
शनिबार भनेपछि यसैपनि अल्छि लाग्छ । मन अल्छि भइदिन्छ ।
शनिबार विदा हो भन्ने कुराले मनमा डेरा जमाउँदो हो सायद । हामी अभ्यस्त भएका हुँदाहौँ– यो कुरादेखि । शनिबार इक्वेल टु बिदा !
मेरा लागि भने हरेक बार शनिबार जस्ता लाग्छन् । न जाने कुनै ठाउँ छ, न गर्ने कुनै काम । पुराका पुरा बेरोजगार छु । यसैपनि अल्छि लाग्ने नै भयो ।
तर, आजको शनिबार त्यस्तो महसुस भएन । पुरै फरक बनेर उदाएको थियो आजको घाम । बिहान चाँडै उठेँ । किन किन हलुङ्गो महसुस भईरहेको थियो । आज, झण्डै एक महिनापछि चिया पकाउने जाँगर आयो । मनमा एक किसिमको स्फूर्ति छ ।
आफूले प्रेम गरेको मान्छेका हरेक कुरा प्रेमिल नै लाग्दा हुन् सायद । कसैलाई नभनेरै प्रेम गर्नुको मजा छुट्टै हुँदोरहेछ । उसले पनि आफूलाई प्रेम गरेको छ भन्ने आभाष हुँदोरहेछ । बरु, त्यो भ्रम नै किन नहोस् ।
सृष्टिसँग नभेटेको पनि धेरै भईसकेकोे थियो । बेलाबेला फोनमा कुरा भईरहन्थ्यो । हुन त खास भेट्नैपर्ने विशेष सम्बन्ध पनि थिएन । तर, मनले कता कता आफूलाई उसको विशेष भएको सम्झिन्थ्यो । उसले मप्रति गर्ने व्यवहार, मलाई राख्ने ख्याल र दर्शाउने आत्मीयताले मनलाई झन बल पुग्थ्यो ।
हुन त म प्रेम गर्थेँ सृष्टिलाई । आफूले प्रेम गरेको मान्छेका हरेक कुरा प्रेमिल नै लाग्दा हुन् सायद । तर, भन्न सकेको थिइनँ । भन्ने आँट कहिल्यै आएन । कसैलाई नभनेरै प्रेम गर्नुको मजा छुट्टै हुँदोरहेछ । उसले पनि आफूलाई प्रेम गरेको छ भन्ने आभाष हुँदोरहेछ । बरु, त्यो भ्रम नै किन नहोस् ।
साँच्चै भ्रममा बाँच्नुपनि मीठो लाग्दोरहेछ । आफूले प्रेम गर्ने कुरा उसलाई कहिल्यै भन्न सकिनँ । बस्, प्रेम गरिरहेँ । भनेनी, कसैलाई थाहै नदिई प्रेम गर्नुको मजा छुट्टै हुँदोरहेछ ।
पछिल्लो समय फोनमा अलि बाक्लै कुरा हुन थालेको थियो । धेरैजसो त उसैले गर्थी । म बेरोजगार छु भन्ने उसलाई राम्ररी थाहा थियो । त्यसैमा झन गाउँको सामान्य परिवारबाट आएर काठमाण्डौं बसेको छु । विद्यार्थी हुँ, फुर्तिफार्ति गर्ने पैसा मसँग हुँदैन । कतिदिन गाडी भाडा नभएर पैदल हिँडेको छु । धेरै छाक एउटा चाउचाउको भरमा काटेको छु ।
कास ! यो काठमाण्डौंमा बेरोजगार भएर बस्नुभन्दा ठूलो पीडा सायद छैन !
…
केही महिना अघि एउटा मार्केटिङ कम्पनीमा काम गर्थेँ । कम्पनीले उत्पादन गरेका आर्युवेदिक औषधी बोकेर गल्लीगल्ली, चोकचोक डुल्नुपर्थ्यो । भनेको समयमा तलव नदिने र सम्झौताभन्दा थोरै तलव आउन थालेपछि छोडिदिएँ । छोड्नुको खास कारण भने अर्कै थियो ।
म गलत कुरालाई सही भनेर प्रचार गर्नै सक्दिनँ । मैले त्यसरी औषधी बेचेको मान्छे सन्चो भएको कोही भेटिन । र, मलाई विश्वास पनि थिएन कि, त्यो औषधीले बिमार सन्चो पार्ला । पैसाका नाममा अरुको स्वास्थ्यमाथि खेलबहाड गर्न मनले सकेन । बरु, कामै छोडेर बसिदिएँ ।
साथी भन्थ्यो–काठमाण्डौंमा बाँच्न एकदम सजिलो छ । बरु, मर्न गाह्रो छ । बाँच्नलाई काम जति पनि पाइन्छ । एउटा जिन्दगी चलाउन पीर गर्नै पर्दैन । बरु, मर्न गाह्रो छ । देखिनस्, आर्यघाटमा लाशको लाइन ?
अहिले पुरा तीन महिना भो बेरोजगार बसेको । जसोतसो चलेको छ जिन्दगी । पहिलेको अलिअलि पैसा बचेको थियो, त्यसैको भरमा आजसम्म टिकियो । अब उप्रान्त के हुने हो केही सोचेको छैन । अर्काे एउटा मार्केटिङ कम्पनीबाट कामको लागि साथीले कुरा गरेको थियो । तर, अस्विकार गर्दिएँ । अघिल्लो कम्पनीको झल्को आइरह्यो ।
कहिलेकाँही आफैलाई प्रश्न गर्छु–गाउँबाट आएको एउटा मामुली गरिबको यत्रो घमण्ड ? काम गर केटा काम ! के सही के गलत बिर्सिदे सब । पैसा छ दुनियाँ छ, पैसा छैन दुनियाँ छैन । तँ एउटा सही सोचेर दुनियाँ सही हुने होइन !
दिमागको बाँया कुनाले बेला बेला यस्तै भन्थ्यो । तर, निर्णय लिन सकिनँ ।
गरिबीको होडिङबोर्ड देखाउँदै गलत कुरालाई सही भनेर विज्ञापन गर्न मनले मानेन ।
बरु, गावैँ फर्किन्छु । साला ! यो काठमाण्डौंमा इमान बेचेर पटक्कै बाँँच्न मन छैन । साथी भन्थ्यो–काठमाण्डौंमा बाँच्न एकदम सजिलो छ । बरु, मर्न गाह्रो छ । बाँच्नलाई काम जति पनि पाइन्छ । एउटा जिन्दगी चलाउन पीर गर्नै पर्दैन । बरु, मर्न गाह्रो छ । देखिनस्, आर्यघाटमा लाशको लाइन ?
साला ! जल्नलाई पनि पालो कुर्नुपर्छ । जल्नलाई पनि लाइन लाग्नुपर्छ !
जिन्दगीमा सुख कहाँ छ ? मान्छेलाई मरेपछि पनि सुख छैन । सुखको पछि नदौडे यार । हामीजस्ताले झन सुख खोज्ने म्याराथुनमा भाग नलिएकै राम्रो । हामी कहिल्यै धावक बन्न सक्दैनौँ । जहिले पुच्छारको पुच्छार मात्र । सुख खोज्दा खोज्दा आफैसँग भएका बाँकी सुख र खुशीहरू पनि गुमाईसक्छौं । बरु, खुशी हुन सिक् । सुख र खुशीको अन्तर छुट्याउन सिक् ।
इ: देखिनस् मलाई ! के छ मसँग? केही पनि छैन । तर, लाग्छ यो काठमाण्डौंमा बस्ने लाखौं मान्छेहरूमा सबभन्दा खुशी म नै हुँला ।
मेरा पुस्ताले नाम मात्र सुने । म त्यही ठाउँमा आएर बसेको छु । जसोतसो छाक गुजारेकै छु । बाँच्नलाई केही गाह्रो छैन । हरेक पाइलामा अवसर भेटिन्छ । बस्, अवसरलाई चिनेर आफूले समात्न सक्नुपर्छ । भगवानसँग यत्ति कामना छ,–अस्पताल भर्ना हुनेगरि कहिल्यै बिरामी हुन नपरोस् !
हुन पनि हो । आर्यघाटमा लाश पोल्न पनि पालो कुर्नुपर्छ । गाउँबाट बिरामी भएर आएका मान्छे मरे वा विदेश गएकाहरू मेरेर फर्किए भन्ने खबर पाएसम्म आर्यघाट पुग्छु । उसका आफन्तले फलानो पनि आएको थ्यो भन्ने हेक्का राख्लान्, नराख्लान् ।
यो दौडधुप, तेरो–मेरो, वैमणस्यता ! सब केका लागि ? मरेपछि पनि लाइन लाग्न ? हरेक मान्छे किन खरानी हुनुभन्दा पहिल्यै आफ्ना खराब बिचारहरूलाई खरानी बनाउन सक्दैन ?
आत्मसन्तुष्टिका लागि पनि जान्छु । आफ्नो जिल्लाको भनेपछि यसैपनि जान मन लागिहाल्दो रहेछ । मनमा एउटा आत्मीयता जाग्दो रहेछ । सोच्छु, कमसेकम लाशले त याद गर्ला । मलाई भोलि मरेपछि पनि बाँच्नुछ । किन बेकार लाशसँग दुश्मनी गर्नु ! आखिर, मलाई पनि जानु त्यहीँ छ !
र, जिन्दगीलाई नजिकबाट बुझ्न पनि आर्यघाट पुग्छु ।
पशुपतिबाट फर्केको दिन किनकिन भोकै लाग्दैन । न, खाना पकाउने जाँगर नै चल्छ ।
यो दौडधुप, तेरो–मेरो, वैमणस्यता ! सब केका लागि ? मरेपछि पनि लाइन लाग्न ? हरेक मान्छे किन खरानी हुनुभन्दा पहिल्यै आफ्ना खराब बिचारहरूलाई खरानी बनाउन सक्दैन ?
मनमा प्रश्नहरू घुमीरहन्छन्, रोटेपिङजस्तो !
सृष्टिलाई मेरो हालतको बारे राम्रै थाहा थियो । सम्झाउँथी । काम खोज्दिने आश्वासन दिन्थी । बेला बेला रिजार्च हालिदिन्थी । ‘घरमा फोन गर्नू तर, बाआमालाई चिन्ता थपिने गरी कुरा नगर्नू’ सृष्टि भन्थी, ‘यता सब ठीक छ भनेर भन्नू ।’
सब ठीक छ ?
आफैँलाई गिज्याए जस्तो लाग्थ्यो यो कुराले । के ठीक छ ? कसरी ठीक छ भन्नू ?
तर, सृष्टिले भनेजस्तो बाआमालाई चिन्ता थपिने गरि कहिल्यै कुरा गरिन । सोचुन् न छोरो काठमाण्डौंमा आनन्दले बसेको छ !
घरमा फोन गरेर भन्थेँ–‘मेरो सब ठीक छ । पढाईसँगै काम पनि गर्दैछु । पैसा बच्यो भने घरमा पनि पठाइदिउँला ।’
तर, अहिलेसम्म घरमा एक रुपैयाँ पठाउन सकेको छैन । भए पो पठाउनू !
साँच्चै मैले घरमा पैसा पठाउने दिन आउला ?
…
कोटेश्वरको आकाशे पुल कटेपछि बाटोको बाँया छेऊ स्कुटर घ्याच्च रोकियो । उसैले रोकेकी । हेल्मेटभित्रबाट आँखा छेउ लत्रिएको कपाल पन्छाई । चस्मा ननिकालिकनै चोर औंलाले बाँया आँखा मिचि । सायद, धुलो परेको हुँदो हो ।
‘तिमी चलाउँछौ ?’ पछाडी बसेको मलाई स्कुटरको एक्सिलेटतिर इंगित गर्दै सोधी ।
गाउँमा हुँदा साथीको मोटरसाइकल मागेर चलाउँथे । सदरमुकाम जाने–आउने राम्रैसँग गर्थेँ । तर, भिडमाडमा चलाउने अभ्यास गरेको थिइनँ ।
डर लाग्यो । उसको अघि डर देखाउनु पनि भएन । मभित्र कुन्नी के चिज छ त्यस्तो, जसले आफूलाई कतै न कतै अहम्कारी बनाइरहेको हुन्छ । जब पशुपति पुग्छु, सारा अहमहरु जलिसके जस्तो लाग्छ । तर, कतै न कतै बाँचेको हुँदो रहेछ । मान्छेको जस्तै अहमको पनि आत्मा हुँदो हो ?
‘हैन, पर्दैन । तिमी नै चलाउ न’, पन्छिने बाटो रोजेँ, ‘मेरो लाइसेन्स छैन ।’
उसैको योजनामा आज घुम्न जाँदै थियौँ हामी ।
एक हप्ताका बोझहरूबाट मुक्त हुनु थियो उसलाई । बिचरी साह्रै व्यस्त छ । बिहान–कलेज, दिउँसो–अफिस !
थोरै अगाडी पुगेका थियौं, फर्किनुपर्ने अवस्था आयो ।
मान्छेको हुल वरैबाट देखिएको थियो । सृष्टिले स्कुटी साइड लगाई । मान्छेको हुलभित्र पस्ने कोशिस गर्यौं । त्यहाँ, जुन दृश्य देखियो त्यसले मन खंग्रङ्ग भो । यस्तै २८ वर्ष जतिको केटा अनि, २४ वर्ष जतिकी केटी । दुवै जना सडकमा सुतिरहेका थिए । रगतको आहाल थियो । केटीको अनुहार चिन्न सक्ने अवस्थामा थिएन । दुवैले श्वास छोडिसकेका थिए । मोटरसाइकल सडकको बाँया किनारा उछिट्टिएको थियो । अगाडीबाट आउँदै गरेको टिप्परसँग ठोक्किएर दुर्घटना भएको रहेछ ।
पुलिसको भ्यान र एम्बुलेन्स आइपुग्यो । हामी फर्कियौं ।
‘अब कहाँ जाने ?’ तीनकुने पुग्दा नपुग्दै सृष्टिलाई सोधेँ ।
केहीबेर सोचेर जवाफ दिई, ‘उम्, चन्द्रागिरी जाउँ !’
हुन्छको सहमतिमा टाउको हल्लाएँ । चन्द्रागिरीको विषयमा रेडियोमा धेरैं सुनेको थिएँ । तर, जाने मौका मिलेको थिएन । मेरा लागि झन गज्जब भईहाल्यो । नयाँ ठाउँ जाने भईयो । उसो त, सृष्टिसँग जाँदा हरेक ठाउँ नयाँ लाग्छन् । हरेक पटक नयाँ लाग्छन् ।
टिकट लिइसकेपछि केवुलकार चढ्यौँ । संयोग कस्तो भने हामी चढेको केबुलकारमा अरु कोही यात्रु थिएनन्, शिवाय सृष्टि र म । केवुलकार जीवनमा पहिलोपटक चढ्दै थिएँ । सायद, डराएको जस्तो देखिएको हुँदो हुँ ।
सृष्टिले सोधी, ‘डर ला’छ ?’
‘नाइ छैन ।’ प्रष्टिकरण दिएँ, ‘तर, पहिलोपटक चढेको यार !’
‘नडराउ, आउ यता बस् ।’ विपरित बसेको मलाई आफ्नो छेउमा बोलाई।
मोबाइल निकालेर सेल्फि खिची ।
‘थाहा छ दीपक ! जिन्दगीमा यस्तो पल फेरि नआउन पनि सक्छ’, अघि खिचेको फोटो सेभ गर्दै भनि ।
सोधें, ‘कस्तो पल ?’
‘जस्तो कि, तिमी र म यसरी सँगै बस्न पाउने ।’
‘आउन पनि त सक्छ ?’
‘कसरी आउँछ भन त ?’
त्यो त तिमीमा भर पर्छ ।’
‘मतवल ?’
‘मतलव, केही पनि होइन ।’ पन्छिन खोजेँ ।
‘हावा !’ रिसाएजस्तो नखरा पारि ।
केवुलकारभित्रबाट चन्द्रागिरीको जङ्गल, काठमाण्डौं उपत्यका नियाल्दै गयौं । मुनिपट्टि हेर्दा जिउ सिरिङ्ग हुन्थ्यो ।
‘अहिले लठ्ठो चुडिएर खस्यो भने के हुन्छ सृष्टि ?’ बीचमा पुगेको बेला सोधेँ ।
‘सिम्पल !’ सहजै भनी, ‘मरिन्छ नि, त्यति पनि थाहा छैन !’
‘तिमी र म सँगै मर्न त लेख्या छैन होला ।’ अलि जिस्किन खोजेँ ।
‘मतलव ?’
‘जसलाई सँगै बाँच्न त लेख्या छैन भने मर्न झन के लेख्या होला ?’
‘लेख्या पो छ कि ?’
‘के ? मर्न कि, बाँच्न ?’
‘जे पनि ।’ थोरै ग्रिनसिंग्नल दिई ।
झण्डै १०/१२ मिनेटपछि चन्द्रागिरी हिल्समा पुगियो ।
काडमाण्डौंलाई किन खाल्डो भन्छन् भन्ने कुरा यहाँ आएपछि पो थाहा हुँदोरहेछ । सोचेकै थिइनँ काठमाण्डौं यति खाल्डोमा छ भनेर । चारैतिर पहाडै पहाड । बीचमा कचौरा जस्तो पो लाग्दो रहेछ काठमाण्डौं उपत्यका ।
काठमाण्डौंका शिरमा यति धेरै हिमाल होलान् भनेर सोचकै थिइनँ । तर, चन्द्रागिरीबाट देखिने हिमालको दृश्यले मन निकै लोभ्यायो ।
‘ऊः त्यो चाहीँ गणेश एभरेष्ट’ सृष्टि मलाई हिमालहरू चिनाउँदै थिई, ‘अनि, ऊः त्यो चाहीँ माछापुच्छ्रे ।’
भालेश्वर महादेव मन्दिरको दर्शन गर्यौँ ।
दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँ सतिदेवीको शिर पतन भएको थियो, त्यस ठाउँमा भालेश्वर महादेव उत्पन्न भएको किंवदन्ती रहेछ ।
भालेश्वर महादेवको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेछ । जुन कुरा भालेश्वर मन्दिर अगाडीपट्टी शिलालेखमा लेखिएको थियो ।
धर्मप्रति र धार्मिक अनुष्ठाले फल प्राप्त हुने कुरामा खासै विश्वास गर्दिन । तर, आज किन किन मनले केही माग्न चाह्यो । विश्वास गर्न चाह्यो । जिन्दगीमा अहिलेसम्म भगवानलाई नसम्झेर पो दुःख पाइएको हो कि भन्ने लाग्यो । भगवानलाई सम्झिदैमा मनोकांक्षा पूरा हुन्छ भने किन नसम्झिउँ भन्ने लाग्यो ।
सृष्टिले के मागी थाहा छैन । झण्डै डेढ मिनेट जति आँखा चिम्म गरेर मैले एउटै कुरा मागिरहेँ –हे भगवान ! मलाई सृष्टि देउ !
मैले आँखा खोलिसक्दा पनि ऊ दुई हात जोडेर आँखा चिम्लिरहेकी थिई ।
‘भगवानसँग के माग्यौ सृष्टि ?’, पूजा सकेर फनपार्कतिर झर्दै गर्दा सोधेँ ।
‘जे मागेकी छु राम्रै मागेकी छु !’, उसले भनि, ‘जुन दिन पूरा हुन्छ, त्यही दिन भन्छु ।’
थप सोध्न मन लागेन ।
‘मैले त तिमीलाई मागे सृष्टि !’, उसले तिमीले के माग्यौ ? भनेर सोधेको प्रश्नमा बडो हिम्मतका साथ भनेँ, ‘हो, सृष्टि म तिमीलाई मन पराउँछु । माया पनि गर्छु । मन पराउनु र माया गर्नु अलग कुरा हो । माया गर्नु र घरजम गुर्न अलग कुरा । म तिमीसित यो सबै गर्न चाहान्छु । तिमीसितको एउटा मीठो सपना साँचेर बाँचेको छु ।
म चरा बनेको छु सृष्टि ! तिम्रो मनको निलो आकाशमा उड्नका खातिर । विश्वास छ, मलाई निस्फ्रिकि उड्न दिनेछौ । सके, पखेटा थपिदिनेछौ । नसके, पखेटा काट्ने छैनौ । म गौँथली बनेको छु सृष्टि ! तिम्रो मनको घरको सिलिङमा आफ्नो घर बसाउन खोजेको छु । विश्वास छ, तिम्रो मनको बार्दलीबाटै मलाई हटाउने छैनौ ।
तिमीले मलाई राख्ने ख्याल, दर्शाउने प्रेमिल व्यवहार । यी सबैलाई मैले मायाका पर्यावाची ठानेको छु । तिमीभित्र पनि कतै न कतै मेरो लागि ठाउँ छ भन्ने विश्वासमा बाँचेको छु । सायद, त्यो भ्रम नै किन नहोस् । कतिपटक तिमीलाई मनको कुरा भन्न खोजेँ तर, सक्दै सकिन । उपयुक्त मौका पनि मिलेन ।
आज, भालेश्वर महादेवलाई साँक्षी राखेर भन्छु, सृष्टि ! तिमीसँग जिन्दगी जिउने मीठो कल्पनामा बाँच्न थालेको धेरै भईसक्यो । बानी नै भईसक्यो कल्पनामा बाँच्न । तिमीलाई मेरो जिन्दगीबाट अलग गरेर हेर्नै सक्दिन म ? एउटा चराले उड्न खोज्नु के अपराध हो र ? एउटा गाैँथलीले घरको सिलिङमा घर बनाउनु के पाप हो ?
म चरा बनेको छु सृष्टि ! तिम्रो मनको निलो आकाशमा उड्नका खातिर । विश्वास छ, मलाई निस्फ्रिकि उड्न दिनेछौ । सके, पखेटा थपिदिनेछौ । नसके, पखेटा काट्ने छैनौ । म गौँथली बनेको छु सृष्टि ! तिम्रो मनको घरको सिलिङमा आफ्नो घर बसाउन खोजेको छु । विश्वास छ, तिम्रो मनको बार्दलीबाटै मलाई हटाउने छैनौ ।
र, हटायौ भनेपनि कुनै गुनासो रहने छैन । आखिर, एउटा मामुली मान्छे न हुँ म !
मनमा लामो समयदेखि रहेको खिल निकालेझैं हलुङ्गो भो । न्यायाधीशको अगाडी बयान दिएजस्तो सबै कुरा भनिदिएँ । अब फैसला गर्ने पालो सृष्टिको थियो । पुलुक्क उसको अनुहारमा हेरेँ । निकै सोचमग्न जस्तो र, केही भन्न खाजेजस्तो देखिई ।
सन्नाटा छायो । न ऊ केही बोली, न म नै केही बोल्न सकेँ ।
अबेर भईसकेको थियो । हामी फर्कियौँ ।
संयोग फर्किदा पनि केवुलकारमा हामी दुई जना मात्र भयौँ ।
‘मलाई साँच्चै माया गर्छाै दीपक ?’ चन्द्रागिरी जङ्गलको बीचमा आइपुग्दा ऊ बोली ।
‘सहमतिमा टाउको हल्लाएँ ?’ कतै अघिको मेरो कुराले उसलाई नराम्रो लाग्यो कि भन्ठानेर धेरै बोलिन ।
‘तिमीले कसरी मेरो मनको कुरा बुझ्यौ दीपक ?’ सृष्टि भन्दै गई, ‘थाहा छ, म पनि तिमीलाई माया गर्थेँ । तर, भन्न सकेकी थिइनँ । तिमी एकदमै ईनोसेन्ट लाग्छौ । मलाई तिमीजस्तै साधारण मान्छे मन पर्छ । तिमीलाई माया गर्ने कुराको संकेत मैले कतिपटक दिन खोजेँ तर, तिमीले कहिल्यै बुझेनौ । विश्वास थियो, एकदिन जरुर बुझ्नेछौ । र, आज तिमीले नभनेको भए, म मेरो कुरा भन्नेवाला थिएँ । तिमीले भनेर झन सहज बनाईदियौ मलाई ।’
लाग्यो, केवुलकार केही समय चल्न छोडिदेओस् । रोकियोस्, यही आकाशमा । जीवनको यो पल अझै अविष्मरणीय बनाउन सकौं । मनको क्यामरामा कैद गरौँ यो पल । जो वर्षाैँसम्म पनि उत्तिकै प्रिय लागोस् ।
मनमा खुशीको सीमा रहेन । परदेशमा मर्यो भनेको पती घर फर्केर आउँदा एउटी ‘विधुवा पत्नी’को हाल कस्तो भएको हुँदो हो । हो, म ठ्याक्कै त्यस्तै भएको हुँदो हुँ यो बेला ।
लाग्यो, केवुलकार केही समय चल्न छोडिदेओस् । रोकियोस्, यही आकाशमा । जीवनको यो पल अझै अविष्मरणीय बनाउन सकौं । मनको क्यामरामा कैद गरौँ यो पल । जो वर्षाैँसम्म पनि उत्तिकै प्रिय लागोस् । खैर, चाहेर पनि त्यो सम्भव थिएन ।
मन यसै चङ्गा भईरहेको थियो । वर्षाैंअघिको चाहाना पूरा भएजस्तो आभाष भइरहेथ्यो । एउटा खेलाडीले अन्तिम पलमा एक गोलको अग्रता दिलाएजस्तो ! एउटी आमाले शकुसल प्रसव चरण पार गरेजस्तो !
मसँग प्रयाप्त शब्द नै छैन, यो खुशीको वर्णन गर्न । जीवनमा पहिलो पटक व्याकरण अधुरो भएको महसुस गरेँ ।
‘थाहा छ दीपक ! मैले भालेश्वर महादेवसँग के मागेकी थिएँ ?’, कलंकी चोक पुग्नै लाग्दा स्कुटरको गती कम गर्दै उसले भनी, ‘मैले तिमीलाई नै मागेकी थिएँ !’















प्रतिक्रिया