५ कार्तिक २०८३, बिहिबार

लोक गायक शिव हमाललाई ‘दम्भ’ पलाएपछि…

12k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनेकै नाम हो– शिव हमाल । उनी गीतकार, संगीतकार र गायक हुन् । उनका गीत सबैभन्दा चलेका छन् । तर, आफूलाई पहिलो नम्बरमा गायकको श्रेणीमा राख्न रुचाउँछन् । ‘गीत लेखन त मेरो तेस्रो पक्ष जस्तो लाग्छ’, दैनिक नेपालसँग भने ।

स्याङ्जामा रहँदा झ्याउरे भाका, गाउँका साना–साना कार्यक्रम, भजन मण्डलीमा रमाउने गरेका उनी विस्तारै चर्चा बटुल्न सफल भए । त्यहाँ रहँदा उनमा एउटा दम्भ पनि पलायो – अब मचाहिँ निक्कै प्रख्यात भएँ, काठमाडौं हल्लाउँछु ।

०६० तिर जब काठमाडौं आए, उनलाई काठमाडौंले बस्न पत्यायो, उनको तत्कालिन दम्भ चकनाचुर बनाइदियो । संघर्षबिना केही पनि हुन नसक्ने भन्ने उनमा ज्ञान पलायो । जिविकोपार्जनका लागि विभिन्न दोहोरी साँझमा जागिर गर्न थाले । तर, त्यो अभिमानभित्र कहिँ न कहिँ लुकेको प्रतिभालाई बाहिर ल्याउने, संसारलाई चिनाउने उनीभित्रको रहरको हत्याचाहिँ गरेनन् । ‘कहिलेकाहीँ पेसा परिवर्तन गरौं भन्ने पनि लाग्यो होला तर रहर परिवर्तन गरौं भन्ने सोचिन’, हमाल भन्छन्,‘त्यसैले निरन्तर यहि क्षेत्रमा सक्रिय भइयो ।’

खासगरी लोक दोहोरी क्षेत्रमा हमाल चर्चित नाम हो । उनी लोकदोहोरी राष्ट्रिय प्रतिष्ठानका सर्वाधिक मत ल्याउने केन्द्रीय सदस्य पनि हुन् । अर्को, लोक दोहोरी क्षेत्रको रोयल्टीका विषयमा अध्ययन गर्ने संस्थाका सक्रिय सदस्य हुन् ।

शिव हमालको राष्ट्रव्यापी परिचय भने ०६४ सालदेखि बन्यो । एउटा सीमामा घेरिएर बसेका उनको रहरको पोको त्यसैबेला फुकेको थियो जब उनको देउरालीको भट्टी पसल भन्ने एल्बम अत्यधिक बिक्रि भयो । तर त्यसअघि आफ्नो सोचाईप्रति पनि उनी खुले ।

‘म हाइफाई, स्टारडममा जीवन बाँच्नुपर्छ भन्ने ठान्थें । फूटबलर बन्ने हो की अन्य केही त्यो सपना थियो’, उनी भन्छन्,‘तर जीवन त संघर्ष रहेछ भन्ने लाग्यो, काठमाडौं छिरेपछि संघर्षको काम सुरु भयो ।’

०६४ सालमा गायक रामजी खाँणसँग मिलेर उनले एल्बम निकाले । शिव ढकाल र जया विकका लागि लेखेको पहिलो गीत नै उनको व्यावसायीक उडानको कारक बन्यो । ‘तीन हजार रूपैंया पाएँ । त्यसपछि म यो दौडमा अझ अग्रसर भएर अगाडी बढें’, उनले सुनाए ।

उनी प्रत्येक खुड्कीला चढ्दै जए । आजको दिनसम्म आइपुग्दा हालै रिलिज भएको लालुमै अहिले युट्युवमा चर्चामा छ ।

मनपरेको फूल, देउरालीको भट्टी पसल, पछ्यौरी लेऊ बैना, रक्षा गर हरि, स्वार्थी संसारमालागयतका गीतले उनको परिचयलाई स्थापित गरेको थियो । उनी भन्छन्,‘करिअरमा अघि बढ्नका लागि हरेक बर्ष मैले गाएका, लेखेका संगीत गरेका गीतलाई स्रोता दर्शकले रुचाउनु नै हो ।’

सवालजवाफ दोहोरीका प्रखर हमाललाई लाग्छ– लोक दोहोरी भनेकै गाउँ बस्तीका मिठा भाका र लोकले प्रयोग गर्ने शव्दको बजारीकरण हो ।

‘मेरी आमाले वा ग्रामिण बस्तीमा दाउरा घाँस गर्न जाँदा निकालेका भाका र शव्दको बचाऊको काम दोहोरीले गरेको छ’, तर आजभोली उच्छृङ्खल शव्दको प्रयोग बढेको भनी आलोचना बढेको प्रति उनको टिप्पणी छ,‘गीत त श्रृङ्गारिक हो, फिल्मका दृश्यदेखि अन्यत्र पनि देखिन्छन् । तर बढी चर्चा दोहोरीमा आएका कारण भयो ।’

आफ्नो रगतमा नै लोक भाका र दोहोरी गीत रहेको दाबी गरेका उनी प्रशंशाका भोका होइनन् । बरु, आफ्ना कमजोरी खुट्याइदिनेलाई धन्यवाद दिने प्रकृतिका छन् । भन्छन्,‘मेरा गीत सुनेर राम्रा मात्र होइन, समिक्षाका हिसाबले प्रतिक्रिया आउँदा म खुशी हुन्छु ।’

गीत चल्नुलाई ४० प्रतिशत भाग्य र ६० प्रतिशत मिहेनत रहेको ठान्छन् । मिहेनत गरीसके पनि स्रोता बनेर गीत सुन्ने बानी छ, उनको । भन्छन्,‘आफ्नो मिहेनत त सबैलाई राम्रो लाग्छ । तैपनि म स्रोता बन्छु । र, बाँकी जिम्मा भाग्यलाई दिन्छु ।’ नभन्दै न उनको काममा मिहेनतको कमी देखिन्छ न भाग्यले उनलाई ठग्ने मौका पाउँछ ।

अहिलेसम्म १३ सय भन्दा बढी गीत लेखन, संगीत संयोजन र गायन समेत गरिसकेका उनको अहिलेको आग्रह भनेकै भर्खरै रिलिज भएको लालुमै भन्ने गीत सुनिदिनु र प्रतिक्रिया पढ्न पाउनु हो । भन्छन्,‘स्रोता दर्शक नै निर्णयकर्ता हुन् । यत्ति मेरो आग्रह हो ।’

https://youtu.be/C-7_BRIJqfw