मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

राजीनामा दिए नेविसंघका देउवा निकटकै ७ पदाधिकारीले, संकटमा वर्तमान कार्यसमिति

दैनिक नेपाल २०७५ पुष २७ गते १६:३९

काठमाडौं, २७ पुस । पछिल्लो पटक थपिएको म्यादमा पनि कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन नुहने प्रायः निश्चित भएपछि ७ जना पदाधिकारीहरुले राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्री रहेका छन् । उपाध्यक्षत्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसीले राजीनामा दिएका छन् । यसैगरी महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका छन् ।

उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएका हुन् । राजीनामा दिने सातै जना देउवा निकटकै मानिन्छन् ।

नेविसंघको महाधिवेशनका लागि पछिल्लो पटक थपिएको म्याद माघ २ गते सकिँदै छ । तर हालसम्म पनि महाधिवेशनको कुनैपनि तयारी नभएपछि नहुने प्रायः निश्चित जस्तै देखिएको छ ।

पछिल्लो पटक थपिएको वर्तमान कार्यसमितिको म्याद पनि सकिन लागेपछि वर्तमान कार्यसमिति नै संकटमा परेको छ । सात जना पदाधिकारीले एकैपटक शुक्रबार राजीनामा बुझाएपछि नेविसंघमा थप संकट उत्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित