८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीको जवाफ बिहीबार श्रद्धाञ्जली सभामा जानैपर्छ

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री केपी ओली १० घन्टापछि डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पूर्ण स्वास्थ्य जाँचपछि प्रधानमन्त्री साँझ साढे ८ बजे घर फर्किएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

साँझसम्म अब्जरभेसनमा राखेर पूर्ण स्वास्थ्य जाँच गर्दा ठूलो समस्या केही नदेखिएपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न डा. अरुण सायमीले नयाँ पत्रिकालाई बताए । ‘उहाँको मुटु, मिर्गौलासहित शरीरका सबै अंगको परीक्षण गरिएको थियो,’ उनले भने, ‘रिपोर्ट राम्रो आएकाले डिस्चार्ज गरिएको छ ।’

केही दिनयता नियमित कार्यक्रममा दौडधुपका कारण थकान महसुस गरेका प्रधानमन्त्री ओली निजी चिकित्सकहरूको सुझाबअनुसार पूर्वनिर्धारित दुई सार्वजनिक कार्यक्रम स्थगित गरेर बिहान १० बजे अस्पताल पुगेका थिए ।

उनले धेरै थकाइ महसुस गरेपछि डा. सायमी नेतृत्वको चिकित्सकहरूको टोलीले तत्काल भर्ना गरी अब्जरभेसनमा राखेर पूर्ण स्वास्थ्य परीक्षण गरेको थियो ।

त्यसक्रममा मुटुको चाल हेर्न इको तथा इसिजीसहितका परीक्षण गरिएको चिकित्सकहरूले बताएका छन् । बुधबार प्रधानमन्त्री ओलीले साढे १० बजे इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको साधारणसभा र साढे ११ बजे वीरगन्जमा अश्वमेध महायज्ञ उद्घाटन गर्ने कार्यक्रम थियो ।

सोमबार शिवरात्रि तथा सेना दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री सुखानी सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मंगलबार गृहजिल्ला झापा पुगेका थिए । सुखानीमा आयोजित कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली साँझ पौने ६ बजे काठमाडौं फर्किएका थिए ।

आराम गर्न चिकित्सकको सुझाब

चिकित्सकहरूले प्रधानमन्त्रीलाई धेरै धपेडी भएकाले कम्तीमा एक–दुई दिन निवासमै आराम गर्न सुझाब दिएका छन् । तर, प्रधानमन्त्रीले भने बिहीबार भृकुटीमण्डपमा दुई स्वर्गीय नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभामा एकछिन भए पनि उपस्थित भएर बाँकी समय आराम गर्ने आफ्नो योजना सुनाएका छन् ।

‘हामीले धपेडी धेरै भयो, एक–दुई दिन आराम आवश्यक छ भन्ने सुझाब दिएका छौँ,’ डा. सायमीले भने, ‘तर, उहाँले बिहीबार केहीबेरका लागि भए पनि श्रद्धाञ्जली सभामा सहभागी हुनैपर्ने भएकाले बाँकी समय आराम गर्ने जानकारी गराउनुभएको छ ।’

एक वर्षपछि प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य परीक्षण

प्रधानमन्त्री केपी ओली अघिल्लो वर्ष चुनाव सकिएलगत्तै २६ पुसमा पूर्ण स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैंकक गएका थिए । बुमरुङगार्ड अस्पतालमा स्वास्थ्य परीक्षण गराएर उनी ४ माघमा स्वदेश फर्किएका थिए । त्यसयता सामान्य जाँचबाहेक प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण नभएकाले पनि ‘अब्जरभेसन’मा राखेर जाँच गरिएको निजी चिकित्सक डा. दिव्या सिंहले बताइन् ।

६ महिनामा नियमित फलोअप चेकअप गर्नुपर्ने भए पनि त्यसयता प्रधानमन्त्री बैंकक गएका थिएनन् । ‘पछिल्लोपटक बैंककमा जाँच गरिएपछि उहाँको पूर्ण परीक्षण भएको थिएन,’ सिंहले भनिन्, ‘प्रधानमन्त्रीज्यू निकै व्यस्त हुनुहुन्छ, तत्काल फलोअप चेकअपका लागि गइहाल्ने स्थिति पनि नभएकाले उहाँको पूर्ण स्वास्थ्य परीक्षण गरिएको हो ।’

कात्तिकमा टिचिङमै ५ दिन उपचार

छातीमा संक्रमण बढ्दा श्वासप्रश्वासमा समस्या देखिएपछि गत १२ कात्तिकमा प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । स्वास्थ्यमा पूर्ण सुधार भएपछि चिकित्सकहरूको सुझाबमा १६ कात्तिकमा बालुवाटार फर्किएका थिए । त्यतिवेला पनि प्रा.डा. सायमीको संयोजकत्वमा प्रा.डा. दिव्यासिंह शाह र डा. सन्तकुमार दास सम्मिलित समूहले उपचार गरेको थियो । कम्तीमा १५ दिन निवासमै आराम गर्न चिकित्सकले सुझाब दिएका थिए ।

०६४ मा दिल्लीस्थित एपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता नियमित स्वास्थ्य जाँच गराउँदै आएका प्रधानमन्त्री ओली चिकित्सकको सुझाबअनुसार औषधि पनि सेवन गर्दै आएका छन् ।