मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

सिराहा पुगेर प्रचण्डले भने-यहाँ आउँदा माइती आएजस्तै ‘फिल’ हुन्छ

रामकुमार शाही २०७५ माघ २८ गते १४:०८

-रामकुमार शाही/दैनिक नेपाल

काठमाडौँ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिराहा पुग्दा आफूलाई माइती आएको जस्तै ‘फिल’ हुने बताएका छन् ।

सोमबार सिराहाको महनौर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गर्न पुगेका प्रचण्डले सिराहासँगको आफ्नो साइनो स्मरण गरे । साथै, उनले महनौर स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति उपलब्धता र स्थानीयको मागका लागि आफूले सरकारसँग विशेष पहल गर्ने प्रतिवद्धता पनि जनाए ।

भूमीगत हुनु अगाडि पञ्चायतविरुद्धको आन्दोलनको बेला आफ्नो कार्यक्षेत्र सिराहा रहेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भूमिगत कालमा पनि पटकपटक सिराहा पुगेको बताए । त्यो बेला आफूले सिराहको कम्युनिष्ट आन्दोलन, त्यहाँका नेता र जनतासँग परिचित हुने मौका पाएको बताए ।

प्रचण्ड २०७० सालको संविधानसभा निर्वाचनमा सिराहा ५ बाट एमाले उम्मेदवार लीलानाथ श्रेष्ठलाई हराउँदै निर्वाचित भएका थिए । त्यसपछि उनी एकपटक प्रधानमन्त्री पनि भए । यसको सम्पूर्ण योगदान सिराहावासीको रहेको प्रचण्डको भनाई छ ।

‘२०७० मा मलाई यसै जिल्लाबाट संविधानसभामा निर्वाचित हुने अवसर प्राप्त भयो, तपाईहरु सबैको सहयोगले म निर्वाचित भएँ’, प्रचण्डले भने, ‘संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान पनि बन्यो, मलाई संविधान निर्माणमा सक्रिय भूमिका खेल्नका लागि सिराहा जिल्लाका जनताको प्रत्यक्ष भूमिका रह्यो, त्यसका लागि म तपाईहरुलाई विशेष धन्यवाद र बधाई भन्न चाहान्छु ।’

शान्ति प्रक्रियामा आएपछि २०६४ सालको संविधानसभामा निर्वाचनमा रोल्पा र काठमाडौँ १० बाट निर्वाचित भएका प्रचण्डले आफू आदिवासी जनजाती र मधेशी क्षेत्रबाट चुनाव जित्ने नेपालको एक मात्र कम्युनिष्ट नेता भएको दाबी गरे । सेना समायोजनपछि पार्टी टुटफुट भएको हुनाले २०७० साल आफ्ना लागि चुनौतीपूर्ण भएपनि सिराहाबाट निर्वाचित गराएको भन्दै उनले आभार प्रकट गरे ।

‘सेना समायोजन गरेपछि, हतियार व्यवस्थापन गरेपछि मेरै पार्टीभित्र पनि विभिन्न विचारहरु आए, पार्टी विभाजन भयो’, अध्यक्ष प्रचण्डले भने, ‘त्यस्तो जटिल र चुनौतीपूर्ण परिस्थितिमा तपाईहरुको प्रत्यक्ष मतद्वारा निर्वाचित भएर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा सक्रिय भूमिका खेल्ने अवसर प्राप्त भयो । त्यसकारण सिराहामा आउँदा मलाई कहीँ अन्त गएजस्तो लाग्दैन, एउटा छोरी आफ्नो माइती गएजस्तो लाग्छ, म पनि यहाँ आउँदा आफ्नो माइती आएजस्तो लाग्छ ।’

प्रचण्डले आफूले मधेशी जनताको हित र संविधान संशोधनका लागि लगातार प्रयत्न गरेको पनि बताए । उनले अहिले पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, आफू र उपेन्द्र यादवले मधेशी जनताको हित हुनेगरि संविधान संशोधन गरेर जाने सहमतिमा हस्ताक्षर गरेको स्मरण गराए ।

नागरिकताको समस्या सदाको लागि समाधान हुँदैछ

कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी मधेश र मधेशी जनताको पक्षमा रहेको जिकिर गरे । उनले नागरिकताको समस्या पनि सदाको लागि अन्त्य हुन लागेको बताए ।

अहिले नागरिकता सम्बन्धी विधेयक संसदमा प्रस्तुत भएर समितिमा छलफल चलिरहेको बताउँदै उनले भने, ‘नागरिकताको समस्या विगतमा जसरी थियो, त्यसलाई सदाको निम्ति अन्त्य गर्ने हिसाबले नै हामीले छलफल गरेका छौँ । छोराछोरीको नागरिकताको समस्या जुन थियो त्यो सदाका लागि समाधान हुँदैछ, नागरिकताको समस्या अब मधेशको समस्याका रुपमा रहने छैन ।’

नेकपाले मधेशमा पूर्वाधार विकासका लागि भनेर विशेष प्याकेज अगाडि सारेको प्रचण्डले सुनाए । उनले बाटो–घाटो, रेलवे लाइन विच्छ्याउन, सिँचाई र अन्य व्यवस्थापनको निम्ति झण्डै २ अर्ब बजेट मधेशका लागि छुट्याइएको पनि बताए ।

सिराहालाई आपँ जोन..
कार्यक्रममा अध्यक्ष प्रचण्डले सिराहाको आँप निकै स्वादिष्ट हुने प्रसंग पनि ल्याए । उनले सिराहाको आँपको माग विदेशमा पनि हुने बताउँदै अब सिराहालाई आँप जोनका रुपमा विकास गरिने बताए । यसका लागि आफूले कृषि मन्त्रालयलाई सिधै सल्लास र सुझाव दिने बताए ।

यस्तै, धान खेतीका लागि पनि सिराहा निकै उर्वर जिल्ला भएकोले धानको सुपरजोन बनाउन सहयोग गर्ने र अन्य समस्या समाधान लागि पनि लागिपर्ने प्रचण्डले विश्वास दिलाए ।

संविधान परिमार्जन गर्दै जाने

मेधशको हितका लागि पार्टी र सरकारको ध्यान गम्भीर रुपले केन्द्रीत भएको बताउँदै अध्यक्ष प्रचण्डले मधेशको विकासमा नेकपाले कम ध्यान दिन्छ कि भन्ने भ्रम नपाल्न आग्रह गरे । ‘कसैले त्यस्तो भनेको छ भनेपनि त्यो भ्रम हो, त्यसलाई विश्वास नगर्नुस्’, उनले भने ।

प्रचण्डले आफू र प्रधानमन्त्री ओली मधेशको विकास गरेर मात्रै मधेशी जनताहरुको आवश्यकता सम्बोधन गर्न सकिन्छ र त्यो कम्युनिष्ट पार्टीले मात्रै सक्छ भन्ने कुरामा स्पष्ट रहेको दाबी गरे ।

उनले समानुपातिक र समावेशी सिद्धान्तका आधारमा मधेशी जनताको विकास गरिरहेको बताउँदै यो अझै पर्याप्त नभएको र परिष्कृत गर्दै जाने बताए । ‘अझै हामीले संविधान संशोधन गर्दै, परिमार्जन गर्दै मधेशका सबै उपेक्षित वर्ग, समुदायको हक, अधिकारलाई सुनिश्चित गर्ने बाटो खुला छ’, प्रचण्डले भने ।

प्रतिक्रिया
सम्बन्धित