
काठमाडौं, ९ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब आमाहरूले पनि कार चलाएर हिड्ने दिन छिट्टै आउने बताएकी छन् । अखिल नेपाल महिला संघ केन्द्रीय महिला हिंसा विरुद्धको अभियान र केन्द्रीय युवा समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘लैंगिक हिंसा अन्त्यको लागि विद्यमान कानुनी व्यवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले महिलाहरू आर्थिक रूपमा सशक्तिकरण हुने अभियान सञ्चालन गर्नुपर्ने भन्दै आर्थिक सशक्तीकरण अबको महिला आन्दोलनको दिशा हुनुपर्ने बताएकी हुन् ।
आयआर्जन गर्दै आर्थिक रुपमा आत्मनिर्भर बनाउदै अबको महिला आन्दोलन अगाडि बढाउनुपर्ने र त्यसका निम्ति ठूलो अभियानको आवश्यकता रहेको उनले औल्याइन् । ‘महिलालाई सम्पत्तिको मालिक कसरी बनाउने भन्नेतर्फ ध्यान जानुपर्छ । अब हाम्रो आमाले कार चलाउँछन्, उद्यम चलाउँछन्। साना उद्योग, व्यापार चलाउँछन्’, मन्त्री अर्यालले भनिन् ।
महिलाहरूलाइ सीप सिकाउँदै, उत्पादन, उद्यमशीलतामा जोड्दै आर्थिक सशक्तीकरणको अभियानमा लगाउनुपर्ने भन्दै मन्त्री अर्यालले त्यो अभियान सामुहिकतामा सहकारीमार्फत गर्नुपर्ने बताइन् । ‘प्रत्येक घरबाट सहकारीको सदस्य बनाउने र सामुहिकतामा हाम्रा ठाउँको सम्भावना पहिचान गर्दै उद्यमशीलतामा जोड्ने र आर्थिक आयआर्जन गर्ने अभियान सञ्चालन गर्नुपर्छ’, उनले भनिन, ‘कम लगानीमा पनि उत्पादन गर्न, उद्यमशीलता चलाउन सकिन्छ र त्यो सहकारीमार्फत सामुहिकतामा गर्न सकिन्छ ।’
अर्को प्रसंगमा मन्त्री अर्यालले राष्ट्रपति जस्तो संस्थालाई अनुचित रूपमा बिवादमा ल्याउने गलत प्रवृत्तिका विरूद्धमा बोल्न समेत आग्रह गरिन् । राष्ट्रपति भनेको विद्यालदेवी भण्डारी मात्र नभएर संस्था भएकाले संस्थाको सम्मान गर्नपर्ने उनको भनाइ थियो । उनले भनिन् ‘अनुचित कुरा ल्याएर संस्थामाथि प्रहार हुँदा तपाईहरु पनि बोल्नुस राष्ट्रपति व्यक्ति होइन संस्था हो ।’
मन्त्री अर्यालले नियतबस सरकार असफल बनाउने प्रयत्नविरुद्ध बोल्न आग्रह गर्दै पाँच वर्षमा यो सरकारले केही उथलपुथल ल्याउने दाबी गरिन् । सामाजिक सञ्जालको प्रयोग पनि सहि कार्यका निम्ति गर्नुपर्ने भन्दै उनले यो सरकारको मन्त्रीपरिषद्मा एकाध बाहेक सबै मन्त्रीहरूमा केही राम्रो गरौं भन्ने भावना भएका मन्त्रीहरू रहेको समेत दाबी गरिन् ।
नेपालको महिला आन्दोलन सुधारको क्षेत्रबाट शुरु भएको स्मरण गर्दै मन्त्री अर्यालले मुलुकको राष्ट्रपति बनाउने ठाउँसम्म पुगेको भन्दै अब प्रधानमन्त्री बनाउनेतर्फ लाग्नुपर्ने समेत बताइन् । अबको महिला आन्दोलनको दिशा भनेको परिवर्तीत अवस्थाअनुसार यसलाई ढाल्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री अर्यालले आजको परिवर्तनअनुसार अहिले पनि परिवर्तन हुन जरुरी भएको बताइन् ।
हिजो घर छाडेर झोला बोके राजनीति हुने अवस्था भएपनि अहिलेको अवस्था भनेको हरेक क्षेत्रको प्रतिस्पर्धामा आफूलाई खरो उतार्न सकिन्छ कि सकिदैन भन्ने महत्वपूर्ण हुने बताइन् । ‘हिजो एउटा क्षेत्रको ज्ञानले चल्थ्यो भने अब सर्व क्षेत्रको ज्ञान आवश्यक हुन्छ। त्यसकारण चुनौती थपिएको छ’, मन्त्री अर्यालले भनिन्, ‘प्रतिस्पर्धी क्षमताको विकास गर्ने, अवसर पाएकाले क्षमताको विकास गर्ने। अवसर पाए भने महिलाले गर्नसक्छन भन्ने कुरा सावित गरेर देखाउनुस।’












प्रतिक्रिया