
-रश्मि आचार्य
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । तर आन्दोलनको मुल एजेण्डा के हो ? कांग्रेस स्वयं अलमलमा देखिन्छ । हिजो राणा फालियो, राजा फालियो अब कम्युनिष्ट फाल्ने हो, भनेर देउवा भन्दैछन् । कोही चिकित्सा शिक्षा विधेयककोविरुद्धमा हो, भन्छन् । कोही राजनीतिमा यसो गर्नै पर्छ, नत्र प्रतिपक्षी धर्म नदेखिने तर्क गर्दैछन् । पक्ष र विपक्षमा तर्क त अनेक गर्न सकिएला तर यस आन्दोलनको औचित्य पुष्टि गर्न कांग्रेसलाई फलामको च्युरा चपाउनु जतिकै कठिन देखिन्छ ।
विवादको चुरै सकियो
कांग्रेसका दुई नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई सरकारले मास्न खोज्यो, भनेर उसले शुरुमा विवाद झिक्यो । त्यहि निहुँमा उसले संसद अवरुद्ध गर्यो । प्रधानमन्त्रीले प्रश्नोत्तरको समयमा यसबारेमा दिएको उत्तरमा उसले विश्वास नगरि प्रतिनिधि सभामा लगातार लफडा मच्चायो । यसै विचमा संसदबाट विधिसम्वत् तवरले चिकित्सा शिक्षा विधेयक पारित भयो । विधेयक पास भएपछि उसको निशाना विधेयक तिर सर्यो । यतिवेला एक त डाक्टर केसी स्वयम्ले अनसन तोडेका छन् भने अर्को तर्फ दुई नेताको नाममा खुलेका अस्पताललाई संघीय सरकारको मातहतमा राख्ने निर्णण् मन्त्रीपरिषदले गरेको छ । कांग्रसले झिकेको विवादको चुरै सकिएको छ । अब उसले के विषयमा निहुँ खोज्ला ! हेर्न बाँकी छ ।
पाँच बर्ष काम गर्ने म्यान्डेट पाएको सरकारले एघार महिनामा गरेका कामहरू मात्र हेरेर के सरकार पूर्ण असफल भयो भन्न मिल्छ र?
‘केसी कार्ड’ असफल
डाक्टर केसीले विगत देखि उठाउँदै आएका अधिकांश मुद्दाहरू समेटेर सरकारले चिकित्सा शिक्षा विधेयक ल्याएर संसदबाट पारित गरेपछि परिस्थतिले नयाँ मोड लिएको छ । जब केसीले चिकित्सा शिक्षा वाहेकका द्वन्दकालीन मुद्दाहरूको भारी वोके त्यति बेला नै एउटा आशंका थियो, उनलाई यो मुद्दाको भारी कसले बोकाएको छ? सत्यता वाहिरिदै छ । केसीलाई कांग्रेसले नै उचालेको र उसले भनेपछि लुरुक्क अनसन तोडेको विषय छर्लङ्ग नै छ । केसीलाई अरुले प्रयोग गरेका हुन् वा उनका पछाडी अरु लागेका हुन् ? विस्तारै खुल्दै जाला तर १६ औं पटकमा आएर केसी कार्ड पूर्णतः असफल भएको छ । केसीले जे जे विषय अघि सार्छन् कांग्रेसले त्यसैलाई मार्गदर्शन मान्दै जाने पथले कांग्रेसलाई कहाँ पु¥याउला? उसले सोचोस् । केसीको फ्लेवर नहालि कांग्रेस टिक्न सक्दैन भन्ने उसको वुझाई हो भने यो भन्दा दयनीय अवस्था अरु केहि हुन सक्छ र?
मिनी जनमत संग्रहको रुपमा चिनिने स्ववियु निर्वाचनबाट देशभर वामपन्थी अर्थात् नेकपा पक्षीय विद्यार्थीहरूको बर्चस्व स्थापीत हुने डरले कांग्रेसले यो निर्वाचन टार्न चाहेको प्रष्ट देखिन्छ
अधैर्य कांग्रेस
अनपेक्षित चुनावी परिणाम हात लागेपछि विच्छिप्त बनेको कांग्रेसलाई सत्ता वाहिर रहनुको पीडाले गाँजेको देखिन्छ । संघ, प्रदेश र स्थानीय जतासुकै कम्युनिष्ट सरकार देखेर उसको जलनको तापमान बढेको देखिन्छ । बर्षौ पछि बनेको स्थिर सरकार जसले बल्ल काम गर्न थालेको छ । रित्तो भएको देशको ढुकुटीमा केहि रकम जम्मा गर्दैैछ । छिमेक र बाहिरी दुनियाँसँग देशको सम्बन्ध नयाँ उचाँइमा पु¥याउँदै छ । नयाँ संविधान अन्तर्गत बन्नु पर्ने कानुन, ऐन, नियमहरू धमाधम बनाईरहेको छ । सुखी नेपाली समृद्ध नेपालको लक्ष्य हाँसील गर्ने रणनीतिक योजनामा जुटेको छ । यसरी काम गरिरहेको र पाँच बर्ष काम गर्ने म्यान्डेट पाएको सरकारले एघार महिनामा गरेका कामहरू मात्र हेरेर के सरकार पूर्ण असफल भयो भन्न मिल्छ र? सिमित स्रोत साधनबाट जनताका उच्च आकांक्षाहरू पुरा गर्न यति छोटो अवधिमा के संभव छ? किन उसले एक÷डेढ बर्ष पनि कुर्न नसकेको ? अझै चार बर्ष एक महिना यस सरकारको आयु छ, भन्ने तथ्य किन विर्सेको? अर्को चुनावबाट सत्तामा आउने बाटो छ, गल्ति गर्नेलाई जनताले अवश्य दण्डीत गर्छन्, धैर्यता गुमाउन हुँदैन भन्ने किन नबुझेको? उसको हितको निम्ति पनि अधैर्य बाटो कांग्रेसले समात्नु हुँदैन ।
स्ववियु चुनाव छल्ने वाहना
स्ववियु निर्वाचन हरेक दुई बर्षमा हुँदै आएको र निर्वाचन मिति फाल्गुन १४ गते हुने व्यस्था त्रिवि क्यालेण्डरमा उल्लेखित विषय हो । दुई बर्ष अघि नै अबको निर्वाचन फाल्गुन १४ मा हुनेछ भन्ने विद्यार्थी संगठनहरू सम्मिलित बेठकमा सहमति भएको विषय हो । यहि सवालमा केन्द्रीत भएर प्रधानमन्त्रीले डाकेको छलफलमा वेतुकको आन्दोलनको हवाला दिएर स्ववियु निर्वाचन सार्न खोज्नु उसको पराजित मानसिकताको उपज वाहेक अरु केहि होइन । मिनी जनमत संग्रहको रुपमा चिनिने स्ववियु निर्वाचनबाट देशभर वामपन्थी अर्थात् नेकपा पक्षीय विद्यार्थीहरूको बर्चस्व स्थापीत हुने डरले कांग्रेसले यो निर्वाचन टार्न चाहेको प्रष्ट देखिन्छ । सरकारको पक्षमा जनमत छैन भनेर फैलाएको भ्रमलाई स्ववियु निर्वाचनले चिर्र्ने र लज्जास्पद परिणाम हात पर्ने भयले गर्दा कांग्रेसले निर्वाचन नचाहेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ । यसर्थ, कांग्रेसको चालु आन्दोलन केवल देखाउने दाँत र वाहनावाजी मात्र हो । कम्युनिष्ट फाल्ने सपना देख्नेहरूले हिम्मत भए यस निर्वाचनबाट अखिललाई परास्त गरेर देखाए भैहाल्यो नि!
घरझगडा मिलाउने अस्त्र आन्दोलन ठान्नु र त्यसको भारी देशलाई बोकाउन खोज्नु कांग्रेसको दिवालीयापन र एजेण्डा विहिन अवस्था बाहेक अरु होइन
घर झगडा मिलाउने हतियार
कांग्रेसको घर झगडा विचित्रको छ । व्यक्ति पिच्छेका गुट, तिनीहरू विचको टकराव र स्वार्थ मिल्दा एक अर्कामा विलय उसको पार्टी पद्दती जस्तै बनेको छ । पछिल्ला केहि दिनहरूमा उसको घरझगडा अलि मत्थर जस्तो देखिन्छ । अब नमिले कम्युनिष्टले लपेट्छन भन्ने आन्तरिक बुझाई र त्यसको मूल कडीको रुपमा सरकार विरोधी आन्दोलनलाई उसले विकल्प छानेको हुन सक्छ । कार्यकतालाई इनगेज गर्ने सयौं विकल्प छोडेर आन्दोलन मात्र देख्नु पुरातन दृष्टिकोण हो । घर झगडा मिलाउन बेअर्थको आन्दोलनको बोझ देश र जनताको थाप्लोमा हाल्न खोज्ने उसको रवैयाको कुनै कोणबाट पनि औचित्य पुष्टि हुन सक्दैन । घरझगडा मिलाउने अस्त्र आन्दोलन ठान्नु र त्यसको भारी देशलाई बोकाउन खोज्नु कांग्रेसको दिवालीयापन र एजेण्डा विहिन अवस्था बाहेक अरु होइन । जबाफ दिन नसक्ने यस्तो आन्दोलनबाट उसले छिट्टै हात झिकोस् ।
(लेखक अनेरास्ववियुका उपाध्यक्ष हुन् )















प्रतिक्रिया