शुक्रबार, २५ माघ २०७५
DainikNepal.com
शुक्रबार, २५ माघ २०७५

अरुण तेस्रो जलविद्युतको पावर हाउसमा बम विस्फोट

दैनिक नेपाल २०७५ माघ २५ गते १६:४५


काठमाडौँ, २५ माघ । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा बम विस्फोटन भएको छ । बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावर हाउसस्थलमा अज्ञात समूहले ३ वटा बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

बम विस्फोटनबाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ । पावर हाउस रहेको कार्यालयको करिब १ सय ५० मिटर टाढा तीनवटा बम विस्फोट भएको प्रहरीको भनाइ छ । बम विस्फोटन गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्याम सारुमगर मगर घटनास्थल पुगेका छन् । विष्फोट किन र कसले गरायो भन्ने अझै खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी र सेनाको व्यापक परिचालन गरिएको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट ५ घण्टा टाढा पर्छ । सञ्चार सेवा नभएका कारण अझै घटनास्थलको विस्तृत विवरण आइसकेको छैन । सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन गर्ने तयारी छ । बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित