२९ आश्विन २०८३, बिहिबार

बगरमा बसेर तिमीलाई हेरि रहें बस्, हेरि रहें…!

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-सूर्य नेपाली

तिमी त्यहि नदी किनारमा उँभिएकी थियौ,
जहाँ म पहिलो पटक तिमीलाई खुला आकाशमूनी भेटेको थिएँ ।

हिउँदको शुख्खापनले नदीको गति थिएन
तर पनि,
छाल उर्लिन खोज्थ्यो वेला–वेला, किनकी किनारमा तिमी जो थियौ ।

आँखामा कुनै उद्गार थिएन तिम्रो,
न त म नै कुनै आश्चर्यको खोल ओडेर उभिएँ ।

बस, याद छ त्यो नदीको छालले तिमीलाई चुम्न खोजेको,
मन भरी भरिएको थियो अथाह भाव ।

विविध संगितका लहरहरु पनि जानेको थियो नदीले,
संगित पारखी तिमी, उसको नजानिँदो अनेकौं उन्मत्त भाव,
अनि संगितका कयौं कणहरुले तिमीलाई बढि नै छोएथ्यो ।

त्यसैले त तिमी म भन्दा नदीलाई बढि हेर्थ्यौ ,
लामो सास लिन्थ्यौ अनि मेरा आँखा नियाल्थ्यौ ।

कतिकति वेला लाग्थ्यो तिमीले म हैन मेरा परेलीसँग माया गरेकी छौ,
किनकी आज पनि त तिम्रो यादमा यो रुझ्ने गर्छ ।

कतिवेला डाह लाग्थ्यो त्यो नदीसँग,
जसले तिम्रो ध्यान खिच्न अनेकौं हर्कत गरिरहेथ्यो ।
तर,
मेरो त्यो डाह सबै मिथ्या थियो,
किनकी उ त मोती बाक्ने सागरको यात्रामा थियो,
यात्रामा संगित थियो अनि सुसेल्दै मोहित बनाउँथ्यो सबैलाई,
तिमीलाई पनि ।

मसँग कहाँ संगित थियो र,
न कुनै गुञ्जायस, न कुनै मोति बोक्ने पिठ्युँ ।
बस त्यहि माया गर्ने मुटु थियो, यादमा भिजाउने परली थियो,
अनि संगित विनाको तरेली थियो ।

………………

म,
बगरमा बसेर तिमीलाई हेरि रहें बस्, हेरि रहें…!