शनिबार, ४ साउन २०७६
DainikNepal.com
शनिबार, ४ साउन २०७६

बेसार खाँदा के–के हुन्छ फाइदा ?

दैनिक नेपाल २०७५ माघ ९ गते ७:४१

काठमाडौं । आयुर्वेदका रुपमा बेसार प्रयोग हुँदै आएको छ । यसलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरिएको छ ।

चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व आदि प्रचुर मात्रामा पाइन्छन् ।

बेसारको रङ पहेँलो हुन्छ । कुरकुमिन नामक रसायनले यसको रङ पहेँलो बनाएको हो । हिन्दू धर्ममा पहेँलो रङको छुट्टै महत्व छ । यसर्थ, कतिपय हिन्दू संस्कारमा बेसारलाई विशेष महत्व दिई उपयोग गरिन्छ ।

बेसार भिटामिन र खनिजको मुख्य स्रोत भएको चिकित्सा विज्ञानले प्रमाणित गरेको छ । दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ । त्यस्तै, महसँग मिसाएर खाएमा टन्सिल निको हुन्छ ।

एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छन् ।
मुख र घाँटीमा घाउ आउँदा बेसारपानीले कुल्ला गर्दा आराम मिल्छ ।

पेटमा ग्यास जम्मा हुने, कफ जम्ने, खुट्टा बटारिनेजस्ता समस्या बेसारलाई नुनपानीमा घोलेर बिहान–बेलुका खाएमा ठीक हुन्छ ।

मधुमेहका बिरामीका लागि बेसार अचुक औषधि मानिन्छ । दैनिक अमलाको रसमा बेसार मिसाई सेवन गर्दा मधुमेहका रोगीलाई लाभ मिल्छ ।

बिच्छी, बारुला, अरिंगाल आदिले चिलेमा सो ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ ।

बेसार छालाका लागि एकदमै उपयोगी हुन्छ । यसर्थ, आजभोलि बेसारलाई सौन्दर्य प्रसोधनका लागि समेत प्रयोग गर्न थालिएको छ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालामा चमक ल्याउन मद्दत गर्छ ।

मर्किएको, सुन्निएको वा चोट लागेको ठाउँमा घिउकुमारीको रससँग बेसार मिसाएर लगाएमा दुखाइ कम हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित