
-बिजय चालिसे
कावासोती, १० माघ । माघ १७ गतेबाट कावासोतीमा हुने पाँचौ नवलपुर महोत्सवको तयारी व्यापक बनाइएको छ । पूर्वपश्चिम राजमार्गको थकाली चोकबाट उत्तरतर्फ कावासोती नगरपालिका ३ राममन्दिर स्थित खुल्ला मैदानमा हुन लागेको महोत्सवको तयारी व्यापक बनाइएको आयोजक नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक डासुराज पोखरेलले जानकारी दिए ।
तयारी अनुसार महोत्सवस्थल प्रवेशद्वार निर्माणको काम सम्पन्न भएको छ भने स्टल निर्माण, पानीको व्यवस्थापन, हिमाल पहाड तराईको झल्को दिने आकृती निर्माणको काम धमाधम चलिरहेको छ ।
स्थानीय कला संस्कृतिलाई प्रमुखताका साथ हेरिएको महोत्सव स्थलमा विभिन्न जातजातीका घरहरु निर्माणको कार्य भैरहेको अध्यक्ष पोखे्रलले बताए । माघ १७ गतेदेखि २७ गतेसम्म हुने महोत्सवमा स्थानीय उत्पादनको प्रर्वद्धन, कला, संस्कृतीको प्रर्वद्धन, नवलपुरका पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । महोत्सवमा यस वर्षदेखि राखिने कृतिम चिडिया खाना समेत दर्शकको रोजाईमा पर्ने आयोजक नवलपुर उद्योग वाणिज्य संघका महासचिव बैकुण्ठ अर्यालले बताए ।
महोत्सवको लागि स्टल बुकिङ समेत भईरहेको स्टल संयोजक सागर पोखरेलले जानकारी दिए । नवलपुर महोत्सव व्यापक बनाउन आयोजकको एक टोली गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका विभिन्न स्थानमा प्रचार प्रसारमा समेत निस्किएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगेर प्रचार प्रसार व्यापक बनाएर फर्किएको टोली फेरी ५ नम्बर प्रदेशका विभिन्न स्थानमा प्रचार प्रसारका लागि पुगेको छ । महोत्सवमा गण्डकी र ५ नम्बर प्रदेशका विभिन्न स्थानहरुबाट व्यापारिक स्टलहरु आउने स्टल संयोजक पोखरेलको दावी छ ।
यस्तै महोत्सव अवधिभर संचार माध्यमलाई समाचार तथा सूचना सम्प्रेशणमा सहयोग पुगोस भनेर ईन्टरनेटको व्यवस्था समेत गरिने सञ्चार संयोजक हरी सुवेदीले जानकारी दिए ।
यसैबिच, महोत्सव उद्घाटन गर्न उपप्रधानमन्त्री एवंम रक्षामन्त्री ईश्वर पोखरेल आउने पक्का भएको छ । प्रतिनिधिसभा सदस्य तिलक महत र उद्योग वाण्ज्यि संघ नवलपुरका अध्यक्ष डासुराज पोखरेलसहितको टोलीले भेट गरि निमन्त्रणा गरेपछि उपप्रधानमन्त्री पोख्रेल आउने पक्का भएको अध्यक्ष पोखरेलले बताए । त्यसैगरी समापनका दिन उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आउने तय भएको उनले जानकारी दिए ।















प्रतिक्रिया