शनिबार, ९ चैत २०७५
DainikNepal.com
शनिबार, ९ चैत २०७५

खगराज अधिकारी भन्छन् – रबीन्द्र अधिकारीले मदन भण्डारीको रिक्तता मेटाउनु भएको थियो

दैनिक नेपाल २०७५ फागुन १७ गते १८:३८

रबीन्द्रजी सँग वैचारिक रुपमा गोलबन्द गर्न सक्ने खुबी थियो । अग्रजलाई अति सम्मान गर्नुहुन्थ्यो । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मलजल गर्न उहाँको धेरै ठूलो भूमिका छ । कतिपय अहिलेका ठूला नेताहरु नै विचार लागू गर्ने विषयमा लरबराइरहेका बेला उहाँले जबजलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको हो । हामी रबीन्द्रजीले मदन भण्डारीको रिक्तता मेटाउनु भएको छ भन्नेमा थियौं । उहाँको निधनले पार्टी निर्माणमा ठूलो क्षति पुगेको छ ।

– खगराज अधिकारी (पूर्वमन्त्री एवं केन्द्रीय सदस्य, नेपाल कम्युनिष्ट पार्टी-नेकपा)

रबीन्द्र अधिकारी निष्ठावान नेता हो । उहाँको बारेमा जति धेरै वर्णन गरे पनि कमि हुन्छ । उहाँ धेरै सम्भावना बोकेको व्यक्ति हुनुहुन्थ्यो । सालिन, भद्र, इमान्दार आँखामा राखेपनि नबिझाउने खालको हुनुहुन्थ्यो । सबैको अति नै प्यारो हुनुहुन्थ्यो । साहित्य, संगीत र मिडियाप्रेमी हुनुहुन्थ्यो । ०३६ सालमा स्कुल पढ्दा मैले नै उहाँलाई संगठित गरेको हुँ ।

०४५ सालमा उहाँले पार्टी सदस्यता लिनु भएको हो तर अहिले उहाँ मेरो पनि नेता हुनुहुन्थ्यो । सदस्यता लिएदेखि नै पार्टीमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको थियो । सहमति र सहकार्यमा विश्वास गर्नुहुन्थ्यो । पार्टीभित्र मात्र नभएर बाहिर पनि रबीन्द्रजीको त्यत्तिकै राम्रो सम्बन्ध र सम्पर्क थियो । उहाँबाट सिक्न पर्ने धेरै कुरा छन् । पार्टीमा हुने गुट-उपगुटबाट पनि सँधै टाढा रहनुभयो । उहाँमा संगठन, दर्शन विचार सम्बन्धी राम्रो ज्ञान थियो । सकारात्मक सोँच र सहिष्णुता थियो । उहाँ योग्य नेता हो । राजनेता हो ।

अनेरास्ववियुको नेतृत्व गर्दा विद्यार्थी आन्दोलनलाई उचाइमा पुर्याउनेदेखि पार्टीका विभिन्न तहमा रहँदा कहिल्यै पनि उहाँप्रति गुनासो गर्ने ठाउँ रहेन । हरेक निर्वाचनमा पार्टीका घोषणापत्र निर्माण गर्नमा रबीन्द्रजीको महत्वपूर्ण भूमिका रहन्थ्यो र उहाँ सबै पुस्ताका प्रिय हुनुहुन्थ्यो । बालबालिका, युवादेखि वृद्धवृद्धा सबैले रुचाउँथे । वैचारिक रुपमा गोलबन्द गर्न सक्ने खुबी थियो । अग्रजलाई अति सम्मान गर्नुहुन्थ्यो । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मलजल गर्न उहाँको धेरै ठूलो भूमिका छ । कतिपय अहिलेका ठूला नेताहरु नै विचार लागू गर्ने विषयमा लरबराइरहेका बेला उहाँले जबजलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्नु भएको हो ।

हामी रबीन्द्रजीले मदन भण्डारीको रिक्तता मेटाउनुभएको छ भन्नेमा थियौं । उहाँको निधनले पार्टी निर्माणमा ठूलो क्षति पुगेको छ । अहिले एमाले र माओवादी केन्द्र एक भइ नेकपा बनेको अवस्था छ । यो पार्टीलाई सही मार्गमा डोर्याउन र संगठन निर्माणमा उहाँको भूमिका अतुलनिय रहन्थ्यो । अत्यन्तै महत्वपूर्ण घडीमा निधन भएको छ । उहाँको निधनले पार्टी र सरकारलाई भएको क्षतिको बारेमा बताएर साध्य नै छैन । सरकारले अघि सारेको ‘समृद्ध नेपाल, खुसी नेपाली’ अभियानको एउटा अभियन्तालाई गुमाउनु परेको छ । विकास सम्वन्धी धेरै योजनाहरु थिए, उहाँसँग ।

उहाँको र मेरो अति नै राम्रो सम्बन्ध थियो । ०५१ सालको निर्वाचनमा म कास्की क्षेत्र नं. १ को उम्मेदवार हुँदा उहाँले निर्वाचन परिचालन कमिटीको नेतृत्व गरेर धेरै सहयोग गर्नुभएको थियो । गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा आफू उम्मेदवार हुँदाहुँदै पनि मलाई विजयी गराउन धेरै सहयोग गर्नुभएको हो । एमाले फुटेर माले बनेपछि पुनः मालेलाई एमालेमा फर्काउनमा पनि उहाँको र मेरो ठूलो भूमिका रहेको थियो । आज यसरी अचानक रबीन्द्रजीको निधन हुँदा अति नै चिन्तित भएको छु ।

अहिले बोल्न पनि निकै गाह्रो भइरहेको छ । पछिल्लोपटक मैले संसदमा स्वास्थ्य सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दा उहाँले मप्रति निकै खुसी व्यक्त गर्दै समर्थन जनाउनु भएको थियो । त्यही नै उहाँको र मेरो पछिल्लो संवाद थियो । पर्यटन मन्त्री भइसकेपछि उहाँले धेरै राम्रा कामहरुको थालनी गर्नु भएको थियो ।

पर्यटन क्षेत्रमा धेरै सपनाहरु बोक्नु भएको थियो । उहाँ आवधिक योजना बनाएर काममा लाग्नु भएको थियो । केहि समयमै नजिता आउने गरि काम थाल्नु भएको थियो । उहाँका अधुरा सपना पुरा गर्ने जिम्मेवारी हामीमा आएको छ । सिङ्गो पार्टी एकढिक्का भइ उहाँका बाँकी रहेका अधुरा सपनाहरु सकार पार्ने काममा लाग्नु पर्ने अबको आवश्यकता हो ।

हामीलाई उहाँको अभाव सधै नै खड्किरहने छ ।

प्रस्तुति: अर्जुन भुसाल/दैनिक नेपाल

प्रतिक्रिया
सम्बन्धित