शुक्रबार, २५ माघ २०७५
DainikNepal.com
शुक्रबार, २५ माघ २०७५

ओलीलाई प्रचण्डको कठोर जवाफ, दोस्रो तहका नेताहरू चिन्तित

दैनिक नेपाल २०७५ माघ २५ गते ८:०६

काठमाडौं । भेनेजुएला प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको कुरा सार्वजनिक रुपमा बाझिएपछि दोेस्रो तहका नेताहरूले चिन्ता जनाएका छन् ।

दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाको समर्थनमा जारी गरेको विज्ञप्तिलाई नेकपा र नेपाल सरकारले समर्थनमा एकै प्रकृतिको विज्ञप्ति जारी गरिसकेका छन् ।

विज्ञप्ति जारी भैसक्दा पनि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले भेनेजुएला प्रकरणमा प्रचण्डको टंग स्लिप भएको जनाएपछि विवाद बढेको हो ।

नेकपाका नेता युवराज ज्ञवालीले पार्टीभित्रका विवादलाई आन्तरिक बैठकबाट सुल्झाउनुपर्ने बताएका छन् । ‘भेनेजुएलाको विज्ञप्ति पार्टीले शुरुमा निकालेको थियो । त्यसलाई आधिकारिक मानेर केन्द्रीय सचिवालय र नेपाल सरकारले एउटै प्रकारको विज्ञप्ति जारी गरिसकेको छ’, उनले भने, ‘त्यो विषयमा विवाद गर्नु हुँदैन । दुबै अध्यक्षले बाहिर बोल्नु हुँदैन ।’
नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले कुनै पनि विषयमा विवाद हुँदा पार्टीभित्र पहिला छलफल गरेर टुंगाउनुपर्ने बताए । उनले दुबै अध्यक्षलाई सार्वजनिक रुपमा टिकाटिप्पण नगर्न आग्रह गरेका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा एक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालको वक्तव्यमा ‘स्लिप’ भएको बताएका थिए ।

डाभोस सम्मेलनका लागि प्रधानमन्त्री स्विट्जरल्याण्डमा रहेका बेला दोस्रो तहका अध्यक्ष दाहालले भेनेजुएलामा अमेरिकी हस्तक्षेपप्रति रोष प्रकट गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नै आफ्नो समर्थन रहेको उल्लेख गरेका थिए ।

ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा आफू नेपालमै भएको भए भेनेजुएलाबारे सत्तारुढ दलकै अध्यक्षबाट त्यस्तो विज्ञप्ति नआउने जिकिर समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार अमेरिकी राजदूत ¥याण्डी बेरीसँगको भेटमा पनि अध्यक्ष दाहाल केही शब्दमा चिप्लिएको बताएका थिए ।

यता, प्रधानमन्त्री ओलीको जवाफमा अध्यक्ष प्रचण्डले चितवनबाट कडा प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीले त तपाईको वक्तव्य चिप्लिएको भन्नुभएछ नि ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘नेकपाको सचिवालयले विज्ञप्ति निकालेको छ । पार्टीले विज्ञप्ति निकालेपछि व्यक्तिले दिएको प्रतिक्रियाको अर्थ रहँदैन ।’

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले बोली चिप्लिएको या अरू कसैले फसाएको भन्ने कुराको खण्डन समेत गरेका छन् ।

भेनेजुएला प्रकरणमा आफ्नो वक्तव्य राजनीतिक भएको र स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रमा बाहिर कसैबाट हस्तक्षेप नहोस् भन्ने आसय रहेको प्रचण्डले बताएका छन् । प्रधानमन्त्री ओली देशबाहिर रहेको बेला हतारमा अध्यक्ष प्रचण्डले विज्ञप्ति निकालेपछि कुटनितीक अपरिपक्वता भएको भन्दै आलोचना गरिएको थियो ।

लगत्तै सरकारका तर्फबाट पनि विज्ञप्ति जारी भएको थियो । नेकपा सचिवालयको बैठकले दुवै विज्ञप्ति सहि भएको निश्कर्ष निकालेको थियो ।

नेपालका लागि अमेरिकी राजदूतसँगको भेट लगत्तै प्रधानमन्त्री ओलीबाट आएको अभिव्यक्ति र अध्यक्ष प्रचण्डको काउण्टर जवाफले यतिवेला नेकपा भित्रको राजनीति तरंगित भएको छ ।

प्रतिनिधिसभाका सांसदहरुले पनि मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित