीको लागि अहोरात्र खटेका, आन्दोलनमा सडकमा जीवन बिताएका, कयौं पटक गिरफ्तारी र नजवन्द, जेल जीवनका कष्टकर भोगाइ भोगेका महिलाहरूले अहिले जिम्मेवारी र अवसर नपाउनु, नदिइनु पनि महिलाहिंसाको एउटा उदाहरण हो । राजनिति भित्र महिला नेत्रीमाथि हुने आक्रमणको अन्त्य हुन पर्छ अनि मात्र सुखी नेपालको परीकल्पनामा मुठ्ठी उठाएर हिडेका महिलाहरू खुशी हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित