बुधबार, ४ असार २०७६
DainikNepal.com
बुधबार, ४ असार २०७६

नेपाली अवार्ड वितरणमा यतिसम्म हुन्छ

विनोद ढकाल २०७५ पुष २२ गते १२:२१

अवार्ड, कुनै पनि काममा अब्बलताको परिणाममा पाइने उपहार । खासगरी मनोरञ्जन (फिल्म, गायन, निर्देशन लगायत)का क्षेत्रलाई केन्द्रित गरेर अवार्ड छ्यापछ्याप्ती बाँडिन्छ । नेपालमा अवार्डको सिजन सुरु भएको छ । आफ्ना प्रतिभालाई फारममा भर्न लगाइन्छ, नोमिनेशनमा पारिन्छ । र, वितरण गर्नुअघि बार्गेनिङ पनि गरिन्छ । यो ‘ओपन सेक्रेट’ सत्य हो ।

एक जना अमेरिकी युवा लेखक क्रिस जामीले अवार्डबारे भनेका छन्,‘यदि दिने चाहना छ भने केही लिने अपेक्षा नगरी अवार्ड देऊ ।’ उनको भनाईले अवार्ड हलिउडदेखि नै सम्झौताको एउटा कसी बनाउने कोशिश गरिएको छ । यो रीति बलिउड हुँदै नेपालमा अस्रेल्ल र अनियन्त्रित हिसाबले गरिने अवार्ड प्रदानमा पनि स्वभाविक देखिन्छ ।

अवार्ड कसलाई र किन दिने ? भन्ने विषयको ज्ञान नहुनु वा भएर पनि प्रयोग नगर्नु अवार्ड घोषणाको बेइज्जत मात्र हो । अवार्ड ति अवार्डकै विषयमा कति समिक्षा जरुरी छन् र हुनुपर्छ भन्ने विषय अहिलेपनि फिल्मी क्षेत्रमा सरल चर्चा छ

अवार्ड आयोजकको आधिकारीकता के हो ? उसले निर्णय गरेर तय गरेका अवार्डको विश्वसनियता कत्तिको मानक बन्न सक्छ ? यी प्रश्न स्वभाविक बन्छन् । जब, केही अब्बल कलाकारहरू अवार्डमाथि विश्वास गर्न छाड्छन् । म्युजिक भिडियो निर्देशक प्रकाश भट्टले केही दिन अघि भनेको शव्द सापटी लिन्छु । ‘अवार्ड आयोजकले कति रकम दिने तपाईलाई अवार्ड प्रदान गर्छौं, साथमा मोफतमा नाचिदिनु पर्छ ।’

खासगरी बलिउड कलाकार आमिर खान र अक्षय कुमार अवार्डमा सहभागी बन्दैनन् । अवार्डबारेको एउटा प्रश्नमा अक्षय कुमारले भनेका छन्,‘अवार्ड लिन आधा रकममा त्यहाँ गएर नाच्नुपर्छ भन्ने प्रस्ताव आएपछि मेरो विश्वास गुमेको हो, म अवार्ड कार्यक्रममा सहभागी बन्दिन ।’

कलाकारिता होस् वा प्रतिभाको मुल्यांकन बार्गेनिङका आधारमा गरिने परम्परा कस्तो हो ? यस्तो झूठको खेती नेपाली कलाकारिता क्षेत्रमा व्याप्त रहेको प्रमाण, कलाकारले पाउँदै नपाएको अवार्डको प्रमाणपत्र पेस गरेर विदेश जाने चाहना राख्नु पनि हो । यसको प्रमाण अमेरिकी दूतावासले नेपालका अवार्डका आधिकारिकताका विषयमा चलचित्र विकास बोर्डलाई बारम्बार सोध्नु र खोजीनीति गर्नु पनि हो ।

अवार्ड प्राप्त गर्नु ठूलो कुरा होइन । अवार्ड माछाबजारको बार्गेनिङ भन्दा कम छैन । कलाकारमा त्यसको लोभ र लालसा पनि कम छैन ।

पाउँदा खुसी हुने र नपाउँदा नोमिनेशनमा पनि नजाने कलाकार पर्याप्त छन् । आफुले पाउँदा गज्जबको अवार्ड अरुले पाउँदा खराब भन्ने चलन पनि छ । तर, खास अर्थमा यी क्रिया र प्रतिक्रियाको कारक हो– अवार्ड आयोजकको मनोपोली । दर्शकले रुचाएको फिल्मले अवार्ड पाउँदैन, आयोजकले सम्झौता गरेकालाई उत्कृष्ट भनी दिने प्रचलन छ । जसरी नेताको मापन मतबाट हुन्छ, कलाको मापन उसले पाएको जनमतबाट गर्नुपर्छ कि पर्दैन ?

त्यसैले एकजना कलाकार जारोड किन्ट्जको भनाई यहाँ राख्न उपयुक्त ठान्छु । उनी भन्छन्,‘मैले एउटै अवार्ड जितेको छैन। तर, मैले अवार्ड जित्नेहरु जितेको छु ।’

केही अवार्ड भएका छन् । केही हुने तरखरमा छन् । नामै किटेर भन्ने हो भने कामजना सिजी अवार्ड, डि सिने अवार्ड, इमेज अवार्ड, चलचित्र विकास बोर्डको अवार्डसहित राष्ट्रिय अवार्ड । यी बाहेक च्याउसरी नामै नसुनेका अवार्ड पनि भइरहेका छन्, हुने तरखरमा छन् । यीनको विश्वसनियता कति ?

नेपाली चलचित्र उद्योगको विकासमात्र होइन प्रबर्दधनका लागि अवार्ड हुनु राम्रो हो । उपलव्धिको मार्गमा जानु पनि राम्रो हो । अवार्ड कसलाई र किन दिने ? भन्ने विषयको ज्ञान नहुनु वा भएर पनि प्रयोग नगर्नु अवार्ड घोषणाको बेइज्जत मात्र हो । अवार्ड ति अवार्डकै विषयमा कति समिक्षा जरुरी छन् र हुनुपर्छ भन्ने विषय अहिलेपनि फिल्मी क्षेत्रमा सरल चर्चा छ ।

नेपालमा बाँडिन थालेका अवार्ड लिनेहरूको विलम्ब र हतारको ताज बनिरहेको छ । यो पर्खाइको र सम्मानसँगै खुशी साट्ने माध्यम होइन, एउटा पित्तलको मुर्ती थाप्ने, कृत्रिम हाँसो फिस्स छाड्ने र स्टेजमा पालो सकिएपछि फुत्त भाग्ने प्रचलन पनि बनेको छ । अर्कोचाँही थोरै ढाक्ने, ढिलो आउने, केही तमासा देखाउने र बाहिरीने माध्यम पनि रहेछ । अवार्ड, हतारमा लिने पुरस्कार, ढिलो थाप्ने सम्मान पनि बनिरहेको देखिन्छ ।

विषय उठान गर्दा धेरैको चित्त नबुझ्ला खासगरी जसको बारेमा विषय उठान गरिएको छ, उनीहरूको आपत्ती हुनसक्छ । तिनले गरेको हाउगुजी र अर्थहिन कामले कतिको मन भत्किएको छ, कति असमान निर्णय भएको छ ? भन्ने कुराको हेक्का नराखी रिसाउनुको अर्थ हुँदैन ।

बजारमा दिने ‘प्रडक्ट’ राम्रो भएन भने त्यसको आलोचना उपभोक्ताले गर्न पाउँछ, यहाँ उपभोक्ता नै खरिद गरेर प्रडक्ट बाँड्ने काम हुन्छ र दुनियाँलाई तमासे बनाइन्छ । के नेपाली अवार्ड कार्यक्रमहरू यो गतितिरै लम्किएको छैन र ?

अवार्ड दिने वा लिने एउटा मापदण्ड कायम नहुँदा औसत रुपमा वितरण हुने फिल्मी अवार्डहरू ‘नाप’दण्डका रुपमा वितरण हुन्छन्

यो शैली कुनै फिल्मी कार्यक्रममा मात्र होइन, राज्यले बाँड्ने प्रवल राष्ट्रिय जन सेवा श्रीमा पनि देखिएकै छ । योगदानमा आधारित व्यक्तित्व भन्दा आफन्त र पहुँच पुग्नेमा आधारित भएर अवार्ड दिने प्रचलन छ । यी पाउनेहरू सबै खराब हुन् भन्ने ध्येय होइन, दिनेहरूसँगको सम्बन्धबिना पाउनेहरू कसरी पुग्छन् ?

एउटा उदाहरण पेस गर्छु– ज्ञानेन्द्र कालमा राजभक्ती देखाउनेहरूका लागि गोर्खा दक्षिणबाहु निक्कै सरल उपलव्धि थियो । समाजमा मिहेनत गर्ने र संघर्ष गर्नेहरूले गोदवा पाउँदैन थिए । सैनिक अधिकारीको गुलाम, दरबारीयाको गुलाम भएकाहरूका लागि निक्कै सरल थियो ।

अवार्ड दिने वा लिने एउटा मापदण्ड कायम नहुँदा औसत रुपमा वितरण हुने फिल्मी अवार्डहरू ‘नाप’दण्डका रुपमा वितरण हुन्छन् ।
अवार्ड कसले पाउने भन्ने तय भइसकेको हुन्छ। तर, किन पाउने ? भन्ने विषयको व्याख्या वितरणका क्रममा दिइँदैन । छान्ने निर्णायकले पनि त्यसो प्रष्टीकरण दिनुपर्ने कारण छैन ।

अवार्ड समारोह सम्बन्धित क्षेत्रका लागि उत्सव हुन सकेको छैन । कलाकारका असन्तुष्टि एकातिर होला तर उनलाई गरिने प्रस्ताव, स्वीकार्नेलाई प्रदान गरिने तथ्य र अस्वीकार गर्नेलाई निम्तो कार्ड समेत नपठाउने प्रवित्तिको नियमन आवश्यक ठहर्छ । यसर्थ ‘अवार्ड बार्गेनिङ हाउगुजी’ बनिरहेको तथ्य खण्डन गर्ने आधार तयार बनोस् ।

प्रतिक्रिया
सम्बन्धित