
काठमाडौं, २९ माघ । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त राजदूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तर्राष्ट्रिय बजारीकरणमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् ।
स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रर्वद्धन गर्ने उनीहरुले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघले सचिवालयमा आयोजना गरेको राजदूतरुसँगको स्वागत तथा भेटघाटमा उनीहरुले आफूहरुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने प्रतिवद्धता जनाएका हुन् ।
नेपालको प्रतिनिधित्व गर्दै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, थाइल्याण्डका लागि नेपाली राजदूत गणेश प्रसाद ढकाल, युएन जेनेभाका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी, कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी, क्यानडाका लागि लागि नेपाली राजदूत भृगु ढुंगानाले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा साना उद्योगहरुको योगदानलाई बिर्सन नहुने बताए ।
महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले सरकारको ‘सुखी नेपाली–समृद्ध नेपाल’ को अभियानलाई साकार पार्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादन मुलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा जोड दिए । यस्ता उत्पादनहरुको निर्यात प्रवद्र्धनका लागि राजदूतहरुले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने उनले अपेक्षा व्यक्त गरे ।
कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान मध्ये ९० प्रतिशत हिस्सा साना उद्योगहरुको रहेको जानकारी दिदै कूल औद्योगिक रोजगारीको ७५ प्रतिशत रोजगारी र कूल औद्योगिक निर्यातको ८० प्रतिशत निर्यात यसै क्षेत्रबाट भएको बताए ।















प्रतिक्रिया