शुक्रबार, १३ वैशाख २०७६
DainikNepal.com
शुक्रबार, १३ वैशाख २०७६

‘ग्रे एरिया’ राखेर कम्युनिस्ट पार्टी अगाडि बढ्न सक्तैन

ईश्वर पोखरेल २०७५ माघ २६ गते १४:१७

-ईश्वर पोखरेल

अहिले सरकार मात्र परिवर्तन होइन, प्रणाली परिवर्तन भएको हो । यसको संवैधानिक र राजनीतिक घोषणा त भयो (तर त्यस अनुरूप कानून र संरचनाहरू परिवर्तन वा अद्यावधिक भैसकेका छैनन् । गरिदैछन्÷हुँदैछन् । अहिलेको यो स्थितिले एउटा अन्तर्विरोध देखिँदैछ । अभ्यास र आदत एकातिर, अवस्था र आवश्यकता अर्कोतिर ।

सरकार मात्र परिवर्तन होइन, शासन सत्ताको माथिल्लो तह परिवर्तन भएको हो । स्थानीय तहका सरकार, प्रदेश तहका सरकार र संघीय सरकारमा कम्युनिस्टहरूले लोकतान्त्रिक विधिद्वारा घोषित रूपमा दुई तिहाइ हैसियत प्राप्त गर्नुले यसलाई स्पष्ट पारेको छ । तर यसलाई स्वीकार गर्न र पचाउन नसक्ने देशभित्र र बाहिर थुप्रै छन् । त्यस्ता धेरैको मन मुटु भत्भती पोलिरहेको छ ।

त्यस्ताहरूले अहिलेको विकसित स्थितिलाई पचाउन सकिरहेका छैनन् र हातमा पुल्ठो बोकेर झोस्न (डढेलो सल्काउन ज्यान फालेर लागेका छन्, पुल्ठो झोस्ने ठाउँहरू खोज्दैछन् । त्यस्तासित होशियार बन्नुपर्ने अहिलेको आवश्यकता हो । र, यो होशियारी नीतिमा, कार्यक्रममा, योजनामा र आचरणमा देखाउनु जरूरी छ ।

आमरूपमा आउने गरेका (उठ्ने गरेका प्रश्नहरू, जिज्ञासा, आशंका र आक्रोशलाई तिनै मार्फत जवाफ दिनु जरूरी छ । धेरै उत्कृष्ट लाग्ने राम्रा कुराहरू बोलेर भन्दा पनि एउटा सरदर राम्रो काम गर्दै अगाडि बढ्नु जरूरी छ ।

दुईटा कम्युनिस्ट पार्टीबीचको एकता
यो एकता कम्युनिस्ट आन्दोलनका कार्यकर्ताहरूको चाहना, कम्युनिस्ट पार्टीप्रति आशा अपेक्षा गर्ने आम नेपाली जनताको चाहना र राष्ट्रको आवश्यकतामा आधारित छ ।

एकताका सन्दर्भमा यी मूलतस् भावनात्मक पक्ष हुन् । एकतासित गाँसिएको सार पक्ष भनेको विचारको पक्ष, संगठनात्मक संरचनाको पक्ष र नेतृत्वको पक्ष हो । एकताको घोषणा गरिरहँदा यी विषयमा त्यति गहिराइका साथ छलफल हुन सकेन ।
अब सिंगो पार्टी पंक्तिले यी विषयलाई गंभीर महत्वका साथ लिँदै छलफल बहस गर्दै एउटा निष्कर्षमा पुग्नुपर्ने जरूरी छ । एकताको घोषणा गरिरहँदा सकारात्मक र सार्थक बहस र छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने विषयमा यसलाई उल्लेख गरिएको छ ।

आफ्नै देशको कम्युनिस्ट आन्दोलनबाट विकसित भएको, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट प्राप्त अनुभवहरूको निर्मम समीक्षाबाट निकालिएको निष्कर्ष बोकेको र दर्शन तथा सिद्धान्तले निर्देशित सुसंगत विचारको श्रृंखला बोकेको कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता हो । यस मामिलामा अलमलिएर वा यसमा ‘ग्रे एरिया’ राखेर कम्युनिस्ट पार्टी अगाडि बढ्न सक्तैन ।

सुदृढ संगठनात्मक संरचनाका बलमा मात्र कम्युनिस्ट पार्टीले आफूलाई एउटा शक्तिका रूपमा स्थापित गर्न सक्छ । यो श्रृंखलावद्ध कमिटी प्रणालीमा देखिनुपर्छ । कम्युनिष्टका नाममा भीड शक्ति हुन सक्तैन । विसर्जन्मुख भीड त झन् किमार्थ शक्ति हुनै, बन्नै सक्तैन ।

कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन, ल्याइनै हुँदैन । अझ, सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुरयाउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ ।

आज नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको ऐतिहासिक एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही बाटो हिंड्नुपर्छ । चुनौतीपूर्ण अभिभारा पुरा गर्ने ऐतिहासिक क्षणमा उभिएका कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले योग्यतापूर्वक यो काम गर्न सक्छन् कि सक्दैनन् ? यसैमा नेपालको कम्युनिष्ट आन्दोलन र सिंगो मुलुकको भविष्य गाँसिएको छ ।

टुट्न मात्र होइन, जुट्न पनि जानेका छन् भनेर आफ्नो परिचय बनाएका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले आगामी दिनमा यो ऐतिहासिक अभिभारालाई योग्यतापूर्वक पुरा गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित