
-बिजय चालिसे
माघ, २४, कावासोती । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा जारी पाँचौं नवलपुर महोत्सवमा आज मौसमले साथ नदिएपनि दर्शकहरुले साथ दिएका छन् ।
आज चर्चित गायक रामजी खाँडलगायतका कलाकारहरुको प्रस्तुति हेर्न दर्शकहरु महोत्सव स्थलमा पुगेका थिए । महोत्सवको आठौंं दिन आज गायक खाँडसहित गायिका दिक्षा सुनारलगायतको बेजोड प्रस्तुतिमा दर्शकहरुले छाता ओढेरै भएपनि साथ दिएका हुन् ।
आज बिहानैदेखि हल्का बर्षात् भैरहेको अवस्थामा पनि दर्शकहरुको बाक्लै उपस्थिती रहेको थियो । हिजोअस्तिको तुलनामा आज केही कम भएपनि दर्शकहरु छाता ओढेर महोत्सव परिसरमा कलाकारहरुलाई साथ दिदा आफूहरुलाई थप हौसला मिलेको साँस्कृतिक संयोजक गोविन्द क्षेत्रीले बताए । भोलि चर्चित गायक कुलेन्द्र बिश्वकर्मा, टीका पुन, पुर्खे बालगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने क्षेत्रीले जानकारी दिए ।
यसैबीच, महोत्सव परिसरमा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । नवलपुरका साहित्यकार कवि दिपक सोतिलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र र नगदसहित सम्मान गरिएको अतिथि सत्कार उपसमिति संयोजक पुस्प पाण्डेले जानकारी दिए ।
माघ २७ गतेसम्म संचालन हुने महोत्सवमा दैनिकजसो दर्शकहरुको भिड पनि बढ्दै गइरहेको छ । महोत्सवमा विभिन्न जातजातीका परम्परागत घर, विभिन्न खानाका परिकार, कृषी उपजको प्रदर्शनी, अटो मोबाइलको प्रर्दशनी लगायतका स्टलहरू रहेका छन् ।
नवलपुर महोत्सवमा नवलपुर डान्स आईडल समेत संचालन भइरहेको छ भने जिल्लास्तरिय भलिबल प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी प्रतियोगिता पनि आकर्षण बनेका छन् । महोत्सवले स्थानीय कला, संस्कृतिको प्रस्फुटन सहित उद्योग व्यापार, कृषि, पर्यटनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिइएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले बताए ।












प्रतिक्रिया