९ कार्तिक २०८३, सोमबार

यी हुन् अनुसन्धानमै सिमित अपराधका केही घटना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । गम्भीर प्रकृतिका अपराधमा संलग्न अपराधीलाई तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने भएपनि कतिपय घटनामा भने प्रहरी अनुसन्धानमै जेलिएको छ ।

घटना भएको वर्षौं भइसक्दा पनि घटनाबारे जानकारी लिन खोज्दा जवाफ आउँछ अनुसन्धान जारी छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

दाङको घोराहीस्थित गोर्खा बोर्डिङ स्कुलका दुई शिक्षकको हत्या भएको १३ वर्ष बितिसक्यो। प्रहरी अनुसन्धान थालेको पनि १३ वर्ष नै भयो। तर अझै अपराधी पत्ता लाग्न सकेको छैन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको जनाएको छ।

स्कुलका लेखापाल दामोदर धामी र छात्रावास सुपरीवेक्षक तथा शिक्षक कृष्ण जीएमको २०६२ कात्तिक ४ गते राति सुतेका बेला छात्रावासमै हत्या भएको थियो। उनीहरूलाई खुकुरी प्रहारगरी हत्या गरिएको थियो। तत्काल केही विद्यार्थी र छात्रावासमा काम गर्ने महिलालाई पक्राउ गरियो तर केही तथ्य भेटिएन। र, हत्या रहस्यमय बन्दै गयो।

यस्तै फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झाको गत भदौ ४ गते थापाथलीस्थित आफ्नै निवासमा चक्कु प्रहार गरी हत्या गरियो। ८० वर्षीय झाको हत्यालगत्तैमहानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थाल्यो। घटनाको पाँच महिना वितिसक्दा पनि प्रहरी झा हत्याको कारणबारे निष्कर्षमा पुग्न सकेको छैन ।

महाशाखाले झाको घरमा काम गर्ने माली, भान्से र सुरक्षागार्डलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरूबाट घटनाबारे ठोस सूचना पाउन सकेको छैन । घटनाको अनुसन्धान जारीरहेको प्रहरी बताउँछ।

पछिल्लो समय देशैभरी हत्या, बलात्कार लगायतका आपराधिक घटना बढेको प्रहरीले १ महिनाअघि सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। तथ्यांकलाई हेर्ने हो भने हत्या र बलात्कारका घटना महिनैपिच्छे बढ्दो छ।

यस्ता गम्भीर प्रकृतिका अपराधमा संलग्न अपराधीलाई तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने भएपनि कतिपय घटनामा भने प्रहरी अनुसन्धानमै जेलिएको छ। घटना भएको वर्षौं भइसक्दा पनि प्रहरीले घटनाबारे जानकारी लिन खोज्दा अनुसन्धान जारी भन्ने गरेको छ।