९ कार्तिक २०८३, सोमबार

मिटर ब्याजको पासोमा सिंगै गाउँ

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । झट्ट हेर्दा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ४ को केत्तुके गाउँ निकै शान्त देखिन्छ । तर यो शान्तिमा गाउँलेको वेदना मिसिएको अनौठो छटपटी गुम्सिएको छ । उनीहरू सजिलै मन फुकाएर आफ्ना कथा भन्ने सक्ने स्थितिमा छैनन् । त्यसो गर्दा आफैंलाई गलपासो पर्ला भन्ने भय उनीहरूलाई छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

दुई वर्षअघि ठगीको अनौठो पासोमा परेको केत्तुकेको यो कथा कानेखुसीमै सीमित छ । स्थानीयका अनुसार केत्तुकेका करिब २ सय तामाङ घरधुरीमध्ये ६० प्रतिशतभन्दा ठगिएका छन् । जसमा २५ हजारदेखि ७ करोड रुपैयाँ गुमाउनेहरू छन् । ठगीको यो जालो ओखलढुंगा सदरमुकाम र चिशंखुगढी गाउँपालिकाको कुईभीरसम्म फैलिएको छ । आफन्त र चिनजानकै मान्छेबाट ठगिएका कारण उनीहरू यसरी चुपचाप बस्न बाध्य भएका हुन् । ‘धेरैजसोले पैसा माया मारिसकेका छन्,’ एक पीडितले भने, ‘सबै नभए पनि अलिअलि फिर्ता आउने आशाले प्रहरीमा उजुरी दिँदा उल्टै सम्बन्ध बिग्रिने डरले चुप छौं,’ ठगिनेमा सर्वसाधारणदेखि निर्वाचित जनप्रतिनिधिसम्म छन् ।

कान्तिपुरले गरेको स्थलगत अध्ययन र नाम गोप्य राख्ने सर्तमा दर्जनौंसँग गरिएको कुराकानीले देखाउँछ, गाउँका सबैको जोडदा करिब २० करोड रुपैयाँभन्दा धेरै रकम फसेको छ । अलिअलि आफ्नै लोभ, अलिअलि आफन्ती तथा गाउँलेले देखाएको विश्वास र अलिअलि अरूले आँखैअघि कमाएको देखेर यो गाउँका धेरैले पैसा ब्याजमा लगाएका थिए । मिटर ब्याजमा पैसा पाउने लोभमा केही हजारदेखि लाखौं रुपैयाँ ब्याजमा लगाएका धेरैले अहिले ब्याजको आशा त मारिसकेका छन् नै, साँवा पनि नपाउने स्थितिमा पुगेका छन् ।

ठगी धन्दाको यो लहरोमा जोडिएका छन्, केत्तुकेकै शर्मिला लामा, एक समय माओवादी नेतासमेत रहेका उनका श्रीमान् ज्ञानेन्द्र गुरुङ ‘कसम’ र काठमाडौंमा एजुकेसन कन्सलटेन्सीसमेत चलाएर बसेका कपिल बर्मा । माओवादी सशस्त्र द्वन्द्व चलिरहेका बेला शर्मिलाले सिन्धुपाल्चोक ठेगाना बताउने तत्कालीन माओवादी नेता ज्ञानेन्द्र गुरुङ ‘कसम’ सँग बिहे गरिन् । शान्ति स्थापनापछि उनी श्रीमान्सँगै राजधानीमा बसेर स–साना व्यवसायमा संलग्न थिइन् । त्यहीबेला उनीहरूको परिचय कपिल बर्मासँग भयो ।

काठमाडौंको बानेश्वरमा इनोभेटिभ नेपाल नामक कन्सलटेन्सी चलाएर बसेका बर्मा रवाफिलो व्यक्तिका रूपमा परिचित थिए । शक्तिशाली व्यक्तिसँग गतिलो पहुँच बनाएका उनले एक समय अभिनेता राजेश हमाललाई आफ्नो कन्सलटेन्सीको ब्रान्ड एम्बेस्डर बनाएका थिए । ख्याति प्राप्त कलाकारलाई ब्रान्ड एम्बेस्डर बनाएकै कारण उनको चर्चा झनै बढेको थियो । साथै विद्यार्थीलाई टोफेल, आईएलटीएस जस्ता कक्षा गराएर अस्ट्रेलिया, बेलायतजस्ता मुलुक पठाउँथे ।