आइतबार, २७ माघ २०७५
DainikNepal.com
आइतबार, २७ माघ २०७५

ओली–प्रचण्डबीच कुरा मिलिसक्यो : देवेन्द्र पौडेल

दैनिक नेपाल २०७५ माघ २७ गते १५:३३

काठमाडौं, २७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक हो । यसमा अब अल्झिनुपर्दैन ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यो विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारे । उनले भने, ‘नेपालस्थित् अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ । राजदूतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

नेता पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो समेत दिइसहेको खुलासा गरे । उनले भने, ‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नुहुँदैन ।’ पौडेलले हिजोमात्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच तीन घण्टा लामो भेटवार्ता भएको जनाए । उनले भने, ‘उहाँहरुबीच तीन घण्टा कुराकानी भयो । मिलेर जाने सहमति भएको छ । अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ ।’

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आगामी दिनमा मिलेर जानेबारे गम्भीर कुराकानी भएको पनि पौडेलले जनाए । उनले भने, ‘सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारे उहाँहरुबीच सहमति भएको छ । पार्टी एकीकरणको कामलाई दुवै अध्यक्षले पहलकदमी लिने र फत्ते बनाउने पनि गम्भीर कुरा भएको छ । पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उहाँहरुबीच कुरा भएको मैले पाएको छु ।’

फरक प्रसंगमा उनले पूर्वप्रधानमन्त्री, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले वक्तव्य जारी गर्दा शब्दहरु ख्याल गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘शब्दहरुको ख्याल पुर्याउनुपर्छ । अरु कुनैपनि राष्ट्रलाई चिढ्याउनुहुँदैन ।’

उनले नेपालले शान्ति प्रक्रिया मौलिक ढंगले टुँगो लगाउने काम गरिरहेको सुनाए । तर, केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु र केही संघ÷संस्थाहरुले यो विषयलाई उचाल्ने काम गरेको उनको आरोप छ । उनले भने, ‘संघरसंस्थाहरु भनेर मैले काँग्रेसलाई भन्न खोजेको होइन । काँग्रेस त शान्ति प्रक्रिया टुँगो लगाउन दृढ छ । हामी सबै मिलेर कोशिस गरिरहेका छौं ।’

नेता पौडेलले वर्तमान सरकार गठन भएको एक वर्ष पुग्न लागेको सुनाउँदै यो एक वर्षको कार्यकाल हेर्दा सरकार सापेक्षित रुपमा सफल भएको दाबी गरे । उनले भने, ‘सरकारको एक वर्ष सापेक्षित रुपमा सफल छ । तर, उत्साहजनक छैन ।’

प्रतिक्रिया
सम्बन्धित