
काठमाडौँ, १७ फागुन । नेपालमा पेट्रोलियम खानी अन्वेषणका लागि चिनियाँ टोली आउने भएको छ । पाल्पा, दैलेख र सुर्खेतमा पेट्रोलियम खानीको अन्वेषण गर्ने चाईना जिओलोजिकल सर्भेको विज्ञ टोली नेपाल आउन लागेको हो ।
टोली अबको एक महिनाभित्र नेपाल आइपुग्नेछ । बिहीबार मात्रै बेइजिङमा नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । ०७२ चैतमा नै नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण सम्बन्धी द्विपक्षीय सम्झौता भई सम्भाव्यता अध्ययन भएपनि कार्यान्वयन प्रक्रिया अघि बढेको थिएन । बिहीबार सम्झौता भएसँगै अन्वेषणका लागि बाटो खुलेको हो ।
पेट्रोल अन्वेषण र उत्खनन् कार्यका लागि चाइना जिओलोजिकल सर्भे विश्वकै उत्कृष्ठ संस्था मानिन्छ । चिनियाँ विज्ञ टोलीले पाल्पा, दैलेख, सुर्खेत पुगेर त्यहाँ रहेको पेट्रोलियम खानीको विस्तृत अन्वेषण र ड्रिलिङको काम गरी ईन्धन भण्डार पत्ता लगाउनेछ । यसअघि वैशाख ०७३ मा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खनन्को सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो । तीन दशकअघि नै पेट्रोलियम खानीको अन्वेषण थालेको भएपनि त्यसले ठोसरुप पाउन सकेको छैन ।
प्रचुर सम्भावनाका बावजुद विज्ञता, प्राविधिक र दक्ष जनशक्ति अभावमा यसबारे विस्तृत अनुसन्धान हुन सकेको छैन । संविधानमा असहमति जनाउँदै नाकाबन्दी लगाएर इन्धन आपूर्तिमा भारतले अवरोध गरेपछि मात्रै तत्कालीन केपी ओली नेतृत्वको सरकारले चीनलाई पेट्रोलियम अन्वेषणमा भित्र्याउन पहल गरेको थियो ।
चैत ०७२ मा तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा द्विपक्षीय सम्झौता भएको थियो । त्यही सम्झौतामा टेकेर चिनियाँ टोलीले वैशाख ०७३ मा नेपाल आएर सम्भावित क्षेत्रका चट्टानलगायत नमूना चीन लगेको थियो । त्यसको रिपोर्ट आएको एक वर्षभन्दा बढी भइसक्दा पनि विस्तृत अन्वेषण हुन सकेको थिएन । अबको अन्वेषणले कम लागतमा पेट्रोलियम उत्खनन् गर्न सकिने क्षेत्र पहिल्याउने काम गर्ने खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार पेट्रोलियम खानी अन्वेषणका लागि एक करोड बजेट विनियोजन भएको छ । खानी अन्वेषणका लागि नेपालले झण्डै ४ अर्ब लागत लाग्ने प्रस्ताव पठाएकोमा चीन सरकारले अनुदान वापत २ अर्ब २० करोड छुट्याएको छ ।















प्रतिक्रिया