मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

‘ए_कता ?’ को कथा

निर्मल भट्टराई २०७५ माघ २६ गते १८:१८

–निर्मल भट्टराई
काठमाडाैं । मेरो गाउँमा पुराना कम्युनिष्ट नेता कमरेड धनपति (नाम परिवर्तन) बस्छन् । नेपाल कम्युनिष्ट पार्टीको सदस्यता कमरेड पुष्पलालको हातबाट लिएका उनी उमेरमा निकै सकृय रहेछन् । पार्टी विभाजन भएपछि आफ्नो पार्टी सदश्यता कायम राखेर आफ्नो सुतीखेतीमा लागेका रहेछन् ।

                  लेखक

पार्टीको संगठित राजनीति गर्न नसकेपनि उनी सधैं कम्युनिष्ट एकताको पक्षमा उभिँदै आएका छन् । विभाजित भएको कम्युनिष्ट आन्दोलनप्रति उनी विगतमा आक्रोशित हुँदै भन्ने गर्थे–“यिनीहरु के खान फुटेका ? यिनीहरु फुटेर दक्षिणपन्थीहरुको सधैं राज हुनेभयो ।”

पोहोर साल देशका मूलधारका कम्युनिष्ट पार्टी नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) एकीकरणको घोषणा भएको भोलिपल्ट म नउठ्दै मेरो घरमा कमरेड आएका थिए । उनको चाउरी परेको अनुहारमा अनुपम चमक देखिन्थ्यो । आठ दशक उमेर पार गरिसकेको शरीरमा सोह्रबर्षे युवा उत्साह देखिन्थ्यो ।

“जीवनमा आज जति खुसी म कहिल्यै भईन बुझ्यौ बाबु”–उनले भनेका थिए । मलाई स्नेहले उनी सधैं “बाबु” भनेर बोलाउछन् । तर म उनलाई “कमरेड” भनेर आफ्नो आदरभाव प्रकट गर्छु ।

“यो एकीकरण मुक्तिकामी जनतालाई सबैभन्दा खुसी पार्ने दिन बन्यो कमरेड”–मैले भनें ।

“राम्रो काम गर्यो भने अब कम्युनिष्टले रुस र चिनमा भन्दा लामो शासन गर्छ नेपालमा । दक्षिणपन्थीहरुको दाल गल्दैन अब । गरिबका दिन पनि यसरी फिर्दा रहेछन् । म त बाबु यो दिन नदेखि मर्छु जस्तो लागेको थियो । कम्युनिष्ट त झगडा गरेरै सिद्धिन्छन् कि क्या हो जस्तो थियो । के पी र प्रचण्ड त राजनेता रहेछन् । यिनीहरु झगडा गर्नमात्र जान्दछन् भन्ने लाग्थ्यो मलाई । यति चाँडो यिनीहरु मिल्लान् भन्ने त मेरो कल्पनामा पनि थिएन……..”

कमरेडको धारा प्रवाह रोकिएन । मैले सुनिरहें । दशकौंको विभाजन पीडाको विर्सजन गरियो सामुहिक रुपमा ।

आज विहान अचाजक कमरेड फेरि मेरो घरमा आए । पोहोर सालभन्दा निकै कमजोर भएछन् । चाउरी बढी, दम बढी, शरीर झन दुब्लो । अनुहारमा अधिल्लो सालमा देखिएको चमक पटक्कै थिएन । पाका कमरेडलाई ठूलै चोट परेजस्तो लागेर मैले सोधें–“हाल खबर के छ कमरेड ? सञ्चै त हुनुहुन्छ ?”

हाम्रा सबभन्दा विश्वास गरिएका नेताले अर्को माओवादी जन्मन सक्छ भनेर कसलाई घुक्र्याएको ? एउटा बच्चा जन्मन त कसैले गर्भवती गराउनु पर्छ, कसैले गर्भ बोक्नु पर्छ, कसैले सुत्केरी गराउनु पर्छ । अनि पार्टी जन्माउन त्यति सजिलो छ ?

कमरेडको मुहारमा आक्रोश दौडियो ।

बुढा त एक्कासी कड्किएर भने –“तिमीलाई मेरो हाल खबर बताउन आएको होईन । बरु पार्टी एकताको हाल खबर चाहिं के छ ? केही गडबड छ जस्तो छ नि !”

“खासै गडबड त छैन । ढीलो भएको मात्र हो । यत्रा ठूला पार्टीहरु माथिदेखि तलसम्म मिल्न त समय लाग्छ नि कमरेड ”–मैले भनें ।

“हेर बाबु अरुसँग जे गर मसँग चाहिं कुरा चपाएर नगर । म बुझ्दिन? हाम्रा सबभन्दा विश्वास गरिएका नेताले अर्को माओवादी जन्मन सक्छ भनेर कसलाई घुक्र्याएको ? एउटा बच्चा जन्मन त कसैले गर्भवती  गराउनु पर्छ, कसैले गर्भ बोक्नु पर्छ, कसैले सुत्केरी गराउनु पर्छ । अनि पार्टी जन्माउन त्यति सजिलो छ ? दुईवटा बनिसकेका पार्टी मिलाएर अर्को (नेकपा) पार्टी एक बर्ष भो अझै सशरीर जन्मन सकेको छैन । बुझ्नु पर्दैन ? मलाई त आज रातभरि निन्द्रा लागेन बाबु । अप्ठ्यारो बाटोमा गाडी सकुसल हाँक्नेले पीच रोडमा झन राम्ररी हाँके भएन ।”

“सुन्न त मैले पनि कमरेडले सुनेजस्तै नेताको कुरा सुनेको हो, तर यत्ति कुराले पार्टी एकतामा फरक कसरी पर्ला र ? फेरि यो एकता त नेतालाई भन्दा बढी कार्यकर्ता, सदस्य र सर्बसाधारण जनतालाई बढी चाहिएको छ । पार्टीले नेतृत्व गरेको सरकार श्रमजीवी जनतालाई बढी चाहिएको छ । जसलाई यो एकता, यो पार्टी र सरकार बढी चाहिएको छ, उनीहरुले नै पार्टी एकताको बाँकि काम सम्पन्न गर्छन् कमरेड ”–मैले थपें ।

कमरेडलाई तत्काल केही राहत महसुस भए पनि पार्टी एकताबारे उनको दिमागमा अनगिन्ती प्रश्न खेलिरहे जस्तो लाग्यो मलाई ।

ती कमरेडको मनमाझैं मेरो मनमा पनि पार्टी एकताबारे कयौं प्रश्न उब्जदै थिए ।

एकताको गौरबशाली ईतिहास रच्ने बेलामा अल्झिएको एकता प्रक्रियाको यथार्थ/काल्पनिक कथाले कतिदिन हैरान बनाउने हो अझै । उफ् !

प्रतिक्रिया
सम्बन्धित