बिहीबार, ९ जेठ २०७६
DainikNepal.com
बिहीबार, ९ जेठ २०७६

प्रिय शिवानी

दीपक देबकोटा २०७५ फागुन २२ गते १०:३३

दीपक देबकोटा

बिहानको सात बजिसकेको छ तर पनि ओछ्यानमै छु । किनकिन उठ्न अल्छी लागीरहेछ । शनिबारको दिन भएर पनि होला सायद कहिँ कतै जाने काम नभएकोले सुतिरहन मन लागेको । आज एकाएका बिगतका यादहरु वर्तमान जस्तै गरी मनसपटलमा घुमिरहेका छन् ।

शिवानीसँगको चार वर्ष लामो सम्बन्धको यात्रा सकिएको पनि भर्खर दुई वर्ष भएको छ । शिवानी जो भर्खरै कसैको भई सकेकी भन्ने सुनेको छु । भर्खरै जस्तो लाग्छ उनीसँग बिताएका पलहरु, उनीसँग खाएका कसमहरु । कसरी बिते ति दिनहरु आज पछाडी फर्केर सम्झिदा पनि अनुभूति बनेर मनसपटलमा ताजै घुमिरहन्छन् । जीन्दगी एक किस्सा रहेछ जसरी चाह्यो त्यसरी जीउन सकिने । सम्झनामै भएपनि गहिराईमा हराउन सकिने ।

हामीसँगै एउटै कक्षामा पढ्ने साथि थियौँ तर पनि हाम्रो चिनजान भने थिएन । सँगै पढ्ने भएर पनि हाम्रो भेट कहिल्यै कलेजमा भएन । भयो होला तर औपचारिक रुपमा परिचित भेट भएन सायद । हाम्रो भेट त्यो समयमा भयो जब उनी कुनै संस्थामा काम गर्थिन् । जसको माध्यम थियो मेरो साथि रमेश । उनीहरु एउटै अफिसमा सँगै काम गर्ने साथि थिए । एक दिन म रमेशलाई भेट्ने सिलसिलामा त्यस अफिसमा गएको थिएँ । जब भित्रमात्र छिरेको थिएँ, त्यहाँ एक जना भर्खरकी २४/२५ हाराहारीकी एक सुन्दरी देखिइन् । बसन्तको पात जस्तो कलिलो र फक्रिएका गुलाब जस्तो हँसिलो अनुहार, कुमसम्म लत्रिएका कैला कपाल । न मोटी, न दुब्ली एक सुन्दरी ।

जब उनलाई देखेँ मनभित्र एक प्रकारको उमङ्ग पलाएर आएको थियो । म उनिसँगको पहिलो भेटमै मोहित भएको थिएँ । पहिलो चोटी देख्दैमा म उनीसँग जिस्कने कोसिस गरेको थिएँ । तर उनी मेरो जिस्क्याईलाई खासै वास्ता नगरे झैं गरीरहेकी थिईन् । उक्त समयमा उनी त्यति नबोले पनि पछि साथिको माध्यमबाट म उनको नजिक हुने धेरै कोसिस गरेको थिएँ तर उनि तर्किने कोसिस गरिरहन्थिन् । मेरो अथक प्रयासका बाबजुद एक दिन उनी म सँग हार्न बाध्य भएकी थिइन् । कयौं दिनहरु बिते कयौं रातहरु बिते । हाम्रो सम्बन्धले नयाँ मोड लिँदै गई रहेको थियो । हामी प्रेमरुपी संसारमा हिँडिरहेका छौं भन्ने पनि पत्तो नै नपाई एक अर्कामा हराई सकेका रहेछौं । हामी एक अर्काको सुखदुखको साथि बनिसकेका थियौं । उनी जागीरे थिइन् म बेरोजगार । उनी मलाई सधैं जसो भन्ने गर्थिन्,“तपाई नि जागीर गर्नुन अब त पढाई नि सकियो किन त्यसै बस्नु हुन्छ, अब त पछिलाई नि सोच्नु पर्यो नि ।”
म भने उनको कुरालाई हाँसोमै उडाँइदिन्थेँ र भन्ने गर्थें–‘जागीर खाने होइन खुवाउने चाहिँ पक्का बन्छु पखन दिन त आउन देउ ।’

‘उफ’ कुरै मात्र ठूलो, उनी यसो भन्दै ओठ लेपार्थिन् । म भने हाँसेर जिस्किँदै टारिदिन्थिएँ ।

उनी सँगको प्रत्येक पल रमाइलो लाग्न थालेको थियो । जब साँझ पथ्र्यो उनी अफिसबाट कहिले घर पुग्लिन र अनलाईन आउलिन भनेर कुरेर बस्न मन लाग्थ्यो । जब उनी अनलाईन आउँथिन् तब केही हराएको वस्तु भेटिए जस्तो उत्पात खुसी लाग्थ्यो । म्यासेज उताबाट आउनु भन्दा पहिले यतैबाट गर्ने गर्थें । म्यासेजमा सधैं जसो एउटै कुराहरु हुने गर्थे तर पनि कहिल्यै बोरिङ्ग फिल हुन्थेन हाम्रो मायामा । उनी सधैं जसो भन्ने गर्थिन्, ‘केही गर्नु न अब त अनि हामी सँगै हुनुपर्छ के सधैंको लागि’ म भने उनको कुरामा खासै सिरिएस हुन्थिन । किनकी मैले यति चाँडै एक भई हाल्ने खासै सोचेको थिईन । तै पनि उनको कुरामा सहमति जनाउँदै भन्ने गर्थें,‘तिमीसँग सँगै हुन केहि नगर्दा चाहिँ केले छेक्छ र ?’
‘कस्तो रुखो मान्छे के तपाई त कुनै पनि कुरालाई सिरियस रुपमै नलिने’, उनी यसै भन्ने गर्थिन् । उनको ठुस्काई मलाई खुब मन गथ्र्यो । झन् जिस्काइदिन्थेँ । उनीसँगका कयौं पलहरु मलाई अविस्मरणीय लाग्छन् । हामी कयौं पटक स्वयम्भु, पशुपतिनाथ मन्दिरमा सँगै घुमेका यादहरु ताजै रुपमा दिमागमा आईरहन्छन् । उनी प्रत्येक भेटमा मलाई सोध्ने गर्थिन् –‘तपाई मलाई मति माया गर्नुहुन्छ ?’

म जवाफ दिने गर्थें – ‘तिमीले भन्दा बढी’ म यत्ति मात्र भन्ने गर्थें । तिमीले जति गर्छौ त्यसको डबल गर्छु भनिदिन्थेँ ।

उनी भन्थिन्–‘मैले जति त गर्नु हुन्न भो म कति धेरै माया गर्छु हजुरलाई । हजुर बिना सायद कल्पना गर्न नी सक्दिन होला ।’ यसै भन्ने गर्थिन् उनी । म पनि उनको कुरामा सिरियस हुँदै ‘म पनि त कहाँ कल्पना गर्न सक्छु र सानु भनिदिन्थेँ ।’

उनी म सँगको हरेक भेटमा, हरेक च्याटमा तपाईले भन्दा मैले बढी माया गर्छु, तपाई किन सिरियस हुनुहुन्न भन्दै ठुस्किने र झगडा गर्न मात्र खोज्थिन् । हरेक प्रसंगमा अब बिवाह गर्नुपर्छ भन्ने कुरामा जोड दिन्थिन् । म उनका कुराहरुबाट भाग्ने कोसिस गरीरहन्थेँ तर उनी मलाई सजिलै उम्कन कहाँ दिन्थिन् र । उनको र मेरो सम्बन्धका बारेमा उनको परिवारमा थाहा भईसकेको थियो तर मेरो परिवारमा भने कसैलाई थाहा थिएन । उनी हाम्रो सम्बन्धलाई लिएर खुबै चिन्तित थिईन् । सोही कुरालाई लिएर उनी मलाई घरमा जानकारी गराउन फोर्स गरि रहन्थिन् । म भने डराइरहन्थेँ । मेरा बुवा आर्मीको जागिरे हुनुहुन्थ्यो । उहाँको घरभित्र पनि आर्मीकै शासन चल्थ्यो । बुवाको स्वभावका अगाडी म उनको कुरा त्यति सजिलै राख्न असमर्थ थिएँ । तर उनी भने आमा र दिदीहरुलाई भए पनि भन्नु भनेर फोर्स गरि रहन्थिन् । मेरा दुई दिदीहरु पछिको म कान्छो भाई । आमा र दिदीहरुको मायाले म बढी नै पुलपुलिएको भएपनि त्यो कुरा उहाँहरुको सामु राख्नु मेरा लागि फलामको चिउरा चपाए सरी थियो । ठूलै साहसको जरुरत आवश्यक थियो । उनीसँगको हरेक भेट होस् वा च्याटमा उनको रुवाईले मलाइ एउटा बन्धनमा पारेको थियो । मेरो कोमल मनलाई उनको आँसुले सजिलै पगालेको थियो । नजानिँदो रुपमा म उनीसँग बिहे गर्न राजि भएको थिएँ ।

एक दिन सानी दिदीलाई आफ्नो सबै कुरा बताईदिएँ । मेरै उमेरसँग मिल्ने भएर पनि होला सानी दिदीसँग आफ्ना कुराहरु राख्न त्यति संकोच लाग्थेन । मेरा कुराहरु सुनेर दिदी आश्चर्य चकित मुद्रामा हाँस्दै,‘तँ जस्तो फुस्रे केटोले पनि कसरी केटी पट्याईस’ भन्दै उल्टै मलाई जिस्क्याउन थाल्नु भएको थियो । उहाँको जिस्क्याईले मलाई एकछिन लाज लागेको थियो र रातोपिरो भएको थिएँ । मैले हाम्रो सम्बन्धको बारेमा दिदीलाई भनेको कुरा उनीलाई सुनाएको थिएँ । उत्तः कुराले उनमा केही मुद्रा खुसी पलाएको थियो । म बिस्तारै उनीसँगको संबन्धलाई औपचारिकता प्रदान गर्ने बाटोमा नै लाग्दै थिएँ । तर हरेक मोडमा हाम्रो संबन्धमा नयाँ नयाँ अवरोधहरु सिर्जना हुने गर्दथे । मर मेरो परिवार चाहन्थ्यो मेरो बिवाह धुमधाम तरिकाले सम्पन्न गरौं । म दुई दिदीहरु पछिको एक मात्र छोरा भएकोले पनि परिवारको त्यो चाहना हुनु स्वभाविकै थियो । तर उनी हाम्रो संबन्धलाई मात्र औपचारिकता दिन चाहन्थिन् । कुनै हर्षो उल्लास बिना । दुई जनाको बिचमा मात्र संबन्धलाई औपचारिकता दिने कुरा जुन मेरा लागि पनि स्वीकार्यको विषय थिएन । मेरो परिवारको चाहनालाई मारेर म नयाँ संबन्ध स्थापित गर्न चाहन्न थिएँ ।

मेरो यस्ता प्रतिक्रियाले उनको आखाँमा आँसु छचल्किन्थे । उनको आँखाको आँसुले त्यो भन्दा बढी मेरो मन छचल्किन्थ्यो । म बढो दुविधामा परेको थिएँ । कसरी कुन बाटो रोजौं जसले सबैमा खुसीको संचार बाँडोस् । यसर्क कारण उनलाई गुमाउन पनि चाहन्न थिएँ म । हामीहरु भावनामा बग्दै गएका थियौं । एक अर्का बिना कल्पना गर्न नसक्ने भई सकेका थियौं ।
शनिबारको दिन थियो, बिहानै मोवाइलमा घण्टी बज्यो । निद्रामै भए पनि उठेर मोवाइल हेरेँ । शिवानीको फोन रहेछ । आज शनिवार भएर कतै जानका लागि फोन गरेकी होली भन्ने सोचेर फोन रिसिभ गरेँ । ‘हेलो किन यति चाँडो फोन गरेको’ मैले यसै भने ।
‘आज दिउँसो १२ बजेतिर भेटुँ न तपाईसँग एउटा कुरा गर्नु छ ।’
‘एउटा मात्र किन सयौं कुरा गरौंला नी’ म जिस्किन खाजेँ ।

उनी सिरियस हुँदै जसरी नि आउनु है जरुरी कुरा छ भन्दै फोन राखिन् ।

बिहानको खाना खाएर हामी स्वयम्भुको डाँडामा पूर्वनिर्धारित समय र स्थान अनुसार भेट भयौं । मैले उनको कुरामा कुनै गाम्भिर्यता महसुस गरेको थिईन । यहि बिवाह कै कुरालाई लिएर फेरी केही भन्न होला भन्ने सोचेको थिएँ ।

उनले बडो संकोच मान्दै डराई डराई मेरो सामु एउटा कुरा व्यक्त गरिन् जुन कुराले मेरो मनमा रिंगटा लागेर आयो उनका कुराले सपना होकी बिपना छुट्याउन मुस्किल परि रह्यो एकछिन सम्म । उनले उक्त भेटमा पनि भनेकी थिईन्–‘कति माया गर्नु हुन्छ मलाई ?,

उक्त समय म झर्केको थिएँ,‘कति एउटै प्रश्न हजार चोटी गर्छौ के विश्वास छैन हो ?’

‘हो छैन’ उनले रुखो जवाफमा यसै भनेकी थिईन् ।

म भावुक हुँदै उनलाई आफ्नो अंगालोमा बेरेर किन यसो भन्छौ सानु म जस्तो सुकै परिस्थिति आई परे पनि पछि हट्दिन,तिमीलाई कुनै हालतमा आफ्नो बनाएर छाड्छु भनेको थिएँ ।
‘कसम ?’ भनेर उनले प्रश्न गरिन् ।

बिना संकोच मैले कसम भनि दिएको थिएँ । आखिर कसम नखाइ रहनु पर्ने पनि त्यस्तो केही आपत्ति थिएन नि हाम्रो संबन्धमा । जुन संबन्धले औपचारिकता मात्र ग्रहण गर्न बाँकी न थियो । उनले फेरि यसै सिलसिलामा अर्को प्रश्न गरेकी थिईन्,‘तपाई मलाई जस्तो परिस्थिति आए पनि अपनाउन तयार हुनुहुन्छ ?’
मैले जवाफ दिएको थिएँ–‘तयार छु ।’

उनले फेरि थपिन्,‘मेरो बिगत खराब रहेछ भने नि ?’

यो प्रश्नले मलाई केहि समय हल्लाएको थियो र सोच्न बाध्य बनाएको थियो । एकछिन उनलाई हेरिरहेँ ।

उनले फेरी प्रश्न गरिन्,‘भन्नुन ?’

‘भन्नाले ?’ आश्चर्यचकित मुद्रामा मैले प्रतिप्रश्न गरेँ ।

‘मेरो बिगतको संबन्धले तपाईलाई असर गर्छ की नाई ?’ उनको यस प्रश्नको बिना संको जवाफ दिएको थिएँ,‘नाई गर्दैन । आजलाई हेरेर बाँच्ने मान्छे हुँ म । तिमी आजको दिनमा ठिक छौ मलाई त्यति भए पुग्छ । भविष्य राम्रो दुवै मिलेर बनाऔंला ।’ मैले यत्ति मात्र जवाफ दिएको थिएँ ।

‘मेरो बिगत खराब छ’– उनले फेरि भनेकी थिईन् ।

आज एकाएक किन उनले यस्तो कुरा गरि राखेकी छिन् बुझ्न नि सकी राखेको थिईन । यतिका दिन सम्म आउँदा हामी बिच किगतको कुरा कहिल्यै निस्किएनन् । आज एकाएक आश्चर्य मानि रहेको थिएँ ।

‘बिगत त सबैको हुन्छ नि त्यसलाई याद गरिराख्नु गर्ने खास जरुरी छ र ?’

‘जरुरी रहेछ राजेश बिगतले नै बर्तमानको निर्माण गर्दो रहेछ र भविष्यको बाटो तय गर्दो रहेछ । म एक विवाहित भई सकेकी केटी हुँ ।’

उनको यो वाक्यले मलाई रिंगटा लागेर आएको थियो । उक्त समय मेरो मुखबाट केही जवाफ आएन । म मौन नै रहेँ एकछिन् सम्म । के बोलुँ जवाफ आएन । उनी आफैं बोलिन फेरी,‘सक्नुहुन्छ अपनाउन ?’

म फेरी मौन रहेँ ।

मेरो मौनता देखेर उनी भद्दा हाँसो हाँस्दै,‘सक्नुहुन्न होईन ? किन झुटो कसम खानुहुन्छ ?’ भन्दै मतिर प्रश्न तेस्र्याईन् ।

मलाई उनको कुरा बिश्वास गर्न बहुत गाह्रो भईरहेको थियो । सपना होकी बिपना भई रहेको थियो । बिन आज आएर उनले यो कुरा गरी राखेकी थिईन् ? किन यो भन्दा पहिला यस्तो कुरा कहिल्यै गरिनन् ? झुट उनी की म ? गलत उनी की म ? कल्पना गर्नै सकी रहेको थिईन ।

आखिर झुट त मैले नै बोलेको थिएँ जस्तो परिस्थितीमा पनि अपनाउछु भनेर । उनले त बिगत नखोलेकी मात्र न हुन् संबन्धलाई नटुटाउनको लागि । झुट त केही बोलेकी थिइनन् ।
म मौन नै रहेँ र त्यहाँबाट केही नबोली सरासर आफ्नो बाटो लागेँ । उनी मेरो बाटो हेरिरहिन् ।

बाटो हिँड्दै गर्दा मनमा अनेक सोचहरु आईरहे । आफैं भित्रका प्रश्नमा पनि म मौन रुपमा अगाडी बढीरहेँ । कहिले बिवाह गरी ?, किन फेरी छोडी ?, के कारणले छोडी ?, कति समय सँगै बसी होला ? मनमा यस्तै कुराहरु आवत जावत गरिरहे बाटोभरि ।

जब घरभित्र पसेँ ढोकाको चुकुल लगाएँ र बेडमा डङ्रङ्ग लडेँ र लामो सास फेरेँ । फेरी मनमा उही कुराहरु मनमा घुमीरहे । केहिबेरमा मनलाई शान्त बनाउँदै उठेँ र मोवाइलको म्यासेन्जरमा गएँ र लेख्न थालेँ,‘प्रिय शिवानी तिमीलाई माया गर्थें, तिम्रै मायामा डुब्दै गएको पनि थिएँ तर यसको मतलब यो होईनकी मायाका सामु परिवारको खुसीलाई नजर अन्दाज गरिन्छ । तिमीले किन आजका दिनसम्म पनि यो कुरा भनिनौ । तिम्रो बिगत त्यस्तो थियो त किन पहिल्यै भनिनौ । के मलाई मायाको रङ्ग भरेर आफ्नो जालमा पार्न चाहन्थ्यौ ? तिमीसँग गर्नुपर्ने धेरै प्रश्नहरु छन् मसँग । तिम्रो बिगतका बारेमा के के भएको थियो भनेर । तर त्यको के अर्थ र । नजाने गाउँको बाटो किन सोधिरहनु र । जहाँ छौ खुसी रहनु । तिम्रो बिगत नै आखिरमा आएर हाम्रो संबन्धको खुड्किलो बन्दियो । मैले सोचेको पनि थिईन तिम्रो बिगत यति सम्म होला भनेर । जुन मेरा लागी स्वीकार गर्न सक्ने अवस्था रहेन । अर्को जन्म यदि हुन्छ भने अर्को जन्ममा चाहिँ हामी एक हुने वाचा गरौंला । अहिलेलाई तिमीबाट टाढा जाँदैछु । फोन म्यासेजको कुनै कष्ट नगर्नु ।’ यति लेखेर म्यासेज सेण्ड गर्दिएँ ।

यति गरी सक्दा मनमा पिडा बढेर गई रहेको थियो । उनीबाट टाढा हुनुको पिडा, उनीसँग खाएका बाचाहरु एकएक याद आईरहेका थिएँ । एक मनले जे भयो भयो उनको बिगत बिर्सिएर उनीलाई माफि दिएर आफ्नो बनाउँ भनिरहेको थियो । अर्को मनले भनिरहेको थियो त्यसरी सत्यता लुकाएर मायामा पार्नेलाई कसरी आफ्नो बनाउँ । कसरी परिवारको खुसि बिपरित जाउँ ।

यस्तै कुराहरु मनमा खेलिहे । रहस्यहरु किन ढाकिन्छन् जिन्दगीका ? आकर्षणहरु किन छोपिन्छन् जिवनका ? उफ् ! पापी समय ! पापी सम्झना !
घडीमा १० बजिसकेको रहेछ । आज किन अनायासै उनको सम्झनामा हराउन पुगेछु ।

प्रतिक्रिया
सम्बन्धित