८ कार्तिक २०८३, आइतबार

१७ महिनामा पनि पाइँदैन स्मार्ट कार्ड

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । लमजुङका राम गुरुङले सवारी स्मार्ट लाइसेन्सका लागि आवेदन दिएको १५ महिना भयो । बल्ल गत महिना सवारी अनुमति कार्यालय सानोभर्‍याङले उनलाई लाइसेन्स प्रिन्ट भएको जानकारी गरायो । प्रिन्ट भएको लाइसेन्समा पनि नाम फरक परेपछि उनलाई पुनः छाप्ने आश्वासन दिइएको छ ।

रामेछापका सानु मगरले स्मार्ट लाइसेन्स कार्डका लागि आवेदन दिएको १७ महिना भयो । उनको पनि नाम फरक परेको यातायात कार्यालय भक्तपुरले जानकारी दियो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

पछिल्लो समय कार्डमा तस्बिर, हस्ताक्षरलगायत विभिन्न कुरा स्पष्ट नदेखिएको जनगुनासो बढ्न थालेको छ । यातायात व्यवस्था विभागले कहिले मेसिनको गडबडी त कहिले प्रिन्ट गल्तीले ढिलाइ भएको जवाफ सेवाग्राहीलाई दिने गरेको छ ।

‘यो त सास्ती भयो, १७ महिना भइसक्यो लाइसेन्स पाएको छैन, अरू त यो मुलुकबाट के आशा गर्नु,’ विभागको कार्यालयमा भेटिएका सानु मगरले भने, ‘प्रिन्ट भयो भन्ने थाहा पाएँ तर नाम नै गलत रहेछ ।’

मद्रास सेरी प्रिन्टिङले कार्ड छाप्न ढिलाइ गरेको भन्दै विभागले कार्ड छाप्ने जिम्मा मालिका प्रिन्टिङ प्रालिलाई दिएको छ । मालिकाले २० हजार कार्ड छपाइमा गल्ती गरेको छ ।

ती कार्ड रि–प्रिन्ट गर्न ढिला भइरहेको विभागका एक अधिकारीले जानकारी दिए । कार्डको माग र आपूर्तिबीच असन्तुलन हुँदा ट्रायल पास अथवा नवीकरण गरेको १७ महिनासम्म स्मार्ट कार्ड कुर्नुपर्ने अवस्था रहेको ती अधिकारीको भनाइ छ ।

गत असोजमा निजी कम्पनी मालिका इन्कर्पोरेट प्रालिसँग थर्मल प्रिन्टिङ (सामान्य लेखाइ) विधिबाट ५ लाख कार्ड ४५ दिनभित्र प्रिन्ट गर्ने गरी सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार मालिकाले कात्तिक ४ गतेदेखि प्रिन्ट सुरु गरेको थियो ।

मालिकाले ३ लाख ५० हजार स्मार्ट लाइसेन्स छापेको विभागका प्रवक्ता गोकर्ण उपाध्यायले बताए । ‘मालिकाले छपाइमा गल्ती गरेकाले समस्या आएको छ, गल्ती छापिएका कार्ड बुझाउन निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘पुसदेखि मालिकासँगको सम्झौता पनि समाप्त भइसकेको छ ।’