२० कार्तिक २०८३, शुक्रबार

सर्वधर्मसापेक्ष सनातन हिन्दू राष्ट्रको लक्ष्य : अध्यक्ष थापा

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ, २६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले नेपाललाई सर्वधर्मसापेक्ष पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र निर्माण गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाले आज यहाँ आयोजना गरेको विराट धर्मसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले नेपालको पहिचानका रुपमा हिन्दू राष्ट्र रहेको उल्लेख गर्दै पहिचानको रक्षाका लागि नेपालका ७७ वटै जिल्लामा हिन्दुत्व जनजागरणसभा सञ्चालन गर्ने बताउनुभयो ।

राप्रपाले कुनै पनि धर्मको विरोधी नभई सबै धर्मलाई समानरुपमा अगाडि बढाउन चाहेको बताउँदै बहुसङ्ख्यक नेपाली जनताको भावनाको कदर हुने गरी अगाडि बढ्नुुपर्नेमा अध्यक्ष थापाले जोड दिनुभयो । “देशमा शृङ्खलाबद्धरुपमा धर्म परिवर्तनको लहर चलेको छ,” अध्यक्ष थापाले भन्नुभयो, “धर्म परिवर्तनलाई रोक्नका लागि राप्रपाले जनतालाई सचेत बनाउने उद्देश्यले फागुन १५ देखि ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गर्दैछौँ ।” -रासस