काठमाडौँ, २५ माघ । पूर्वअर्थमन्त्री तथा नेकपा नेता भरतमोहन अधिकारीलाई ह्याम्स अस्पताल, धुम्बराहीमा सारिएको छ । एक महिनादेखि मेडिसिटी हस्पिटल नख्खुमा उपचार गराइरहेका उनलाई ह्याम्स सारिएको हो ।
उपचारबाट अपेक्षित लाभ नमिलेपछि ह्याम्स सारिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले बताएका छन् । मेडिसिटीमा अधिकारीको उपचारमा लापरबाही भएको आरोप समेत नेता थापाले लगाए । अहिले ह्याम्स अस्पतालमा अधिकारीकाे उपचारमा डा. भगवान काेइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत सहभागी छन् ।
‘बितेको एक महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको अनुभूति जो कोहीलाई भएको छ’, उनले नेता अधिकारीलाई ह्याम्स सारिएको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ।
अधिकारीको उपचार गराइरहँदा पनि अस्पतालले कुनै सूचना उपचार बुलेटिन ननिकालेको बताउँदै उनले प्रश्न गरेका छन्, ‘फोक्सोमा जमेको कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएको होला ?’
८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनप्रिय पूर्वअर्थमन्त्रीको उपचारबारे आवधिक रूपमा जनतालाई नै जानकारी गराउनुपर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालको जवाफदेहीताबारे बुझ्न समेत मुस्किल परेको थापाले उल्लेख गरेका छन् ।