बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

पृथ्वीनारायण शाहले एकीकरण गरेकाले स्वाभिमानी छौं : उपप्रधानमन्त्री पोखरेल

दैनिक नेपाल २०७५ पुष २७ गते १५:१६

काठमाडौँ, २७ पुस । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको बताउनुभएको छ ।

शुक्रबार २९७ औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा उहाँले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताका रूपमा शाह रहेकाले सरकारले उहाँको जन्मजयन्तीलाई सम्मान गरेको बताउनुभयो ।

“नेपालमा रहेका धर्म, संस्कृति भाषालाई गोलबद्ध गर्ने काम उहाँले गर्नुभयो”, उहाँले भन्नुभयो, “त्यसैले उहाँको सम्झनामा एकीकरण दिवस मनाइएको हो ।”

पृथ्वीनारायण शाहले मुलुकलाई एकताबद्ध नगराएको भए अहिलेजस्तो नेपाली स्वाभिमान, स्वाधीन र स्वतन्त्र नहुने उहाँको भनाइ थियो । रक्षामन्त्री पोखरेलले कुनै सिद्धान्तमा नभई उहाँले गरेको कामलाई सम्मान गर्न दिवस मनाइएको बताउनुभयो ।

उहाँले पृथ्वीनारायण शाहले एकीकृत गरेको समाजलाई अहिले विभिन्न तत्वले भड्काउन खोजेकाले त्यस्तालाई परास्त गर्नुपर्ने धारणा राख्नुभयो ।

शोभायात्रामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रतीलगायतको सहभागिता थियो । शोभायात्रा कमलादी, रत्नपार्क भद्रकाली हुँदै सिंहदरबार आएर समापन भएको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित