आइतबार, २७ माघ २०७५
DainikNepal.com
आइतबार, २७ माघ २०७५

वीपी उद्यान मासेर पार्क बनाउन लागिएको भन्दै काँग्रेसको आपत्ति

दैनिक नेपाल २०७५ माघ २७ गते १७:३८


काठमाडौँ, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वीरगञ्जमा वीपी उद्यानका लागि छुट्याइएको जग्गामा प्रदेश सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोमा आपत्ति जनाएको छ ।

उद्यानको जग्गामा सहिद पार्क बनाउने भन्दै गत माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेका थिए । यो जग्गा हाल वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा छ ।

माघ २४ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वीरगञ्जमा वीपी उद्यान निर्माणका लागि प्रस्ताव भइसकेको १० विघा जग्गामा शहीद स्मृति पार्क बनाउन लागेकोमा आपत्ति जनाए ।

‘बिपी कोइरालाको नाममा वीरगन्जमा गर्ने निश्चित भएको बिपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ हालै गरिएको शिलान्यास कार्यक्रमप्रति यो बैठक गम्भीर आपत्ति प्रकट गर्दछ’, केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ । नेपाली काँग्रेसले यस विषयमा केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउँदै वीपी उद्यान नै निर्माण गर्न आग्रह गरेको छ ।

२०६० साल कात्तिकमा तत्कालिन श्रम तथा यातायात मन्त्री डा. प्रकाशचन्द्र लोहनीले वीपी उद्यानको शिलान्यास गरिसकेको भन्दै अहिले अर्कै नाममा पार्क बनाउन खोज्नु आपत्तिजनक भएको काँग्रेसको भनाई छ ।

पत्रकार सम्मेलनमा बिपी उद्यान निर्माणका लागि छुट्याइएको जग्गाको लालपुर्जा समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित