बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तलीको घोषणा

दैनिक नेपाल २०७५ माघ १६ गते १५:१५


काठमाडौँ, १६ माघ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । यसका लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्वन्धी सम्झौता पनि भएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरतपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बुधबार आयोजना गरिएको घोषणा कार्यक्रममा जानकारी दिए ।

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताए । उनले यसअघि चारवटा वस्ती निर्माण गर्दाको अनुभव रंगशालामा प्रयोग गर्ने बताए ।

रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । मौलिक डिजाइनमा बन्ने रंगशाला कमलको फुलको आकारमा निर्माण हुनेछ । रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुपा रहनेछ । अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ ।

क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्विमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ ।

रंगशालाको गुरुयोजना तयार पार्न ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ । रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको छ ।

नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि गत चैतमा नै धुर्मुसले फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने तयारी थालेका थिए । उनको टिमले उपयुक्त स्थानको खोजीमा देशका विभिन्न स्थानमा स्थलगत भ्रमण गरेको थियो ।

रंगशाला निर्माणको लागि फाउण्डेशनले महानगरपालिकासंग बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

रंगशाला घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, हास्यकलाकार मदन कृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो  ।

प्रतिक्रिया
सम्बन्धित