१ कार्तिक २०८३, शनिबार

स्रष्टा सङ्गमले स्मरण गर्यो गङ्गाप्रसाद प्रधानलाई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सञ्जय प्रधान, दार्जिलिङ

भारतीय नेपाली भाषा साहित्यको पहिलो पहरको उज्यालो शुरू हुँदै गरेको बेलामा दार्जिलिङबाट १९०१ सालमा पादरी गङ्गा प्रसाद प्रधानले  ‘गोर्खे खबर कागत’ प्रकाशित गरेर भारतमा नेपाली पत्रकारिताको जग बसालेका हुन्। सो बेलाका मलिला नेपाली समाजमा सबै थोकनै  कलिलानै थिए। भारतीय नेपाली समाजमा पादरी गङ्गा प्रसाद प्रधानले सो बेला खबर कागत र पत्रकारिता चिनाउने काम गरे। उनको यही  अमूल्य योगदानलाई दार्जिलिङ-सिक्किमलगायत भारतका विभिन्न ठाउँहरूमा सधैँ स्मरण गरिन्छ। सिक्किमको प्रवेशद्वार रम्फूमा पादरी गङ्गा  प्रसाद प्रधानलाई स्मरण गर्दै रयाली निकालेर भव्य कार्यक्रम आयोजना गरियो।

११ र १२ जनवरीको दिन रम्फूको ईपी भवनमा स्रष्टा सङ्गमले पादरी गङ्गा प्रसाद प्रधानको स्मरणमा रयाली साथै साहित्यिक  कार्यक्रम आयोजना गरेको थियो। पहिलो दिनको साहित्यिक कार्यक्रममा विभिन्न ठाउँबाट आएका कथाकार-कविहरूले आआफ्नो रचनाहरूको पाठ गरेका थिए। सो कार्यक्रममा सिक्किमेली लेखक स्व. गहर उदासीलाई स्मरण गर्दै सम्मान जनाइएको थियो। सो सम्मान स्व. गहर उदासीका पत्नी तारमित लेप्चा र छोरी श्रीमती सृजना सुब्बाले गरिन्।

दोस्रो दिनको कार्यक्रममा पदरी प्रधानको स्मरणमा रम्फू बजारमा रयाली निकालेपछि सम्वर्द्धना कार्यक्रम आयोजना गरेको थियो। सो र्याफलीमा दार्जिलिङ, कालेबुङ, सिलगढी, डुवर्स क्षेत्रका स्रष्टाहरूका सहभागिता रहेको थियो। कार्यक्रममा पास्टर कालेप गजमेरको प्रार्थना अनि एल्डर पत्रुस गुरूङको स्वागत वक्तव्यबाट कार्यक्रम शुरू गरिएको थियो।

कार्यक्रममा पाद्री गङ्गा प्रसाद प्रधानको जीवनी साथै उनको योगदान बारेमा पहिलोपल्ट पुस्तक लेख्ने स्रष्टा सलोम कार्थकलाई स्रष्टा सङ्गमद्वारा सम्वर्द्धना जनाइयो। भारतीय नेपाली साहित्यको क्षेत्र सुपरिचित नाम सलोम कार्थकलाई मुख्य अथिति सुपरिचित साहित्यकार डा. एडोन रोङ्गोङ अनि विशिष्ट अतिथिद्वय डा. बी.डी. राई र डा. छत्र सुब्बा पावल साथै सभापति क्यामुना प्रधानको बाहुलीबाट शल ओढाएर सम्वर्द्धना पत्रद्वारा सम्मानित गरियो। सलोम कार्थकको सम्वर्द्धना पत्र उद्यमी महिला कथाकार सन्ध्या आचार्यले पठन गरिन्। सलोन कार्थकको जीवनीलाई कार्यक्रमका संचालक युवा पत्रकार एवं कवि हनोक थापाले उजागर गरेका थिए। हनोक थापा अयोजक पक्ष स्रष्टा सङ्गमका सचिव हुन्।

कार्यक्रममा सलोन कार्थकले पाद्री गंगाप्रसाद प्रधानको योगदान बारेमा विभिन्न पक्षहरूलाई समेटेर वार्ता प्रस्तुत गरेका थिए। सन् १८५१ मा काठमाडौको ठमेलको ठैहिटी टोलका जन्मिएका नरसिंह नारायण १० वर्षको उमेर पुग्दा १९६१ सालमा दार्जिलिङ आएपछि गङ्गा प्रसाद प्रधान नामले परिचित बने। उनका बाबु रूपनारायण प्रधानले नै उनलाई दार्जिलिङ लिएर आएका थिए। तिनताकका बेलामा दार्जिलिङ पहाडी भेकमा शिक्षा गोडगाड गर्दै उम्रिन शुरू हुँदै थियो बिस्तारै। १० जून १८७० मा पादरी म्याकफर्लेन साहेबले गयाबाट ‘स्कट मिशन’ स्कूल ल्याएका थिए। म्याकफर्लेन आफै बगान-बस्तीतिर घुम्दै स्कूलका निम्ति विद्यार्थीहरू बटुल्थे। त्यस बेला गङ्गा प्रसाद प्रधान १९ वर्ष पुग्दासम्म केही पढेका थिएनन्। उनले पढ्छु भन्दा सानीआमाले उखरमाउलो मच्चाएकी थिइन्।

कोइलाको भारी बोक्दा मालिकको कचकचले झोंक्किएर भारीनै फ्याँकिराखेर पढ्छु भन्दै म्याकफर्लेनलाई भेट्न स्कूल पुगे। शिक्षा नि:शुल्क थियो त्यसै दिन पादरी म्याकफर्लेनले अर्काको पुस्तकबाट अ, आ, चिनाएका थिए। त्यो दिन उनकै जन्म दिन परेको थियो ४ जुलाई अनि साल थियो सन् १९७० । यसरी पढ्दै गएपछि उनी नेपाली भाषाका सेवक भएर समाजको अघि प्रस्तुत भए पादरी गङ्गा प्रसाद प्रधानको रूपमा। उनले थुप्रै लेखहरू, पाठ्य पुस्तकहरु लेखे।

सन् १९०१ देखि १९३२ सम्म निरन्तर ‘गोर्खे खबर कागत’ प्रकाशित गरे। ईसाई धर्मलाई प्राथमिकता दिएर निकालिएको भए पनि भारतीय नेपाली पत्रिकाको क्षेत्रमा ‘गोर्खे खबर कागत’ पहिलो समाचार पत्रको रूपमा देखा पर्दछ। यस बाहेक पादरी गङ्गा प्रसाद प्रधानले नेपाली भाषामा बाइबल झन्नै ३० वर्ष लगाएर सन् १९३२ मा पुरा गरे। सन् १९३२ मै उनको देहवासन भयो। भारतमा नेपाली पत्रकारिता उनीबाट शुरू भएको हुनाले उनलाई गएको केही वर्षदेखि दार्जिलिङ-सिक्किम भेकमा आदि पत्रकार भन्न शुरू भएको छ।

‘‘पत्रकारिताको पाठ्यक्रममा गोर्खे खबर कागतलाई पनि राख्न सकिन्छ’’, सलोम कार्थकले भने। कार्यक्रममा युवाहरूका समूहले पादरी गङ्गा प्रसाद प्रधानद्वारा लेखिएको गीत ‘‘प्रभु अर्जी सुनिदेऊ गोर्खालीले मुक्ति पाउने ढोका खोलिदेउ’’ प्रस्तुत गरे। उनको जीवनीमाथि लेखिएको गीतमा आसना र भीमले नृत्य अनि गायिका प्रिसकिला सुनवार र बाल समूहले गीत प्रस्तुत गरे। मुख्य अतिथि डा. एडोन रोङ्गोङ्ले भने, ‘‘पादरी गङ्गा प्रसाद प्रधान जातिलाई माया गर्ने र शिक्षाको माध्यमबाट जातिको उत्थान गर्न चाहने व्यक्ति थिए। उनी जातिको निम्ति उदाहरण बनेका छन्।’’ कार्यक्रममा हनोक थापा सम्पादक रहेको स्रष्टा सङ्गमको वार्षिक मुखपत्र ‘दृष्टि’ अनि क्यमुना प्रधानको कथा सङ्ग्रह ‘फ्लाइ ओभर’ पनि विमोचन गरियो ।