
काठमाडौं, १४ फागुन । प्रभु बैंक लिमिटेडले सैनिक कल्याणकारी कोष जंगी अड्डासँग शैक्षिक कर्जासम्बन्धी सम्झौता गरेको छ । बैंकले नेपाली सेनाका जेहेन्दार सन्ततिहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी मंगलबार सम्झौता गरेको हो ।
सम्झौता पत्रमा सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्फबाट उपरथी ताराध्वज पाण्डे र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरे ।
अब सम्झौता बमोजिम नेपाल सैनिक जंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि बैंकले सहयोग गर्ने भएको छ ।
सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सकल दर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय पढ्न प्रभु बैंकले अधिकतम् २५ लाखसम्मको कर्जा उपलब्ध गराउने भएको हो । प्राविधिक विषय अन्तर्गत चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तह रहेको छ ।















प्रतिक्रिया