९ कार्तिक २०८३, सोमबार

कहिले कहाँ भयो गोली प्रहार ?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । गत २१ मंसिरमा अपराध महाशाखाले डकैतीका फरार अभियुक्त राजन लिम्बूमाथि गोली प्रहार गरेको थियो । भक्तपुरको इन्काउन्टर घटनामा पनि अपराध महाशाखा र परिसरबीच विवाद भएको थियो । महाशाखा र परिसरबीच काम देखाउने होडबाजीमा पटक–पटक समस्या भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बुधबार बिहान सप्तरीको रूपनीमा प्रहरी गोलीबाट दीपेन्द्र चौधरी मारिए । प्रहरीले मुठभेड भने पनि घटनास्थलमा त्यस्तो कुनै संकेत भेटिएको छैन । यद्यपि, चौधरी मोस्ट वान्टेड व्यक्ति हुन् । गत साता मात्र उनले आतंक मच्चाउन प्रहरीमाथि नै गोली हानेका थिए । सशस्त्र समूहलाई ‘सन्देश’ दिन सो इन्काउन्टर भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

२९ पुसमा रूपन्देहीमा प्रहरी गोलीबाट केदार सहनी मारिएका थिए । सिद्धार्थनगर नगरपालिका–४ मा प्रहरीसँग उनको दोहोरो भिडन्त भएको थियो । मोटरसाइकलमा रहेका सहनीले प्रहरीमाथि नै गोली हानेपछि जवाफी फायरिङ गर्दा उनको मृत्यु भएको रूपन्देहीका एसपी हृदय थापा बताउँछन् । सो घटनाको मानवअधिकार आयोगले छानबिन थालेको छ ।

गत ४ माघमा जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले हतियार ओसारपसारमा संलग्न प्रमोद यादवलाई गोली हानी नियन्त्रणमा लिएको छ । जिल्लाको सुकसैनामा उनलाई पक्राउ गर्न खोज्ने क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाएको थियो । २ माघमा बाँकेको कोहलपुरमा पनि प्रहरीले एक फरार अभियुक्तलाई गोली हानेर नियन्त्रणमा लिएको थियो । केही दिनअघि दीपक सिंहको घाँटी रेटी हत्या गरेको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । उनका खुट्टामा गोली लागेको थियो ।

गत वर्ष मनोज पुन र सोमबहादुर आले पनि रूपन्देहीमा प्रहरीको गोलीबाट मारिएका थिए । उनीहरूलाई भारतबाट पक्राउ गरेर ल्याई गोली हानिएको उनका परिवारले दाबी गरी मानवअधिकार आयोगमा उजुरी गरेका थिए ।