३ कार्तिक २०८३, मंगलबार

फोरजी सेवा विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० माघ । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि सम्झौता भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सम्झौता गरिएको हो ।

फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क–र्‍यान लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता भएको टेलिकम प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

यस सम्बन्धी छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्‍यान नेटवर्क तयार गरिने छ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ ।

र्‍यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने छ ।

नेपाल टेलिकमले मुलुक मै पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी÷एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलेको रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुनेछ ।

यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा पहुँच र क्षमताका लागि Small Cell with WiFi विस्तार गर्न सकिने टेलिकमले जनाएको छ ।