
झापा, ६ फागुन । लोक गायक पशुपति शर्मालाई सत्ताधारी नेकपाको युवा संगठन मध्ये एउटा युवा संघ नेपालका केही पदाधिकारीले गीत हटाउन दिएको दबाबबारे प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लाका बासिन्दा नै असन्तुष्ट छन् ।
नेपालको राजनीतिक अवस्थालाई चित्रण गर्नेगरी गायक शर्माले केही दिन अघि ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट’ बोलको गीत र म्युजिक भिडियो युट्युवमा सार्वजनिक गरेका थिए । केही दिनमा नै लोकप्रिय बनेको उक्त गीतमा सरकारले अघोषि प्रतिबन्ध लगाएको थियो । जसको चर्चा बालुवाटारमा भएको थियो ।
‘कुनै पनि गायक र गीतका सर्जकको सृजनामा तानाशाही प्रवित्तिले आक्रमण हुनु र त्यसलाई सत्ताको आडमा सहयोग गर्नु दुर्भाग्यपूर्ण हो, हामी नेपालको अवस्थालाई चित्रण गरेको उक्त गीतप्रतिको राजनीतिक आक्रमणको निन्दा गर्दछौं’, झापा शनिश्चरेका गोपाल भट्टराईले भने,‘युवा संघका केही पदाधिकारीका कारण आफूले गीत हटाएको बताएका गायकले नाम खोलेर त्यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्छ ।’
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले तत्काल हटाइएको उक्त गीत युट्युवमा अपलोड गर्नका लागि गायक शर्मालाई आग्रह गरेको थियो । प्रतिष्ठानले राज्य र उसका प्रतिनिधिले गरेको धम्कीपूर्ण दबाबमा नतर्सिन भनेको थियो ।
विर्तामोड नगरपालिकाबासी जीवन कटुवालले आफू नेकपा कार्यकर्ता भए पनि शर्माको गीतप्रति राज्यले गरेको प्रहारको भत्र्सना गरिरहेको बताए । उनी भन्छन्,‘गीत त सृजना हो, जसरी हामी नेपालीले भोगीरहेको हरेक दिनको कथालाई यहाँ उनिएको छ । केही शव्द तलमाथि पर्न सक्छन् तर त्यसलाई कारण बनाएर राज्यले दबाब दिन मिल्दैन ।’
केही स्वतन्त्र नागरिकहरूले राज्यको दमनविरुद्ध उक्त गीत बजाएर प्रतिकात्मक विरोधका लागि आह्वान पनि गरेका छन् । कतिपयले आइतबार राजधानीको माइतिघर मण्डलामा गीत बजाएर विरोध गरेका थिए ।
यता, झापा गौरीगञ्जका मदन अधिकारी भन्छन्,‘हाम्रा जिल्लाका प्रधानमन्त्री भएका बेलामा कलाकारमाथि हुने यस्तो अत्याचारको विरोध गर्ने अवस्था नआओस् भन्ने थियो । आफू पनि कलाकार भएका हिसाबले अन्याय देखेर बस्न सकिएन ।’












प्रतिक्रिया