
काठमाडौं, ८ फागुन । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा जनताले कुनै किसिमको नतिजा नपाएको आरोप लगाए ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उनले भने, ‘कुनै पार्टीसँग नजोडिएका पशुपति शर्माले जनताको भावना बोकेको गीत गाउँदा यो सरकार डरायो, पछिल्लो ५६ घण्टा त शर्माको गीतले नेपाल तातेको छ । उनले गाएको गीत धेरै कुरा जनताको भावनाको दर्पण हो ।’ ओली सरकार एउटा गीतको पछाडि लाग्नु भनेको अराजकता देखाउनु भएको पनि उनले टिप्पणी गरे ।
राष्ट्रपति धेरै महँगो भएको कुरा गीतमा समावेश हुँदा के नराम्रो भयो त ? भन्दै उनले प्रश्न गरे । फरक प्रसँगमा उनले नेपालमा राजा आउने वा नआउने भन्ने कुरा त्यसै भन्न नसक्ने बताए । उनले भने, ‘आउने कुरालाई म महत्व दिन्न । अहिले भएको विसंगतिको कारणले गर्दा केही नेताहरु राजसंस्थाको कित्तामा पुगेका छन् । तर, तिनीहरु असली राजावादी होइनन् । राजाको नाम भजाएर खाने धेरै छन् ।’
नेपालको आन्तरिक कारणले राजसंस्था आउनै नसक्ने उनको ठोकुवा छ । तर, बाहृय कारणले राजसंस्था आयो भने कसैले रोकेर पनि रोक्न नसक्ने उनले दाबी गरे ।
कार्यक्रममा संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले सरकार सफल वा असफल भन्नुभन्दा पनि व्यवस्था नै असफल भएको दाबी गरे । उनले भने, ‘धर्मनिरपेक्षता र संघीयता लागु गर्दा जनताको मत लिइएन । अहिले लोकतन्त्र र संघीयता दुवै फंक्शनिङ छैन ।’ सरकारले विभिन्न निकायमा नियुक्ति गर्दा ज्ञाताहरुलाई नियुक्त नगरेको पनि उनले गुनासो पोखे ।
उनले २१ अर्बका ९ सय ६ वटा ठेक्कापट्टामा ६ सय २३ परियोजनाहरु अहिले लथालिंक अवस्थामा रहेको पनि सुनाए ।












प्रतिक्रिया