१ कार्तिक २०८३, आइतबार

नेपाली क्रिकेटको समस्या, अन्योलता र समाधान

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रसान्त मल्ल
काठमाडौं । वि.स. २००८ सालमा स्थापित नेपाल क्रिकेट संघ विभिन्न आरोह अवरोहलाई पार गर्दै सन् १९८८ मा एसीसीको क्वालिफायर सदस्यता प्राप्त गर्न सफल भएकोमा सन् १९९६ मा आइसीसीको एसोसिएट राष्ट्रको रुपमा मान्यता प्राप्त गरेको थियो ।

नेपालको यो उपलब्धिमा तत्कालीन नेपाल क्रीकेट संघका अध्यक्ष जयनाथ कुमार साह तथा तत्कालीन क्रिकेट एसोसिएन अफ नेपालका पदाधिकारीहरुको विशेष योगदान रहेको कुरा सर्वविदित नै छ ।

सन् १९९६ पछि नेपाली क्रिकेट नयाँ युगमा प्रवेश गर्न थालेको हो । नेपालले एसोसिएट राष्ट्रबीच विशेष पहिचानका साथै सफलता प्राप्त गर्दै थियो । एक स्वर्णिम कालका रुपमा नेपाली क्रिकेटले उल्लेख्य उपलब्धि हासिल गरिरहेको थियोे ।

जसमा यु–१९ टिमले सन् २००० तिरबाटै यु–१९ टिमको टेस्ट खेल्ने राष्ट्रहरुलाईसमेत पराजित गर्दै विश्व क्रिकेटको ध्यान आफूतर्फ खिच्न सफलता प्राप्त गरेको थियो ।

नेपाली राष्ट्रिय टिमले डिभिजन पाँचबाट सुरु गरेको आफ्नो यात्रालाई डिभिजन एकसम्म पुर्याउदै सन् २०१४ मा टि–२० बिश्वकप नै खेल्न सफल रह्यो, केही वर्ष अघिसम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषदले अब टेस्ट खेल्ने राष्ट्रहरुमा नेपाल, अफगानिस्तान र आयरल्यान्डलाई लिन थालिसकेको अवस्थामा दुर्भाग्य नै भन्नुपर्छ, परिस्थिति फेरिएको छ । एकातिर अफगानिस्तान र आयरल्यान्ड, आईसीसी पूर्ण टेस्ट खेल्ने मान्यता पाउँदै गर्दा नेपाल भने एकदिवसीय मान्यता प्राप्त गरेको अवस्थामा समेत आधिकारिक निकाय नहुनुको पीडा भोग्दै छ ।

यदि सबै बुझेका ब्यक्तिहरु एक ठाउँमा बसेर निकास निकाल्न कोसिस गरेमा केही दिनमै नेपाली क्रिकेटमा सुखद् समाचार सुन्न पाइनेछ, जुन समाचारको पर्खाइमा लाखौ नेपाली क्रिकेटका समर्थकहरु र अन्य स्टेकहोल्डर्सहरु रहेका छन् ।

नेपालको ठुलो उपलब्धि अचानक खस्कदै जानुमा विविध कारण रहेको मान्यता पाइन्छ ।

क्यान भित्रको चरम राजनीतिसँगै राजनीतिक दलको निसानामा क्यान पर्नु र आफ्नो कार्यकर्ताको उचित ब्यबस्थापन क्यानमा लगेर गर्नु, विदेश भ्रमणको ब्यबस्था गर्ने ठाँउ क्यानलाई बनाइनु, क्यानको ६० वर्षसम्म चुनाव नगराई यसमा सहजै रुपमा राजनीतिक दलहरुलाई खेल्ने बाताबरण सृजना गरिदिनु, खेलाडीहरु नेताहरुद्वारा प्रयोग हुनु र क्यानमा रहेकाहरुद्वारा क्रिकेटको बिकास भन्दा आफ्नो महत्वाकांक्षा पूर्ति गर्न लाग्नु नै आजको यो अबस्थाको जिम्मेवार हो भन्ने विभिन्न धारणाहरु पाइन्छ ।

बिगत केही समयदेखि विभिन्न पक्षहरु नेपाली क्रिकेटको समस्या समाधानको लागि आ–आफ्नो तर्फबाट प्रयासरत जस्तो रहेको देखिएता पनि साचो रूपमा सबै आफ्नो स्वार्थ सिद्ध गर्न मात्रै सोचिरहेको भान हुन थालेको महशुस सबैले गर्न थालेका छन् !

नेपाली क्रिकेटमा सिधा रुपमा क्यान देखिय पनि केही अरु अदक्ष ब्यक्ति र समूहहरु क्यानमा आफ्नो पकड चाहन्छन् भने क्यानमा भएकाहरु आफ्नो पकड कुनै मुल्यमा गुमाउन चाहन्नन् ।

आजको यो अन्योलको अवस्था हेर्दा आइसीसीले प्रत्यक्ष नेपाली क्रिकेटलाई नियन्त्रण गरेको देखिएतापनि क्यानको उपस्थिति बिना नेपाली क्रिकेट लथालिङ्ग अवस्थामा रहेको छ ।

जिल्ला क्रिकेट संघहरु अस्तित्वमा रहेतापनि आफ्नो मूल निकायसँग आधिकारिकता नरहेको र कुनै राष्ट्रिय प्रतियोगिता सञ्चालनमा नरहँदा खेलाडीहरुको वृत्ति–विकासमा पनि प्रत्यक्ष असर परेको छ ।

समाधान के ?

यदि सबै बुझेका ब्यक्तिहरु एक ठाउँमा बसेर निकास निकाल्न कोसिस गरेमा केही दिनमै नेपाली क्रिकेटमा सुखद् समाचार सुन्न पाइनेछ, जुन समाचारको पर्खाइमा लाखौ नेपाली क्रिकेटका समर्थकहरु र अन्य स्टेकहोल्डर्सहरु रहेका छन् ।

यो सब अन्योलताको उचित ब्यबस्थापन भनेकै यसको मूल निकाय क्यानलाई सरकारबाट आधिकारिता प्रदान गरी आईसीसीको निलम्बनलाई हटाउन क्रिकेटका स्टेकहोल्डरहरुबीच गोलमेच सम्मेलन गर्न पहल गर्ने ।

यसको लागि विशेष पहल खेलकुदको मूल निकाय राखेपले गर्नु आवश्यक छ ।

अन्तमा, अब नेपाली क्रिकेटलाई निकास दिने हो भने सबै पक्ष एक ठाउमा उभिनु पर्ने आवश्यकता रहेको छ । यसले मात्र नेपाली क्रिकेटको गुमेको साखलाई फिर्ता गर्दै क्रिकेटमा खेलाडीको रूपमा लागेका हजारौं युवाहरुको भविष्यलाई सुरक्षित गर्नेछ ।

लेखक रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हुन् ।