आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

प्रधानमन्त्री ओलीले भने– भेनेजुएला प्रकरणको विज्ञप्तिमा हामी चिप्लिएकै हौं

दैनिक नेपाल २०७५ माघ २४ गते १०:२२

काठमाडौं, २४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएला प्रकरणमा नेकपाका तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्तिमा त्रुटी भएको बताएका छन् ।

उक्त विज्ञप्ति सही भएको भनी प्रचण्ड सचिावलय र नेकपा सचिवालयले दाबी गरे पनि पहिलो अध्यक्ष तथा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओलीले उक्त विषयमा चिप्लिएको बताएका हुन् ।

सात समुद्र पारि रहेको कुनै सोझो साइनो नभएको ल्याटिन अमेरिकी मुलुक भेनेजुएलालाई लिएर सत्तारुढ दल नेकपाको अध्यक्षको हैसियतले प्रचण्डले जारी गरेको वक्तव्य गलत रहेको जनतासँग प्रधानमन्त्री कार्यक्रममा उनले बताए ।

उनले भने, ‘त्यो अलिकति ‘स्लीप’ (चिप्लिएको) हो । म भोलिपल्ट आउँदै थिएँ अघिल्लै दिन वक्तव्य नदिइ नहुने केही कारण परेको थिएन । दिनुपर्ने जरुरी विषय पनि थिएन । जुन भाषा प्रयुक्त भयो त्यो अलि उपयुक्त भाषा पनि भएन ।’

‘कोइ एउटा साथीले एउटा विज्ञप्ति दिनुभयो, र त्यसकै पछाडि देश देशका बीचका सम्बन्धहरू अडेको हुँदैन’, प्रचण्डको कुटनीतिक प्रयोगमा खोट देखाउँदै उनले भने,‘म देशमा भएको भए त्यो विज्ञप्ति आउने थिएन ।’

जारी भएका सबै विज्ञप्तिको अन्तर्य एउटै रहेको बुझाइ अमेरिकीहरूको छ र उनीहरू नेपाली शैलीबाट छुब्ध भएका छन् । प्रधानमन्त्रीको यो स्वीकारोक्ति अमेरिकी राजदूत रेण्डी बेरीसँग गम्भीर बैठक भएको भोलिल्पट आएको छ । मङ्गलबार प्रधानमन्त्रीसँग अमेरिकी राजदूत बेरीले कडा आपत्ति जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित